सप्तरीका तेह्र राजनीतिक दलद्वारा आन्दोलनको घोषणा

राजविराज- गोप्य सहमतिमा आन्दोलन स्थगन गरेको आरोप खेपिरहेका जिल्लाका साना १३ राजनीतिक दलले पुनः आन्दोलनको घोषणा गरेका छन्। तेह्र राजनीतिक दलले एक विज्ञप्ति प्रकाशित गरी आज बिहान ११ देखि दिउँसो १ बजेसम्म जिल्ला विकास समितिको मूल ढोकामा धर्ना र बेलुका सहिद दशन चोकमा कोणसभा कार्यक्रम घोषणा गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी हरिराज पन्तको निवासमा गत सोमबार भएको सर्वदलीय बैठकका निर्णय कार्यान्वयन नभएकाले सोप्रति असहमति जाहेर गर्दै १३ राजनीतिक दलले पुनःआन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।

विज्ञप्तिमा सहमतिअनुरूप उच्चस्तरीय छानबिन समितिसँग भेटघाट नगराएको, आन्दोलनरत १३ दलसँग औपचारिक वार्ता नभएको, छानबिन समितिलाई उपलब्ध गर्ने प्रतिवेदनको प्रतिलिपि उपलब्ध नगराएको उल्लेख गर्दै पूर्व सहमति भङ्ग भएको जनाइएको छ।

उता जिल्ला विकास समिति सप्तरीका कार्यक्रम अधिकृत नवराज खड्काले छानबिन समिति आउने निश्चित भए पनि कहिले आउने भन्ने निश्चित नभएको जानकारी दिए। अनुगमन समितिमा आफ्नो सहभागिता खोज्दै साना नौ दलले सुरु गरेको आन्दोलनमा पछि आएर चुरेभावर राष्ट्रिय एकता पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, दलित जनजाति पार्टी र मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) समावेश भएका हुन्।

अन्य दलमा समाजवादी जनता पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली जनता दल, नेमकिपा, सङ्घीय सद्भावना पार्टी, नेकपा माले, नेकपा माले जनसमाजवादी, नेकपा एकीकृत, नेपाल लोकतान्त्रिक समाजवादी दल छन्। रासस

Leave a Reply

Your email address will not be published.