कम उमेरकामा ‘पोर्नोग्राफी’ प्रभाव

लन्डन, बीबीसी – बालबालिका एवं किशोरकिशोरीले अचेल पोर्न (अश्लील) वेबसाइट हेर्नु सामान्य भएको छ । यसले गर्ने अनेक खाले नोक्सानीमा सबभन्दा ठूलो यौनबारे विकृत दृष्टिकोण उत्पन्न गर्नु हो। हुर्किंदै गरेका बालबालिकाको आमाबुवाका लागि यो समस्या टाउको दुखाइ बनेको छ । कसरी, कति र कहिले बच्चामाथि रोक लगाउनेबारेमा अभिभावक अन्योलग्रस्त हुने गरेका छन् । अहिले कम उमेरकासँग कम्प्युटर, ल्यापटप, इन्टरनेट कनेक्सन र स्मार्टफोन उपलब्ध रहेकोले यसको असर पर्नु स्वाभाविक हो । कति बच्चाले इन्टरनेटमा पोर्न हेर्ने गरेको सम्बन्धमा यकिन तथ्यांक नभएकाले यसले पार्ने असरबारे भन्न सकिने स्थिति पनि छैन ।
सन् २०११ मा युरोपमा गरिएको सर्वेक्षणमा ९ देखि १६ वर्ष उमेर समूहका एक तिहाइ बालबालिकाले पोर्न हेरेको स्विकारेका थिए । तर, उनीहरूमध्ये ११ प्रतिशतले मात्र वेबसाइटमा अश्लील चित्र वा सामग्री इन्टरनेटमा हेरेका थिए । ‘यू गाँव’ द्वारा गरिएको अध्ययनमा १६ देखि १८ वर्ष उमेर समूहमा एक तिहाइ बालबालिकाले मोबाइल फोनमा पोर्न हेरेका थिए ।
दीर्घकालीन कदम स्वरूप बेलायतको ‘नेसनल एसोसिएसन अफ हेड टिचर्स’ ले मुलुकको पाठयक्रममा पोर्नोग्राफीको असरलाई सामेल गर्न चाहेको छ । दस वर्षको उमेरदेखि सेक्ससम्बन्धी सकारात्मक जानकारी दिनलाई उसले यो सोच ल्याएको हो ।
बालबालिकालाई यस अनुरूप असुरक्षित र विकृत सेक्सको पहिचान गर्न एवं यसबारे जानकारी दिइने छ । उच्च कक्षाको हितमा पाठयक्रमलाई अझैं विस्तार गर्नुपर्ने उसले सुझाव दिएको छ । ‘अचेलका बालबालिका यस्तो संसारका बासिन्दा भएका छन्, जहाँ सेक्स एक खुला विषय भएको छ,’ सेक्स शिक्षा सम्बन्धी कानुन बनाउने सियोन हयमफ्रेज भन्छन्, ‘यस्तोमा उनीहरूलाई कुन स्थितिमा कस्तो व्यवहार गर्नेबारे जानकारी दिनु एकदमै जरुरी भएको छ ।’
उनीहरूले अहिले गर्ने व्यवहारमा भविष्य आधारित हुने मुख्य मुद्दा विज्ञहरूले उठाएका छन् । विज्ञको अनुसार बालबालिकालाई सामान्य वा वास्तविक सेक्स जीवनका लागि पोर्नोग्राफी आवश्यक नभएको बुझाउनु जरुरी छ ।
नचाँहदा नचाहँदै पनि किशोरकिशोरी मित्रजनको दबाब र लहैलहैमा गलत व्यवहारमा लाग्ने गरेको सर्वेक्षणमा भनिएको छ । पोर्नोग्राफीमा निरन्तर देखाइने दृश्यलाई उनीहरूले जिज्ञासावश ठीक मानेर व्यवहारमा उतार्न खोज्छन् । बेलायतको ‘प्लिमाउथ युनिभर्सिटी’ र ‘ सेफर इन्टरनेट सेन्टर’ द्वारा १६ देखि २४ वर्षको युवामा गरिएको सर्वेक्षणमा एक तिहाइले पोर्नले जीवनले आपसी सम्बन्धमा असर पारेको बताएका छन् ।
बेलायतको चाइल्ड लाइन संस्थाको अनुसार यौनक्रिया सम्बन्धित तस्बिर हेरेपछि आउने डिस्टे्रस्ड काल्स (चिन्तित भएर फोन गर्ने) मा ३४ प्रतिशत वृद्धि भएको छ । तर, तीमध्ये कुनै पनि निष्कर्षलाई अन्तिम मान्न सकिन्न । करिब ७ हजार छात्रलाई सेक्स शिक्षा दिने संस्था ‘फयामिली लाइभ्स’ की लियोनी होजले समेत बच्चालाई सेक्स र पोर्नबीचको भेदबारे ज्ञान दिनु आवश्य भएको बताएकी छन् ।
‘९० प्रतिशत बालबालिकाको हातमा स्मार्ट फोन उपलब्ध भएको बेला एक शिशुको जन्म कसरी हुन्छ भन्नेबारे भन्नु जरुरी छैन,’ उनी भन्छिन्, ‘सही र गलत प्रक्रियाबारे चाहिँ ज्ञान चाहिन्छ ।’ निकै कम उमरेका बालबालिकाबीच पोर्नोग्राफी उपलब्ध रहेकोले उनीहरूले यसको सशक्त भएर सामना गर्न नसक्ने सोच राख्नु गलत हुने उक्त संस्थाले जनाएको छ । यो संस्थ्ााले विभिन्न खाले प्रयोगको माध्यमबाट अश्लील तस्बिर वा प्रस्ताव आएमा अस्वीकार गर्ने तरिका सिकाउँछ । यौन शिक्षा दिनुका साथै अभिभावकले सन्तानसँग यो विषयमा खुलेर छलफल गर्नु पनि उत्तिकै आवश्यक भएको छ ।
छोराछोरीले इन्टरनेटमा पोर्न वेबसाइट खोलेको देखेपछि थुप्रै अभिभावक हैरान हुने गर्छन् । तर, राम्रो, नराम्रो र लाजको घुम्टो नओढी छोराछोरीलाई यसबारे सचेत गराउनेतर्फ पहल गर्नु आमाबुबाको कर्तव्य भएको विज्ञहरू सल्लाह दिन्छन् । धेरैजसो परिवारमा यसबारे गफ गर्नु परम्पराविरोधी भएकोले समस्या झनै बढेको छ । यस्तो स्थितिमा विद्यालय र अभिभावक मिलेर बच्चालाई जानकारी दिनु ठीक हुने उनीहरू बताउँछन् ।
बेलायत सरकारले सन् २०११ मा बालबालिकालाई अश्लील सामग्री र गतिविधिबाट जोगाउन अभिभावकको कर्तव्यसम्बन्धी नीति जारी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published.