टीकापुर घटनाको जिम्मा वैद्य मा‌ओवादीले लिएको लक्ष्मण थारुको खुलासा

थरुहट नेता लक्ष्मण थारुले टीकापुर घटनाको जिम्मा वैद्य मा‌ओवादीले लिएको पत्र प्राप्त भएको बताएका छन्। थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिको उपत्यका भेलामा उनले २०७२ भदौ ७ गते घटेको त्यो घटनाको जिम्मा वैद्य माओवादीका महासचिवले प्रेस विज्ञप्ती जारी गर्दै लिएको बताए।

एउटा पार्टीले जिम्मा लिँदालिँदै राज्य निर्दोष थारुहरुलाई जेलको कोचेको भन्दै उनी आक्रोशित बने। ‘एउटा पार्टीले घटनाको जिम्मेवारी लिँदालिँदै निर्दोष थारुहरुलाई किन जेल कोचियो? माननीय रेशम चौधरीसहितका ११ जना थारुलाई किन आजीवन जेल सजाय सुनाइयो? यसको क्षतिपूर्ति राज्यले तिर्न पर्दैन?,’ लक्ष्मण प्रश्न थियो। यसो भनिरहँदा आफूलाई ज्यानको खतरासमेत भएको उनले बताए।

यिनै विभेदहरु चिर्न थारुहरुले आन्दोलन गर्न बाध्य भएको बताए। उनले भदौ ७, ८ र ९ गते टीकापुरमा थारुहरुको बृहत् सम्मेलन गरेर आन्दोलनको उद्‌घोष गर्ने बताए।

कार्यक्रममा राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक मीनराज चौधरीले सबै थारुहरुलाई टीकापुरको सम्मेलन सफल पार्न आह्वान गरे। ‘राज्यले हामीलाई पटक पटक विभेद् गर्दै आएको छ। राज्यको विभेद सहन नसकेरै थरुहट आन्दोलन गरेका थियौं। त्यो विभेद अन्त्य गर्न अहिले पनि आन्दोलनको आवश्यकता छ। त्यसैले टीकापुरमा जाऔं, बृहत् योजनासहित आन्दोलनको उद्घोष गरौं। यो राज्यसत्तालाई थारुहरुको शक्ति के रहेछ भनी प्रमाणित गरौं,’ उनले भने।

त्यस्तै राजनीतिक विश्लेषक सुरेन्द्र चौधरीले थारुहरुसँग आन्दोलनको विकल्प नरहेको बताए। टीकापुरसँगसँगै राजधानी र तराईका अन्य जिल्लामा पनि भदौ ७ गते कार्यक्रम गर्न आह्वान गरे। उनले कार्यक्रममा सबै दलका थारु नेताहरुलाई बोलाए पनि अखण्ड पक्षधरका जोसुकै भएपनि कार्यक्रममा नबोलाउन आग्रह गरे।

‍भेलाले नन्दुराज चौधरीको नेतृत्वमा उपत्यका समिति गठन गरेको थियो।

Leave a Reply

Your email address will not be published.