वैशाखभित्रै निर्वाचन हुन्छ : गृहमन्त्री गच्छदार

‘अखण्ड सुदूरपश्चिम हुनै सक्दैन’-

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले आगामी चैत वा वैशाख महिनामै नयाँ संविधान सभाको निर्वाचनका लागि सरकारले प्रस्ताव गरेको जानकारी दिएका छन्। उनले ती दुई महिनामध्ये कुन महिनामा निर्वाचन गर्ने भन्ने विषयमा राजनीतिक सहमति जुटाउन अहिले शीर्ष तहमा सम्वाद भइरहेको जानकारी दिए।

उन सो सम्वादले यही असोज महिनाभित्रै नयाँ परिणाम ल्याउने आशा व्यक्त गरे।

तराईमा थारु महिलाले मनाउने जितिया पर्वका अवसरमा थारु महिला समाज र थारु महिला सभा उपत्यका समितिद्वारा संयुक्तरुपमा आयोजित जितिया पर्व २०६९ का कार्यक्रमको शुभारम्भ गर्दै उपप्रधानमन्त्री गच्छदारले आगामी निर्वाचन संविधान सभाकै हुने बताए।

उनले निर्वाचनको प्रक्रिया, पद्धति तथा निर्वाचन सम्पन्न गर्न गठन गरिने राष्ट्रिय सहमतिको सरकारबारे दलहरूबीच शीर्ष तहमा कुराकानी भइरहेको जानकारी दिँदै अब निर्वाचनको अर्को विकल्प नरहेको बताए।

‘मुलुकमा जातीय पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको नयाँ संविधान आवश्यक छ,’ गच्छदारले भने, ‘नयाँ संविधान संविधान सभाबाटै जारी गरिनुपर्छ।’
उनले थारु समुदायलाई विशेष अधिकार एवं अग्राधिकार दिने चर्चा भइरहेको सन्दर्भमा अखण्ड सुदूपश्चिम हुनै नसक्ने धारणा राखे। सो अवसरमा उपप्रधानमन्त्री गच्छदारले थारु समुदायमा उल्लेखनीय योगदान दिएबापत् शान्ति चौधरी, उर्मिला चौधरी र परशुराम चौधरीलाई सम्मान गरेका थिए।

थारु कल्याणकारी सभाका अध्यक्ष चन्द्रकुमार थारुले जितिया पर्वका अवसरमा थारु महिलाका निम्ति सरकारले सार्वजनिक विदा दिनुपर्ने माग गरे। थारु महिला समाजका अध्यक्ष सरस्वती चौधरी र थारु महिला सभा उपत्यका समितिका अध्यक्ष रेणु चौधरीले जितिया पर्वको महत्वमाथि प्रकाश पारेका थिए। कार्यक्रममा थारु संस्कृति झल्कने गीत–सङ्गीत र कला प्रस्तुत गरिएको थियो।

Leave a Reply

Your email address will not be published.