गोलमेच सम्मेलन गर्न तयार नभए सडकबाटै नयाँ संविधान

काठमाडौं- नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले राजनीतिक निकासको लागि गोलमेच सम्मेलन गर्न तयार नभए सडकबाट नयाँ संविधान घोषणा गर्ने चेतावनी दिएका छन्। नेकपा–माओवादीको युवा सङ्गठन राष्ट्रिय जनस्वम्सेवकको प्रथम राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले आफूहरुको प्रस्तावमा ध्यान नदिएमा गोलमेचसभा संविधानको पुनःस्थापना अथवा संविधान सभाको निर्वाचनमा मात्रै सिमित नरहने बताए।

अध्यक्ष वैद्यले राष्ट्रियताविरोधी शक्तिहरु सरकारमा रहुञ्जेल मुलुकले निकास नपाउने बताउँदै जनताको पक्षमा रहने देशभक्त र राष्ट्रवादी र सङ्घीयता पक्षधरको सरकार बन्नु पर्नेमा जोड दिए।

नेकपा–माओवादीको सचिव तथा राष्ट्रिय जनस्वयम्सेवकको इन्चार्ज नेत्रविक्रम चन्दले कांग्रेस, एमाले र एमाओवादीले जनतालाई धोका दिएको आरोप लगाए। यसअघि काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट सांस्कृतिक झाँकीसहित र्‍याली निकालिएको थियो।

‘राष्ट्रियता र जनगणतन्त्रको पक्षमा जुझारु आन्दोलन, सुदृढ युवा सङ्गठनका लागि प्रथम राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ सुरु भएको राष्ट्रिय जनस्वयंसेवकको राष्ट्रिय सम्मेलनको बन्द सत्र भोलि र पर्सि कीर्तिपुरमा हुने आयोजकले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.