नवौं कम्प्युटर मनोरञ्जन सम्मेलन नेपालमा हुँदै

काठमाडौं- विकसित देशले कम्प्युटर मनोरञ्जनका क्षेत्रमा हासिल गरेका उपलब्धिलाई विकासोन्मुख देशलाई जानकारी गराउन कम्प्युटर मनोरञ्जनसम्बन्धी नवौँ अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा आयोजना हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ, जापानी दूतावास, सूचना प्रविधि केन्द्रलगायत विभिन्न निकायद्वारा संयुक्तरुपमा नेपालमा पहिलो पटक आयोजना हुने सो सम्मेलनमा नेपाललगायत संयुक्तराज्य अमेरिका, जापान, बेलायत, अस्ट्रेलिया र भारतका एकसय कम्प्युटर प्राविधिज्ञले भाग लिनेछन्।

यही कात्तिक १८ गतेदेखि २० गतेसम्म सोल्टी होटलमा हुने सम्मेलनमा कम्प्युटर मनोरञ्जनसम्बन्धी भिडियो खेल, रोबर्ट खेल, मोबाइलका खेलका बारेमा भइराखेका अध्ययन अनुसन्धान बारेमा कार्यपत्र प्रस्तुत हुनुका साथै छलफलसमेत हुनेछ।

सम्मेलनका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सम्मेलन आयोजक संयोजक आस्मी राणाले यस प्रकारको सम्मेलनमा नेपालमा पहिलोपटक आयोजना हुन लागेको जानकारी दिए। नेपालमा कम्प्युटर मनोरञ्जनका क्षेत्रमा कति व्यापार हुन्छ भन्ने एकीन जानकारी छैन। कम्प्युटरका सफ्टवेयर र हार्डवेयर जस्तै कम्प्युटर गेम (कम्प्युटर मनोरञ्जन) पनि त्यत्तिकै रुपमा बिक्री वितरण भइराखेको बताइन्छ।
सम्मेलनका साथसाथै कम्प्युटर मनोरञ्जनसम्बन्धी प्रदर्शनी पनि आयोजना हुने भएको छ। कम्प्युटर मनोरञ्जनका बारेमा सर्वसाधारणको पहुँच पुर्‍याउन प्रदर्शनी आयोजना गर्न लागिएको प्रदर्शनी संयोजक समीर थापाले पत्रकारसम्मेलनमा जानकारी दिए। सम्मेलनमा कम्प्युटर मनोरञ्जनसम्बन्धी सहभागी देशले विकसित गरेका प्रविधिबारे पनि जानकारी दिने कार्यक्रम रहेको छ। रासस

Leave a Reply

Your email address will not be published.