टीकापुरका थारु भन्छन्- ‘समुदायलाई नै अपराधीजस्तो देख्नु भएन’

Tikapurटीकापुरका सर्वसाधारणले टीकापुर घटनाप्रति दु:ख व्यक्त गर्दै सिंगो समुदायलाई शंकाको दृष्टिले नहेर्न आग्रह गरेका छन् । सोमबारको घटनापछि थारु समुदायप्रति सरकार पक्षबाट हेर्ने दृष्टिकोणमा फरक आएकोले असुरक्षा महसुस भइरहेको उनीहरुको गुनासो छ ।

‘टीकापुरमा जे घटना भयो त्यो दुखद् छ । घटनाको छानबिन गरी संलग्न व्यक्तिहरुलाई कारबाही हुनु पर्छ । तर, एउटा घटनालाई लिएर सिंगो समुदायलाई अपराधीका रुपमा हेर्नु भएन,’ टिकापुरकी आशाकुमारी चौधरी भन्छिन्, ‘केही व्यक्तिको गल्तीले सिंगो समुदायलाई गलतरुपमा बुझिदिनु भएन ।’

थरुहट प्रदर्शनको झडपमा परि नाबालकसहित ८ सुरक्षाकर्मीको मृत्यु भएपछि सर्वसाधारणले असुरक्षित महसुस गर्दै आएका छन् । टीकापुर आसपासको नरायणपुर, धनसिंहपुर, दुर्गौली, पथरैयालगायतका क्षेत्रमा सुरक्षाकर्मीहरुले सर्च अप्रेशन जारी छ । घटनामा संलग्न व्यक्तिहरुको खोजीका लागि कफ्र्युका बीचमा सुरक्षाकर्मीहरुले सर्च गरिरहेका छन् ।

नेपाल राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले एउटा घटनालाई लिएर सिंगो समुदायलाई एउटै आँखाले नहेर्न सरकारसँग आग्रह गरेकी छन् । ‘घटनाको निष्पक्ष रुपमा छानबीन होस् । त्यहाँ परिचालन गरिएका सेनाबाट कानुनको पालना होस्,’ उनले भनिन्, ‘समुदायप्रति नै शंका गर्नु न्याय संगत हुँदैन । यसले थप अराजकता ल्याउन सक्ने भएकाले सरकार संवेदनशील हुनै पर्छ ।’

हिंसात्मक घटनापछि उक्त दिन प्रदर्शनका लागि आएका थारु गाउँहरु सुनसानजस्तै देखिन्छन् । उनीहरु बोल्नसमेत डराईरहेका छन् । ‘एउटाले गरेको गल्तीले टिकापुरबासीले नै दु:ख पाइरहेका छौं । समस्या समाधानका लागि छिटो पहल होस्,’ सर्वसाधारण भन्छन् ।

गणेश चौधरी/कान्तिपुर दैनिकबाट

Leave a Reply

Your email address will not be published.