सामूहिक बलात्कारीहरुको बन्द कोठामा सुनावाई हुने

नयाँ दिल्ली, एजेन्सी- नयाँ दिल्लीमा तीन साताअघि भएको सामूहिक बलात्कार र हत्याका पाँच आरोपीलाई सोमबार दिल्ली प्रहरीले अदालतमा पेस गर्‍यो। दिल्ली प्रहरीले आरोपित राम सिंह, मुकेस सिंह, विजय शर्मा, अक्षय ठाकुर र पवन गुप्तालाई साकेत जिल्ला अदालतमा पेश गरेको थियो। राजधानी नयाँ दिल्लीको दक्षिणी भागमा रहेको साकेत जिल्ला अदालतमा बलात्कार मुद्दाको सुनुवाई बन्द कोठामा गरिएको थियो। अदालतले बिहीबार मुद्दाको सुनुवाई गर्ने मिति तोकेको छ।
आरोपितलाई प्रहरीले अदालतमा उपस्थित गराउनु अघिदेखि भारतीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको व्यापक उपस्थिति थियो। अदालतबाहिर सञ्चारमाध्यम र उपस्थित सर्वसाधारणको भीडका कारण अदालतले न्यायाधीश नमि्रता अग्रवालले मुद्दाको सुनुवाई बन्द कोठामा गरिने आदेश दिएकी थिइन्।
न्यायाधीशले मुद्दा संवेदनशील भएकाले सुुनुवाईका सबै प्रक्रियाको भिडियो रेकर्डिङ गरिने आदेश दिइन्। त्यसपछि न्यायाधीशले मुद्दामा संलग्नबाहेक बाँकी सबैलाई बाहिर जान आदेश जारी गरेकी थिइन्। मुद्दाको सुनुवाईमा सञ्चारमाध्यमले समेत प्रवेश पाउने छैनन्।
नयाँ दिल्लीमा पुस १ को सामूहिक बलात्कारपछि महिलाविरुद्ध हिंसासम्बन्धी अपराधको छिटो सुनुवाईका लागि फास्ट ट्रयाक कोर्ट गठन गरिएका छन्। यो मुद्दाको सुनुवाई कुन कोर्टमा गरिन्छ प्रस्ट भएको छैन।
सुनुवाईअघि सुप्रिम कोर्टमा वकालत गरिरहेका वकिल मनोहरलाल शर्माले बलात्कारीका तर्फबाट पैरवी गर्न राखेको प्रस्तावको सबै वकिलले विरोध गरेका थिए। यसअघि साकेत अदालतको बार एसोसिएसनले कुनै पनि वकिलले बलात्कारीको पक्षबाट बहस नगर्ने निर्णय गरेको थियो। शर्माले बचाउ गर्न पाउनु उ कुनै पनि अपराधीको अधिकार भएकाले कसैले वकालत नगरे उनीहरूले न्याय नपाउने बताए। तर उनले सोमबार बलात्कारी पक्षको प्रतिनिधित्व गर्न भने पाएनन्।
आरोपित पाँचजना विरुद्ध भारतीय दन्ड संहिता अन्तर्गत हत्या, सामूहिक बलात्कार, अपहरण, अप्राकृतिक अपराध, डकैती, प्रमाण मेटाएकोजस्ता कानुनी धारा लगाइको छ। आरोपित पाँचमध्ये एकजना १७ वर्षमुनिको भएकाले उसको सुनुवाई अर्कै अदालतमा हुनेछ। पाँचमध्ये दुईजनाले सरकारी साक्षी बन्न आवेदन दिएका छन्।
नाम सार्वजनिक भएकोमा पिताको आपत्ति
बेलायती दैनिक ‘द मिरर’को आइतबारे संस्करण ‘सन्डे पिपुल’ले सामूहिक बलात्कार पीडितको नाम आइतबार सार्वजनिक गरेपछि विवाद उत्पन्न भएको छ। भारतको अंग्रेजी अखबार ‘हिन्दुस्तान टाइम्स’ले पीडितका पिताले नाम सार्वजनिक भएकोमा आपत्ति जनाएको उल्लेख गरेको छ।
सन्डे पिपुलले पीडित र उनका पिताको नामसहित तस्बिर आइतबार छापेको थियो। हिन्दुस्तान टाइम्सले महिला हिंसाविरुद्ध बन्ने कानुनको नाम पीडितको नाममा राखिने भए मात्र छोरीको नाम सार्वजनिक गर्न आपत्ति नभएको पिताले बताएको उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published.