‘मैले देखेको सपना अझै पूरा भएको छैन’

aasmani chaudhary-1

आशमनी चौधरीलाई दाङमा नचिन्ने कमै छन्। थारु समुदाय, त्यसमा पनि महिलाको चर्चा कम भएर होला आशमनी सिमित क्षेत्रमा मात्र चर्चित छिन्। उनी काममा, लगनमा बढी विश्वास गर्छिन्। तिनै जुझारु र साहसी आशमनीलाई अमेरिकाले पाँच लाख रुपियाँ बराबरको पुरस्कार प्रदान गरेको छ। उनको कामबाट प्रभावित भइ अमेरिकाले सो रकमको पुरस्कार प्रदान गरेको हो।
२०५० सालदेखि सामाजिक अभियानमा योगदान पुर्‍याउँदै आएकी आशमनी परिवारकी साहिँली छोरी हुन्। द्रोपती चौधरी र स्व. बुबा बलराम चौधरीको तेस्रो सन्तानको रुपमा उनको जन्म वि.स. २०३१ असार १८ गते दाङको घोराहीमा भएको हो।
स्नातक तहसम्मको अध्ययन गरेकी उनले संस्थामार्फत् समाजसेवा गरिरहेकी छन्। तिनै जुझारु महिलासँग थारुवानकर्मी सन्तोष दहितले गरेको कुराकानी पढ्नुस्:

कहिलेदेखि सामाजिक क्षेत्रम लाग्नुभयो?
२०५० सालदेखि सामाजिक क्षेत्रमा कार्यरत छु।

यो क्षेत्रमा कसरी लाग्नु भयो?
महिलाहरु सामाजिक, आर्थिक र शैक्षिक कारणले धेरै पछाडप परेकाले यो क्षेत्रमा काम गर्न मलाई प्रेरित गर्‍यो। त्यही भएर आजको दिनसम्म म यही क्षेत्रमा काम गरिरहेकी छु। मेरो सानो प्रयासले महिलालाई सशक्तीकरण बनाउन सकिन्छ कि भनेर यो क्षेत्रमा लागेको हुँ।

तपाईँको संस्थाबारे बताइदिनुस् न? अनि यो संस्थाले के कस्तो काम गर्दै आएको छ?
ग्रामीण महिला उत्थान केन्द्र महिला र बालबालिकाको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था हो। यसले लघुवित्त कार्यक्रमको माध्यमबाट आयआर्जन आर्थिक विकास, स्वास्थ्य, शिक्षा, मनोसामाजिक, जलवायु परिर्वतन, द्वन्द्व प्रभावित परिवारका लागि पुनःस्थापना कार्यक्रम, वातावरण मैत्री घर अभियान, स्वास्थ्य र सरसफाइजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कुन कुन जिल्लामा कार्यक्रम सञ्चालन गर्नुभएको छ?
यो संस्थाले अहिलेसम्म दाङ, सल्यान, रोल्पा र बाँके जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

तपाइँले सञ्चालन गर्दै आएको सबैभन्दा प्रभावकारी कार्यक्रम कुन हो?
यस संस्थाबाट सञ्चालन भएका धेरै कार्यक्रम महिलाको आर्थिक स्थिति सुधार गर्ने खालका छन्। तर महिला/जनताको आर्थिक स्तरलाई वृद्धि गर्ने सबैभन्दा महत्वपूर्ण कार्यक्रम भनेको लघुवित्त कार्यक्रम हो।

लघुवित्त कार्यक्रम सञ्चालन गर्न निकै समस्या छ भन्छन्, यहाँले यो कार्यक्रमलाई कसरी व्यवस्थित गर्नुभएको छ?
ग्रामीण महिला उत्थान केन्द्रबाट अरु धेरै परियोजना सञ्चालन भइरहेका छन्। जसमध्ये लघुवित्त कार्यक्रम एक हो। यस कार्यक्रममा महिलालाई समूह/केन्द्रमा आबद्ध गराइ प्रत्येक १४/१४ दिन अथवा २८ दिनमा बैठक सञ्चालन हुने गर्छ। बैठकमा सदस्यहरुले समूह बचत, व्यक्तिगत बचत, शिक्षा बचत, उपकार कोष बचत, केन्द्र कोष बचत गर्ने गर्छन्।कर्जा सेवातर्फ साधारण ऋण, मौसमी ऋण, केन्द्र कोष ऋण र साना ब्यवसाय तथा लघुउद्मम कर्जा लिइ बाख्रा पालन, तरकारी खेती, बंगुर पालन, स–साना ब्यापार, भैंसी पालन, कुखुरा पालन गर्न सकिन्छ। यस कार्यक्रमलाई गुणस्तरीय र प्रभावकारी ढंगले सञ्चालन गर्न कर्जा समिति, कर्जा उपसमिति, अनुगमन तथा सुपरिवेक्षण विभाग लेखा समिति, आन्तरिक लेखा परीक्षण समिति गठन गरिएको छ।

