निर्णायक वार्तामा पनि सहमति जुटेन, संविधान संशोधन प्रस्तावमा एमालेको कडा विमत्ति

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागबमोजिम सरकारले तयार पारेको संविधान संशोधन प्रस्तावमा प्रमुख तीन दलबीच सहमति जुट्न सकेन। संविधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्षस्थ नेतासहितको बैठकमा एमालेले राष्ट्रिय हितविपरित संविधान संशोधन हुन लागेको भन्दै असहमति जनाएको छ।

बैठकपछि काँग्रेस नेता तथा उपप्रधान एवम् गृहमन्त्री बिमलेन्द्र निधिले संविधान संशोधनका विषयमा यस अघि पटकपटक एमालेसँग सकारात्मक छलफल हुँदै आएको भए पनि आजको बैठकमा एमालेका नेताले असहमति जनाएको जानकारी गराए। बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले राखेको वैवाहिक अङ्गीकृत नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, प्रदेशको सीमाङ्कन र भाषा आयोग संशोधनका विषयमा छलफल भएको थियो। सत्ता पक्षका तर्फबाट काँग्रेस र माओवादी केन्द्रले राखेको संशोधनको प्रस्तावलाई एमालेले नमानेपछि अब मोर्चासँग छलफल गरी संशोधन प्रस्ताव अघि बढाइने उपप्रधानमन्त्री निधिले बताए।

प्रमुख तीन दलबीचको छलफलपछि एमाले उपाध्यक्ष भीमबहादुर रावलले संविधानका कुनै पनि धाराले कसैलाई भेदभाव नगरेको भन्दै संशोधनको औचित्य नभएको धारणा राखे। ‘संविधानको कार्यान्वयन र निर्वाचन नगरी संशोधनको आवश्यकता किन?,’ उनको प्रश्न थियो। व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्ष दललाई वेवास्ता गरी संशोधन प्रस्ताव अघि बढाइए मुठभेड निम्तने उनको धारणा थियो।

सरकारले अघि सारेको संशोधनको प्रस्तावमा स्वयम् मोर्चाको पनि असहति रहेकाले त्यसको औचित्य नभएको भन्दै उपाध्यक्ष रावलले भने, ‘सत्ता पक्षले राष्ट्रिय हितविपरित संविधान संशोधन प्रस्ताव अघि बढाए हामी संसद् भित्र र बाहिर विरोध गर्छौं।’ माओवादी केन्द्रका नेता वर्षमान पुनले पछिल्लो समयमा संशोधनका विषयमा सकारात्मक देखिएको एमालेले एक्कासि परिवर्तन गरेको धारणाले आफूहरु स्तब्ध भएको बताए। संविधानको स्वीकार्यता बढाउन र संविधानबमोजिमका निर्वाचन गर्न संशोधनको आवश्यकता रहेको बताउँदै नेता पुनले भने, ‘एमालेको निर्णय अहङ्कार र दम्भ जस्तो देखियो।’

संविधान संशोधनले राष्ट्रिय एकता बलियो हुने बताउँदै उनले सबै जनता तथा पार्टीलाई विश्वास लिन पनि संविधान संशोधनको आवश्कता रहेको जोड दिए। बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहाल, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुन, काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री निधि, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, एमालेका तर्फबाट अध्यक्ष केपीशर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता सुवास नेम्वाङ, उपाध्यक्षद्वय वामदेम गौतम र रावल सहभागी थिए।

Leave a Reply

Your email address will not be published.