थरुहट तराई पार्टी नेपालले पार्टीको विधान र पार्टीले उठाउँदै आएका माग मुद्दा मिल्ने पार्टीसँग एकीकरणमा जाने निर्णय गरेको छ। राजधानीमा आयोजित केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो। पार्टी एकीकरणका लागि समितिले वरिष्ठ नेता एवं सांसद डा. गोपाल दहितको नेतृत्वमा पाँच सदस्यीय वार्ता तथा सम्बाद कार्यदल बनाएको छ।
कार्यदलमा महासचिव मीनराज चौधरी, पूर्णप्रसाद चौधरी, रामप्रसाद चौधरी र चन्द्रप्रसाद विश्वास रहेका छन्। कार्यदलले चैत ३० गतेभित्र पार्टीको बटमलाइनसहित कुन पार्टीसँग एकीकरण गर्ने भन्ने निर्णय गर्नेछ।
‘पार्टीमा अहिलेसम्मै गम्भीर छलफल भयो। थारुका मुद्दालाई कसरी सम्बोधन गराउने, कुन पार्टीसँग एकीकरणमा जाँदा थारुका मुद्दालाई अझै सशक्त पार्न सकिनेलगायतका विषयमा छलफल भयो,’ महासचिव चौधरीले थारुवानसँग भने, ‘त्यसका लागि पाँच सदस्यीय कार्यदल बनेको छ। सोही कार्यदलले चैत ३० गतेभित्र कोसँग एकीकरण गर्ने निर्णय गर्नेछ।’
विजय गच्छदारले यसअघि नै थरुहट तराई पार्टीलाई एकीकरणको लागि प्रस्ताव गरेको थियो। नेपाल लोकतान्त्रिक फोरमभित्रका थारु नेताहरुले भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी, रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)लाई पार्टी एकीकरणका लागि लबिङ गरिरहेका छन्।
बैठक स्रोतका थरुहट नेताहरु विजय गच्छदार नेतृत्वको पार्टीसँगै मर्जरमा जाने इच्छा देखाएका छन्। तर पोर्टफोलियो कसरी मिलाउनेबारे ब्यापक छलफल भएको ती नेताले बताए। यता नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीले अध्यक्षबाहेक सबै पदाधिकारीलाई सोही पदमा समावेश गराइने बताएका थिए। अध्यक्षको हकमा निर्वाचनपछिको एकता महाधिवेशनले टुंगो लगाउने उनको भनाई थियो।
रुक्मिणी पार्टीसँग छलफल हुँदै
थरुहट तराई पार्टी नेपालले रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)सँग शनिबार छलफल गर्ने भएको छ। दुई पार्टीबीच कसरी एकीकरण गरेर अघि बढ्ने भन्नेबारे छलफल केन्द्रीत हुने दुबै पार्टीका नेताहरुले बताएका छन्। सांसद रुक्मिणी चौधरी भने अमेरिका रहेकाले अन्य नेताहरुमात्र छलफलमा सहभागी हुनेछन्। उनी सोमबार नेपाल फर्किने पार्टीका काोषाध्यक्ष ललित चौधरीले जानकारी दिए।
लेखी नेतृत्वको नासपालाई पनि ल्याइने
कुनै समय एकअर्काको विरोध गरेर नथाक्ने नागरिक समाजवादी पार्टी (नासपा) र थरुहट तराई पार्टीका नेताहरु अहिले एकीकरण प्रयास थालेका छन्। भानुराम नेतृत्वको थरुहट र राजकुमार लेखी नेतृत्वको नासपाबीच एकीकरणका लागि पटक पटक छलफल भएको बताइएको छ। राष्ट्रिय दलका लागि ३ प्रतिशत थ्रेस होल्डसहित प्रत्यक्षतर्फ एक सिट जित्नैपर्ने नीति लागू भएपछि थारु पार्टीहरु एकताको पहल थालेका हुन्।