मासिकरुपमा शाखा कार्यालयले केन्द्रीय कार्यालयमा प्रगति विवरण पठाउने अभ्यास भइरहेको छ। सबै शाखाबाट प्राप्त प्रतिवेदन केन्द्रीय कार्यालयले कम्पाइल गरी सम्बन्धित निकायमा पठाउने प्रक्रिया जारी छ। यस कार्यक्रमलाई दैनिकरुपमा ब्यवस्थित तरिकाले सञ्चालन गर्न विभिन्न विभाग बनाइ जिम्मेवारी दिइएको छ।

aasmani chaudhary-2यस कार्यक्रमको कर्जा लगानी कति पुगेको छ?
यस कार्यक्रमबाट सुरु कर्जा लगानी रु १७०० बाट सुरु गरेकोमा हाल रु ८०,६४,३६,३२०० पुगेको छ।

लघुवित्त कार्यक्रम भनेको के हो बताइदिनुस् न?
लघु भनेको सानो र वित्त भनेका पैसा हो। थोरै लगानीमा स–सानो व्यवसाय महिलाको नेतृत्वमा सञ्चालन गरी महिलालाई नै आत्म निर्भर तुल्याउने यसको उद्देश्‍न रहन्छ। यस कार्यक्रममा विपन्न तथा पछाडि परेका महिलालाई समूह/केन्द्रमा आबद्ध गराइ बचत गर्ने बानीको विकास गर्ने, बचतको महत्व बुझाउने, उद्मम गरी के-के फाइदा हुन्छ भन्ने कुरा बुझाउने गरिन्छ। सदस्यलाई वित्तीय साक्षरता गराउने, कर्जाको महत्व बुझाई बिना धितो लगानी गरी महिलालाई उद्ममी बनाउने र महिलाको आर्थिक सशक्तीकरणको विकास गर्ने काममा यसले सहयोग पुर्‍याउँछ।

लघुवित्त कार्यक्रमको एउटा समूमा कति सदस्य हुन्छन्?
लघुवित्त कार्यक्रममा ५ जनाको १ वटा समूह हुन्छ। ८ वटा समूहको १ वटा केन्द्र निमार्ण हुन्छ। १ वटा केन्द्रमा ४० जना सदस्यहरु हुन्छन्।

लघुवित्त कार्यक्रमम कति महिला सहभागी भएका छन्?
अहिले लघुवित्त कार्यक्रमअन्तर्गत ८ वटा शाखा कार्यालय छन्। जसमा २०,००० महिला सदस्यहरु प्रत्यक्षरुपमा सहभागी हुनुहुन्छ।

तपाईँलाई यति धेरै काम गर्दा अल्छी लाग्दैन?
हाम्रो देश र समाज विश्वको विकसित देशको दाँजोमा धेरै पछाडि छ। समाजलाई सकारात्मक परिवर्तन गार्ने हाम्रो काँधमा ठूलो दायित्व छ। हामीले गर्न अझै धेरै बाँकी छ। मैले देखेको सपना अझै पूरा भएको छैन। त्यसैले थकाइ र अल्छी त लाग्ने कुरै आउँदैन।

सामाजिक क्षेत्रमा काम गर्दा खुसीको क्षण कहिले पाउनुभयो?
कमैया कमलरीजस्ता अति विपन्न परिवारका दिदी-बहिनीहरु हाम्रो ग्रामीण महिला उत्थान केन्द्रमा आबद्ध भएर आर्थिक विकास, आत्म निर्भर र स्वरोजगार भइ नेतृत्वदायी भूमिका निर्वाह गरेको देख्दा धेरै खुसी हुन्छु।

अन्त्यमा के भन्न चाहनु हुन्छ?
हाम्रो संस्थाको गतिविधिबारे मेरो मनमा लागेको कुरा राख्न दिएकोमा थारुवान डटकमलाई धेरै धेरै धन्यवाद।

2 thoughts on “‘मैले देखेको सपना अझै पूरा भएको छैन’

Leave a Reply

Your email address will not be published.