दाहाल र कोइरालाबीच बजेटबारे छलफल

काठमाडौं- विद्यमान राजनीतिक अन्योललाई अन्त्य गर्न एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँगे्रसका सभापति सुशील कोइरालाबीच कोइराला निवास महाराजगन्जमा छलफल भएको छ। भेटमा दुई शीर्ष नेताबीच नयाँ बजेट, नयाँ सरकार गठन, संविधानसभा पुनःस्थापना वा निर्वाचनमा जाने विषयमा कुराकानी भएको थियो। सो अवसरमा सभापति कोइरालाले सहमतिबिना बजेट नल्याउन र तत्काल नेपाली काँग्रेसको नेतृत्वमा सहमतिको सरकार गठन गरी निर्वाचनमा जानुपर्ने भनाइ राखेका थिए। 

अध्यक्ष दाहालले तत्काल बजेट नल्याए देशमा आर्थिक सङ्कट आउन सक्ने हुँदा सरकारले ल्याउन लागेको बजेटमा सहमति जनाउन तथा छोटो समयका लागि संविधानसभा पुनःस्थापना गरी राजनीतिक अन्योल अन्त्य गर्न सकिने भनाइ राख्नुभएको भेटपछि अध्यक्ष दाहालले सञ्चारकर्मीहरुलाई जानकारी दिए।
दलहरुबीच सहमति बन्न नसक्दा सरकारले ल्याउन लागेको पूर्ण बजेट रोकिएको छ। अर्कोतर्फ राजनीतिक निकासका लागि संविधानसभा पुनःस्थापना गर्ने कि नयाँ निर्वाचनमा जाने भन्ने विषयमा पनि दलहरुबीच कुराकानी मिल्न सकिरहेको छैन। नेपाली कांग्रेसलगायत एमालेले नयाँ निर्वाचनमा जानुपर्ने र यसका लागि वर्तमान सरकार विघटन हुनुपर्ने माग गरिराखेका छन् भने एकीकृत नेकपा (माओवादी)ले निर्वाचनभन्दा संविधानसभा पुनःस्थापनामा जोड दिइराखेको छ। रासस

 

Leave a Reply

Your email address will not be published.