आज धनुषा जिल्ला बन्द

जनकपुरधाम- मधेस क्रान्ति फोरम नेपाल जिल्ला समितिद्वारा आज धनुषा जिल्ला बन्द गरिएको छ। जिल्ला विकास समिति धनुषाको भ्रष्टाचार प्रकरणमा निलम्बनमा परेका कर्मचारीलाई समितिका कर्मचारी सङ्घ र गाविस सचिव हकहित संरक्षण केन्द्रद्वारा पुनः समितिमा हाजिर हुने सन्दर्भमा उत्पन्न विवादपछि जिविस र गाविसको कामकाज अनिश्चितकालका लागि बन्द गरेको विरोधमा जिल्ला बन्द गरिएको हो।

निलम्बनमा परेका कर्मचारी गैरकानुनीरुपमा कार्यालयमा हाजिर हुन खोज्दा पनि सम्बन्धित निकाय मौन भएको, भ्रष्टाचारको मुद्दालाई ओझेलमा पार्ने दुष्प्रयास गरिएको तथा सेवाग्राहीलाई दुःख दिने कार्य गरिएको भन्दै त्यस्ता कार्यमा संलग्न कर्मचारीलाई कारबाहीको मागसमेत गरिएको छ।

भ्रष्टाचारको अभियोगमा दुई महिनाका लागि निलम्बनमा परेका जिविसका निजामतीतर्फका नौ जना कर्मचारी कात्तिक १४ गते हाजिर भएपछि विवाद उत्पन्न भएको हो। यसैबीच जिविसका कर्मचारीहरु लक्ष्मीनारायण महतो र मदनमोहन लालकर्णलाई मधेस क्रान्ति फोरमका कार्यकर्ताले हातपात एवम् दुर्व्यवहार गरेको भन्दै जिविससँग सम्बन्धित कर्मचारीले अनिश्चितकालका लागि कामकाज बन्द गर्नुपरेको जनाएका छन्। रासस

Leave a Reply

Your email address will not be published.