वरिष्ठ उपरीक्षक श्रेष्ठ निलम्बित

काठमाडौं- प्रहरी वरिष्ठ उपरीक्षक रविराज श्रेष्ठ निलम्बनमा परेका छन्। विदेशी मुद्रा अवैधरुपमा विदेश पुर्‍याउने कार्यमा संलग्न भएको आशङ्कामा गृहमन्त्रालयले उहाँलाई निलम्बन गरेर छानबिन गर्ने निर्णय गरेको हो। मन्त्रिस्तरीय निर्णयअनुसार वरिष्ठ उपरीक्षक श्रेष्ठलाई तीन महिनाका लागि निलम्बन गरेर सोही व्यहोराको पत्र प्रहरी प्रधान कार्यालयमा पठाइएको गृहमन्त्रालयका प्रवक्ता शङ्करप्रसाद कोइरालाले जानकारी दिए।
गएको असोज १९ गते दुवई उडानमा रहेका यात्रु विनोदकुमार सोनीको साथबाट एक करोड २४ लाख विदेशी मुद्रा बरामद भएको थियो। सो मुद्राको तस्करीमा श्रेष्ठको समेत संलग्नता रहेको प्रहरी प्रधान कार्यालयद्वारा छानबिनका लागि गठित समितिले आशङ्का गरेको बुझिएको छ।
उडानका लागि तयार अवस्थामा रहेको विमानभित्रबाट बरामद गरिएको सो परिमाणको विदेशी मुद्रा वरिष्ठ उपरीक्षक श्रेष्ठका चालक सोभियत कार्कीले विमानस्थल पार गराएका थिए।
सो मुद्रा विमानस्थल पार गराउन श्रेष्ठले प्रयोग गर्ने सवारी साधनको समेत प्रयोग गरिएको थियो। चालक कार्कीले त्यसअघि समेत त्यस किसिमका बस्तु विमानस्थलबाट पार गराउने काम गरेको हुन सक्ने आशङ्का विमानस्थलमा खटिएका नेपाल प्रहरीका नायब महानिरीक्षक नारायणप्रसाद बास्ताकोटीले सञ्चारकर्मीमार्फत आफ्ना भनाइ तत्कालै सार्वजनिक गरिसकेका छन्। चालक कार्कीले विमानस्थलको संवेदनशील बाटोको प्रयोग गरी विदेशी मुद्रा पार गराएको त्यहाँ जडान गरिएको सिसी टिभीबाट पुष्टि भएको थियो। चालक कार्की हाल फरार छन्। रासस

Leave a Reply

Your email address will not be published.