अवसरको सुनखानी

डी. विनोद- पढ्ने र काम गर्नेका लागि जापान आकर्षक गन्तव्य बन्दै गइरहेको छ। प्राविधिक शिक्षासँगै रोजगारीका अवसरका लागि युवा पुस्ता जापान जान लालायित छ। मध्यमवर्गीय युवा जनशक्ति प्राविधिक शिक्षा र रोजगारीका लागि जापान छिर्न प्रयत्नरत छ। त्यसका लागि उनीहरूले जापानी भाषाको अध्ययन गरिसकेका छन्।

काठमाडौंका अनिल क्षत्री भन्छन्, ‘जापानमा प्राविधिक शिक्षाको राम्रो ज्ञान दिइन्छ। इन्जिनियरिङसम्बन्धी शिक्षासँगै रोजगारीको पनि सम्भावना रहेका कारण जापान जाने तयारीमा छु।’ क्षत्री अहिले जापानी भाषा सिकिरहेका छन्। जापान जान नेपाली उच्च शिक्षामा ल्याएको नम्बरभन्दा पनि जापानी भाषामा भएको दख्खल नै प्रभावकारी हुने गरेको छ। जसले जापानी भाषाको परीक्षामा राम्रो गर्छ, उसको जापान छिर्ने सपना पूरा हुन गाह्रो हुँदैन।
संघर्ष, मेहनत र लगनशीलतालाई भाषा सिकाउने क्रममै महŒवका साथ सिकाइन्छ। जापानी ‘कल्चर’बारे राम्रो जानकारी राख्नेलाई जापानमा सम्मान गरिन्छ। रहनसहनसँगै जापानी संस्कृतिलाई पनि बु‰नु नेपाली विद्यार्थीका लागि आवश्यक छ। ‘भाषा र कल्चरसम्बन्धी जानकारी राम्रोसँग लिएर जापान छिरे रोजगारीका लागि पनि समस्या हुँदैन,’ बागबजारस्थित आकाशी जापानिज ल्यांग्वेज स्कुलका ओमहरि प्रजापति भन्छन्, ‘परिश्रम, संस्कृतिको सम्मान र सामान्य भाषा ज्ञान भएकालाई जापानमा टिक्न गाह्रो छैन।’

युवाहरू व्यस्त जापानी जीवनशैलीमा आफूलाई ढाल्न पनि लागिपरेका छन्। स्टुडेन्ट, बिजनेस र वर्किङ भिसामा जापान जाने नेपाली युवाको लर्काे लामो छ। ‘जापानमा बसेका नेपाली युवाको व्यवसाय, उच्च शैलीको काम र मेहनत गर्ने शैलीबाट प्रभावित भएर जापान जाने तयारीमा लागेको छु,’ विराटनगरका विशाल शर्मा भन्छन्, ‘त्यसका लागि राम्रो जापानिज भाषा स्कुलको खोजीमा छु।’ अधिकांश युवा टोकियोलगायत मुख्य शहरमा व्यापार–व्यवसायमै आफूलाई स्थापित गराउने धुनमा लागेका दृष्टान्तले पनि जापानप्रतिको मोह युवा पुस्तामा पलाएको छ।
स्टुडेन्ड भिसामा जापान पुग्नेहरूलाई केही समय कठिन परिश्रम गर्नुपर्ने हुन्छ। तर, अध्ययन सकिएपछि रोजगारी, व्यापार–व्यवसायको मनग्गे अवसर रहेका कारण नेपाली युवा सफल बन्दै गइरहेका छन्। खेलाडी, कलाकार, पत्रकारदेखि विभिन्न पेसाकर्मी युवा अहिले जापानका विभिन्न शहरमा आफ्नै पेसा र व्यवसायमा व्यस्त छन्। युवा पुस्ताका लागि जापानमा कम अवसर छैन भन्ने उदाहरण नेपालका चचिर्त फुटबलर वसन्त गौचन, वसन्त थापा, संगीत शाक्यले जापानमा श्रम गर्नु पनि हो। सेलिब्रिटीदेखि सर्वसाधारणसम्मको आकर्षणको केन्द्र बनेको जापान नेपाली युवा दम्पतीकै लागि पनि फाइदामूलक भएको छ। ‘धेरै युवा जोडीसहित कार्यरत छन्। रेस्टुरेन्ट, क्याफे, गाडी कम्पनीमा प्रशस्त काम पाइने गरेको छ,’ जापानमा कार्यरत जीवन कार्की भन्छन्, ‘भाषा सिकेपछि सामान्य कामका लागि समस्या हुँदैन। अध्ययन पूरा गरेपछि राम्रै आम्दानीका लागि पनि समस्या हुँदैन।’

जापानीहरू नेपाली संस्कृति र कलाप्रति आकर्षित भएकै कारण पनि नेपालीहरूले जापानमा आफूलाई सुरक्षितमात्र ठानेका छैनन्, भाग्यमानी पनि ठान्ने गरेका छन्। त्यसैले पनि जापान जाने युवाहरूको संख्या बढेको बताइन्छ। त्यसो त नेपाली राजदूतावासको सक्रियतामा जापानको औधोगिक शहर नागोयामा नेपाली गाउँको प्रस्ताव भइसकेको छ। नेपालीको संख्या बढ्दै गइरहेको उक्त शहरमा नेपाली कामदार र विद्यार्थीका लागि यस्तो प्रस्ताव गरिएको थियो। ‘त्यहाँको कल्चर र सहयोगी भावनाले हाम्रो आशालाई जगाएका कारण जापान जाने लक्ष्य बनाएका हौँ।’ जापानका लागि भाषा तयारी कक्षा लिइरहेका भक्तपुरका हरिप्रसाद श्रेष्ठले भने, ‘पढ्ने र श्रम गर्ने नै लक्ष्य हो।’

जापानमा हालसम्म कम्तीमा १५ हजार नेपाली शिक्षा र रोजगारीमा अभ्यस्त रहेको बताइन्छ। तर, जापानमा रहेका नेपालीको आधिकारिक तथ्यांक भने छैन। भाषा राम्रोसँग सिकेर श्रम गर्न तत्पर रहे जापान जान इच्छुकका लागि कुनै समस्या नहुने आकाशी जापानिज स्कुलकी प्रिन्सिपल योशी इमीले बताइन्। ‘भाषाको राम्रो ज्ञान र ‘कन्भरर्सेसन’ मा राम्रो भए जापानमा बसेर पार्ट टाइम काम गर्दै पढ्न सकिन्छ भने पढाइपछि पनि रोजगारीका लागि समस्या हुँदैन,’ उनले भनिन्।
शुक्रबार साप्ताहिकबाट साभार

Leave a Reply

Your email address will not be published.