दलहरुबीच सहमति भएमात्र चुनाव गराउन उपयुक्त हुने गच्छदारको भनाई

जनकपुरधाम- उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले दलहरुबीच राष्ट्रिय सहमति बनेमात्र चुनाव गराउनु उत्तम हुने बताएका छन्। जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीसँग आज बिहान कुरा गर्दै उपप्रधानमन्त्री गच्छदारले राष्ट्रिय सहमतिपछि हुने चुनाव निष्पक्ष र धाँधलीरहित भएको बताए। 
‘चुनावका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक छ र यो सरकार राष्ट्रिय सहमतिको बाधक होइन,’ गृहमन्त्री गच्छदारले भने, ‘निर्वाचनअघि संसद् पुनःस्थापना गर्नेबारे दलहरुबीच छलफल भइरहेको छ।’
उपप्रधानमन्त्री गच्छदारले भने, ‘मेरो चाहना मधेसमा रहेका मधेसवादी दलहरुबीच एकीकरण हुनुपर्छ भन्ने हो तर त्यो भने व्यवहारमा लागु हुन सक्दैन। मधेसवादी दलहरुबीच एकीकरण नभए पनि चुनावमा एक भएर जानुपर्छ भन्ने मेरो धारणा हो।’

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का राष्ट्रिय अध्यक्षसमेत रहनुभएका गृहमन्त्री गच्छदारले बजेट नआए मङ्सिरमा कर्मचारीलाई तलब खुवाउन समस्या आउने र यसले आर्थिक सङ्कटलाई अरु जटिल बनाउने बताए। मङ्सिरको दोस्रो सातासम्म दलहरुबीच राजनीतिक सहमति हुने विश्वास पनि उनले व्यक्त गरे। एक प्रश्नको उत्तरमा गृहमन्त्री गच्छदारले भने, ‘नेपाली कांग्रेस र नेकपा एमालेले पनि चुनाव नै चाहेकाले चुनाव नै सबैभन्दा उत्तम विकल्प हो।’
त्यसैगरी गृहमन्त्री गच्छदारले आजै धनुषाको रुपैठामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पहिचानसहितको सङ्घीयता नै आफूहरुको प्रमुख माग भएको बताए।

मधेसी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक) का जिल्ला अध्यक्ष उमाशङ्कर अरगरियाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, सद्भावना, राप्रपा नेपाल परित्याग गरी फोरम लोकतान्त्रिक प्रवेश गरेका व्यक्तिहरुलाई स्वागत गरिएको थियो। रासस

Leave a Reply

Your email address will not be published.