टीकापुर सम्मेलन : स्यंवसेवकलाई थरुहट नेता र डिएसपीको प्रशिक्षण

टीकापुर सम्मेलनमा परिचालन हुने थारु स्वयंसेवकलाई थरुहट नेताहरु लक्ष्मण थारु, मिनराज चौधरी र टीकापुर इलाका प्रहरी कार्यालयका डिएसपी मनोहर प्रसाद भट्टले प्रशिक्षण दिएका छन्।

डिएसपी भट्टले कार्यक्रम सफल पार्न पारिचालन गरिने युवा साथीहरुले प्रहरीसँग दाजुभाइको नाता गासेर सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नुपर्ने बताए। उनले सुरक्षार्थ खटिएका प्रहरीहरुले आयोजक टिमको साथी भएर काम गर्ने बताए। ‘हामी आयोजक टोलीसँग पटकपटक सुरक्षा र शान्तिपूर्ण कार्यक्रम सम्पन्न गर्ने सबालमा बसिसकेका छौं। युवा साथीहरुले पनि दाजुभाइ भएर प्रहरीसँग सहयोग आदान प्रदान गर्नुपर्छ,’ उनले भने।

डिएसपी भट्टले भदौ सम्वभतः आजैदेखि टीकापुर र आसपासका क्षेत्रमा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइने बताए। उनले सुरक्षाका लागि सबै तयारी पूरा भइसकेको समेत बताए। ‘हामीले सुरक्षाका लागि विभिन्न ठाउँहरुबाट आउनुहुने पाहुनाहरुलाई चेकजाँच गर्न सक्छौं। त्यस्तो बेला उहाँहरुले हामीलाई कोअपरेट गरिदिन आग्रह गर्न चाहन्छु। हाम्रो उद्देश्य कसैलाई दुःख दिन नभएर शान्तिपूर्णरुपमा कार्यक्रम सम्पन्न गर्नुपर्छ भन्ने हो,’ उनले भने।

त्यस्तै थरुहट नेता लक्ष्मण थारुले पनि स्वयंसेवक युवाहरुलाई प्रहरीसँग हातेमालो गरेर खटिन आग्रह गरे। उनले यो कार्यक्रमको उद्देश्य टीकापुरमा सद्भाव बनाउने भएकाले युवा साथीहरुले कार्यक्रम सफल पार्न सबैलाई आह्वान गरे।

त्यस्तै थरुहट थारुवान राष्ट्रिय सम्मेलनका संयोजक मिनराज चौधरीले कार्यक्रमको तयारी पूरा भइसकेकाले युवा साथीहरु पनि जोशका साथ सफल पार्न अग्रसर हुन आग्रह गरे।

त्यस्तै आजै बिहान टीकापुरमा सद्‍भाव सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो। सरसफाइ कार्यक्रममा स्थानीय थारु पहाडीको सहभागिता थियो।

Leave a Reply

Your email address will not be published.