थारु साहित्यबारे कैलालीमा सार्थक बहस

मदन चौधरी।
साहित्यमा थारु लोककला
थारु संस्कृतिविद् अशोक थारुले थारु साहित्यमा लोककलाको मिथक जोडिनुपर्ने बताए। जसरी खगोलशास्त्रीहरूले पृथ्वीको उत्पत्तिबारे व्याख्या गर्छन्, त्यस्तै व्याख्या थारु साहित्यमा आवश्यक भएको उनले औँल्याए। त्यस्ता व्याख्या गुरुबाबा जल्मौतीमा रहेको उनको भनाइ छ। पुस्ता हस्तान्तरण हुन नसक्दा नै अहिलेका युवाहरूले लेख्ने गजल, मुक्तकमा लोककलाको कमी देखिएको छ। त्यसका लागि गुरुबाबा जल्मौती, रामविहाग्रा, सखियालगायत लोकसाहित्य व्याख्या भएका पुस्तकहरू अध्ययन गर्नुपर्ने उनको सुझाव थियो। त्यसले लोकसाहित्यलाई आधुनिकीकरण गर्न सजिलो हुने संस्कृतविद् थारुको भनाइ छ। लोकविना जुनसुकै साहित्य अपुरो हुने उनको ठम्याइ छ।

आख्यानमा समाज चित्रण
गजलले मात्र समाजको चित्रण हुन नसक्ने मदन पुरस्कार विजेता रामलाल जोशीले बताए। उनले आठदश पंक्तिले चाहेर पनि भन्न चाहेको कुरा भन्न नसक्ने बताए। त्यसैकारण आफू आख्यानतिर ढल्किएको उनले बताए। पछिल्लो समय आख्यान लेखनमा केन्द्रित जोशीको कथासंग्रह ‘ऐना’ले मदन पुरस्कार जितेको थियो। तर, ‘ऐना’मा थारु समुदायलाई अश्लीलतासँग जोडेर बदनाम गराएको भन्दै उपस्थित थारुहरूले प्रश्न गरेका थिए। त्यसको उत्तर दिँदै जोशीले भने, ‘कथाकारको नाताले मलाई त्यस्तो लागेन। मैले त पात्र उभ्याएर समाजको चित्रण गर्न खोजेको हुँ। त्यस्ता पात्रहरूले न्याय पाउनुपर्छ भन्ने मेरो भनाइ हो।’

उनले आफू जुन परिवेशमा हुर्किएको हो, जुन समाजमा बसेको हो, त्यही परिवेश र समाजको चित्रण गर्नु स्वाभाविक भएको बताए। थारु समुदायसँग हुर्किएर उनले त्यो समाजको यथार्थ चित्रण गरेको बताए। जोशीले थारु समुदायमै केन्द्रित भएर आफ्नो अर्को आख्यान आउन लागेको घोषणा पनि गरे। हालसालै ‘रोल्पा सुइना’ कथासंग्रह प्रकाशन गरेका नवीन विभासले पनि जोशीको कुरामा सहमति जनाए। उनले भने, ‘म रोल्पाली हुँ। मैले त्यही समुदायलाई बढी चिन्दछु, बढी बुझ्दछु। त्यसैले म त्यही समाजको चित्रण गर्छु।’

मानक भाषाको सवाल
जिब्रोले जे बोल्छ, त्यही लेख्नुपर्ने भाषाशास्त्रको मान्यताअनुरूप आगन्तुक शब्दबाहेक थारुले आफ्नो उच्चारण अनुसारको शब्द लेख्नुपर्ने भाषाविद्हरूको जोड छ। बोली अनुसारको शब्द लेखिएमा त्यही नै थारु मानक भाषा बन्ने भनाइ उनीहरूको छ। संस्कृतिविद् अशोक थारुले जिब्रोले शब्दलाई नै लेख्न आवश्यक रहेको बताउँदै प्राथमिक शिक्षामा थारु समुदायका बालबालिकामा मानसिक असर परिरहेको बताए। नेपाली भाषाको जबर्जस्त प्रभावका कारण थारु भाषामा मानक बन्न नसकेको बताउँदै उनले शिक्षकहरूले सजाय दिएर थारु बालबालिकालाई दन्त्य उच्चारण गराउँदा पछि गएर ती बालबालिकाले ‘टमाटर’लाई ‘तमातर’ भन्ने मानसिकताको विकास भएको बताए। त्यही भएर थारुको मौलिक भाषालाई राष्ट्रिय शिक्षा नीतिले सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै, भाषाविद् पद्म राईले भाषाविद्का रूपमा सुझाव जसरी दिइए पनि त्यसलाई प्रयोगमा ल्याउने काम मान्छेहरूको भएको बताए।
२०७३ साउन १, २ र ३ गते दाङको घोराहीमा आदिवासी जनजाति उत्थान प्रतिष्ठानको आयोजनामा डंगौरा थारु भाषाको वर्ण पहिचान गोष्ठी भएको थियो। सो गोष्ठीले थारुमा १२ वटा स्वर वर्ण, २५ वटा व्यञ्जन वर्ण, महाप्राण व्यञ्जन वर्ण चार वटा प्रस्ताव गरेको थियो। त्यस्तै, ११ वटा थारु भाषामा उच्चारण नहुने वर्णलाई प्रयोग नगर्ने प्रस्ताव पनि गरेको थियो।

