कैलालीमा प्रमुख पार्टीका थारु नेताहरु मतदाता फकाउँदै, थरुहट संघर्ष समितिको विरोध कायमै

स्थानीय तहको चुनावप्रति थारु मतदाता उत्साहित भएका छन् । थरुहट तथा मधेस केन्द्रीत पार्टीका नेताहरुले संविधान संशोधन गरेर सबै पक्षलाई चुनावमा आउने वातावरण सृजना गर्नुपर्ने माग गरिरहँदा थारुबस्तीका मतदाताले चुनावप्रति उत्साहित भएका हुन् । विभिन्न दलका चुनावी गतिविधिहरु बस्तीमा सुरु भएसँगै त्यहाँका मतदाता थप उत्साहित भएका छन् ।

कैलाली जिल्लाको मध्य क्षेत्रमा थारुबस्तीको बाहुल्यता छ । नेपाली काँग्रेस, नेकपा ९एमाले०, माओवादी केन्द्र, राप्रपालगायत निर्वाचन पक्षधर थारु नेता तथा कार्यकर्ता अहिले चुनावी भेटघाटमा जुटेका छन् । थारु समुदायको मत आफ्नो पक्षमा कसरी पार्ने र नेतृत्व कसलाई दिने भन्ने बारेमा समेत चर्चा परिचर्चा हुन थालेका छन् । स्थानीय तहको चुनावका लागि प्रचारप्रसार व्यापक भइरहँदा जनतामा चुनावी उत्साह जागेको माओवादी केन्द्रकी उर्मिला चौधरीले बताइन्।

संविधानको कार्यान्वयनका लागि पनि निर्वाचन जरुरी रहेको नेपाली काँग्रेसका गरिबदास चौधरीले बताए । ‘मैले स्वायत्त क्षेत्र कैलारी गाउँपालिकामा अध्यक्ष पदमा लड्ने योजना बनाएको छु,’ चौधरीले भने, ‘जनता निर्वाचनप्रति निकै

उत्साहित भएका छन् ।’
संविधान संशोधन गरेर प्रदेश सीमाङ्कन नसच्याएसम्म चुनाव गर्न नदिने थरुहट सङ्घर्ष समितिका कैलाली जिल्ला प्रवक्ता माधव चौधरीले बताए । चुनावबाट टाढा जाने आफूहरुको सोच नरहे पनि थारुका मागलाई संविधान संशोधनमार्फत सम्बोधन गरेपछि मात्र चुनावमा जाँदा उचित हुने चौधरीको धारणा छ ।

एउटा पक्षले चुनावमा सहभागी हुने वातावरण नबनेको बताउँदै आएको र अर्को पक्षले चुनावका गतिविधि सञ्चालन गरिरहँदा आफूहरु केही अलमलमा परेको भए पनि आमजनता आफ्ना प्रतिनिधि छान्न आतुर देखिएको कैलारी गाउँपालिकाका बुधराम चौधरीले बताए । रासस

Leave a Reply

Your email address will not be published.