साहित्यमा थारु महिला
सम्भवतः थारु साहित्यको इतिहासमै पहिलो पटक यस्तो बहस गराइएको थियो। ‘जीवनका वक्ररेखाहरू’का लेखिका बालिका चौधरी र गजलकार रविना चौधरीसँग अहिलेका जल्दाबल्दा लेखक इन्दु थारुले बहस गराएकी थिइन्।
गजलकार रविना चौधरीले थारु साहित्यमा पनि पुरुषहरूले महिलालाई मजाकको विषय बनाउने गरेको बताइन्। उनले पुरुषले लेख्ने हरेक गजल, मुक्तकमा महिलालाई होच्याउने, निचा देखाउने र कुनै वस्तुसँग तुलना गर्ने गरेको अरोप लगाइन्। उनले थारु महिलालाई जति घरमा पीडा दिन्छन्, त्योभन्दा बढी पीडा पुरुष साहित्यकारको होच्याउने प्रवृत्तिले दिने गरेको बताइन्। त्यसैले त्यो ‘ट्रेन्ड’ सुधार्नुपर्ने उनको भनाइ छ।
समाजिक सञ्जालमा पनि अश्लीलता झल्काउने मुक्तक र गजलमा थारु महिलाकै फोटो टाँस्ने प्रवृत्ति मौलाएको रविनाको आरोप छ। ‘आफूलाई गजलकार वा साहित्यकार भन्न रुचाउनेले यस्तो प्रवृत्ति रोक्नुको सट्टा यसमा झन् अग्रसर भएको देख्दा उदेक लाग्छ,’ उनले भनिन्।
बालिका चौधरीले पुरुष प्रधान समाजले पुरुषकै गुनगान गाउने बताइन्। ‘केही राम्रै गरिहाले पनि समाजले गलत भने परिवारले पनि त्यसलाई गलत मान्छ,’ उनले भनिन्, ‘किनकि यहाँ व्यक्तिको होइन, समाजको कुरा सुन्ने चलन छ।’
एउटा किताब लेखेकै कारण परिवारमा खटपट परेको मौन स्वीकृति जनाउँदै बालिका चौधरीले परिवारकै मान्छेले आफ्नो किताब जलाएको बताइन्। ‘किताब लेखेकै कारण परिवारमा बोलचाल बन्द हुन्छ भने महिलाहरू कसरी साहित्यमा लाग्न सक्छन्?’ उनको प्रश्न थियो। परिवारिक झमेलाका कारणले पनि महिलाहरू साहित्य लेखनमा आउन नसकेको उनको भनाइ थियो।
‘पुरुषहरूले आफ्नो श्रीमतीकै बारेमा लेख्दा पनि केही नहुने तर एउटा महिलाले केही लेख्यो भन्दैमा परिवारमै तनाव सिर्जना हुनु समाजको उपज हो,’ बालिकाले भनिन्, ‘किनकि, समाजले नै हामी र हाम्रो परिवारलाई मिसगाइड गरिरहेको हुन्छ।’

राजनीतिक दस्तावेजीकरण खोइ?
थारुहरूले पछिल्लो समय थरुहट, थारुवान भनेर आन्दोलन गरिरहेका छन्। तर थारु को हुन्? भन्ने प्रश्नमा पूर्वसांसद एवं नयाँ शक्तिका कैलाली संयोजक कृष्णकुमार चौधरीले मलेरिया पचाएका, तराईका पहिलो आदिवासी थारु भएको बताए। ‘थारुहरू हरेक आन्दोलनमा सहभागी भएका छन्,’ चौधरीले भने ‘जनयुद्धकालमा धेरै थारुले शहादात प्राप्त गरे। उनीहरूको दस्तावेजीकरण किन हुन सकेन? उनीहरू साहित्यमा किन अटाएनन्?’
यी सवालमा सहभागी वक्ताहरू अलमलिएका थिए। उनीहरूले थारु आन्दोलनबारे दस्तावेजीकरण हुन नसकेको स्वीकार गरे। आगामी दिनमा यस्ता मुद्दालाई साहित्यमा पनि समेटिनुपर्ने उनीहरूको भनाइ थियो।

साहित्यिक मेलालाई राष्ट्रिय बनाउने सवाल
थारु लेखक संघको आयोजनामा अघिल्लो वर्षदेखि थारु साहित्यिक मेला आयोजना हुन थालेको हो। दाङबाट सुरु भएको यो मेला दोस्रो वर्ष कैलालीमा सम्पन्न भएको छ। तेस्रो संस्करण बर्दिया जिल्लामा हुनेछ। साहित्य मेलामा सहभागीहरू पनि दाङदेखि पश्चिमकै साहित्यकारहरूको बाहुल्य छ। यसलाई कसरी राष्ट्रिय ‘लेभल’को बनाउन सकिन्छ? वा पूर्व झापादेखि पश्चिम कञ्चनपुरका थारु साहित्यप्रेमीलाई कसरी जोड्न सकिन्छ भन्ने सवाल मेलामा उठेको थियो। यसको जवाफ दिँदै थारु लेखक संघका अध्यक्ष कृष्णराज सर्वहारीले भने, ‘हामीले पोहोर साल पनि सबैलाई समेट्ने प्रयास गरेका थियौँ। यस वर्ष पनि सबैलाई आग्रह गरेकै हो। तर, सहभागी भइदिनुभएन। दूरीको हिसाबले वा समय नमिलेका कारण यस्तो भएको होला। तर, थारु साहित्यकारले यसप्रति चासो देखाउन जरुरी छ। यो मेलालाई ब्रान्डका रूपमा स्थापित गराउनु नै हाम्रो लक्ष्य रहेकाले अगामी दिनमा सबैको उपस्थिति हुनुपर्छ भन्ने जोड हो।’

Leave a Reply

Your email address will not be published.