टीकापुर सम्मेलनप्रति मेरो बुझाई [विचार]

दिल बहादुर चौधरी
थरुहट/थारुवान राष्ट्रिय सम्मेलन २०७६ भदौ ७ देखि ९ गतेसम्म टीकापुरमा हुने प्रचार प्रसारसँगै यसको चर्चा ब्यापक छ । पक्ष र विपक्षमा मतहरु आइरहेका छन् । थारुहरुको कल्याण गर्ने नाममा खुलेको थारु कल्याणकारिणी सभाका केही केन्द्रीय सदस्यहरु खुलेर यसको बिरोध गरिरहेका छन् भने बिशेष गरेर सत्ता पक्षमा रहेका केही थारु अगुवाहरु र त्यसको भातृ संगठन थारु राष्ट्रिय मुक्तिमोर्चा र नेपाल लोकतान्त्रिक थारु संघको नामबाट यो सम्मेलनको खुलेरै बिरोध भैरहेको छ । प्रतिपक्ष नेपाली काँग्रेसमा रहेका थारु अगुवाहरु खुलेर यसको बिरोध गरेका छैनन्, फेरि पनि गच्छदार नजिकका एक दुई अगुवाहरु यसको बिपक्षमा छन् । समाजवादी पार्टी, राजपा र स्वतन्त्र ब्यक्तिहरु यसको पक्षमा देखिएका छन् । सम्मेलनको पक्ष र विपक्षमा मत जारी छ, तर बहुमत सम्मेलनको पक्षमा देखिएको छ ।

सम्मेलनको बिरोध गर्ने नेकपा डबलका केहि सांसदहरु, था.रा.मु.मो. र ने.लो.था.सं. ले यो सम्मेलनको आयोजना कुनै दर्तावाल संगठनबाट नभएकोले यसको आधिकारीकतामाथि प्रश्न उठाएका छन्, यसलाई उद्देश्यविहीन सम्मेलनको संज्ञा दिएका छन् । यस्ता ब्याख्या, बिश्लेषणका कारण नागरिक भ्रमित भैरहेका छन् ।

थारुहरुको कल्याण गर्ने भनी खोलिएको थाकसलाई केहि ब्यक्तिहरुले मनमौजी तरीकाबाट संचालन गर्न खोज्नु, पुरानो सोंचबाट माथि उठ्न नसक्नु, मिलेर समन्वय गरेर अगाडि बढ्न नसक्नु, राम्रो वा नराम्रो काम छुट्याउन नसक्नुले थाकस थारुहरुकै बिचमा बदनाम भैरहेको छ । अर्कोतिर नेकपा डबलका भातृ संगठन थारामुमो र नेलोथासं. ले यति तल झरेर सम्मेलनको बिरोध नगर्दा राम्रो हुन्थ्यो, तर उल्टो भयो । हामीले बुझेको कुरा के हो भने काँग्रेसले महाधिवेशन वा सम्मेलन गर्दा कम्युनिष्टलाई निम्तो पठाउँछ, कम्युनिष्टले भेला, सम्मेलन गर्दा काँग्रेसलाई निम्तो पठाउँछ, दुबैबाट आतिथ्य स्वीकार हुन्छ, दुबै संगठनको तर्फबाट एक अर्काको भेला, सम्मेलनमा प्रतिनीधित्व गरिन्छ, गराइन्छ । सम्मेलनको बिरोध गरिन्न । तर थारुहरुले थारुहरुको सम्मेलनको आयोजना गर्दा थारुहरुको मुक्ति गर्ने भनी गठन भएको थारामुमोले यसको बिरोध गरिरहेको छ । यो कति सान्दर्भिक छ ? कति न्यायोचित छ ? मनन गर्नुपर्ने बिषय हो ।

अर्को कुरा दर्तावाल संघ, संस्था वा संगठनले मात्रै कार्यक्रमको आयोजना गर्दा आधिकारिक हुने हो भने हाम्रो नागरिक सर्बोच्चता कहाँ पुग्छ ? हामीले बिचार गरेका छौं ? जिल्ला प्रशासनमा दर्ता भएका संघ, संस्था वा निर्वाचन आयोगमा दर्ता भएका संगठन, पार्टीहरुले मात्रै कार्यक्रम, सम्मेलन, भेलाको आयोजना गर्दा आधिकारीक हुने र कुनै संघ, संस्था वा पार्टीको नाम नराखी, धेरै संघ संस्थामा आवद्ध हुनेहरु, धेरै पार्टीमा बिश्वास गर्नेहरु मिलेर एकै मञ्चमा स्वतन्त्र रुपमा कार्यक्रमको आयोजना गर्दा आधिकारीक नहुने हो भने नागरिक कसरी सार्बभौम हुन सक्छन् ? जनता कसरी जनार्दन हुन सक्छन् ? सबै मान्छे दलका संगठित वा सक्रिय सदस्य छैनन्, गुण र दोषको आधारमा समर्थन र बिरोध गर्नेहरु नै स्वतन्त्र नागरिक हुन्, स्वतन्त्र नागरिक हुनेहरुको संख्या पनि देशमा छ भन्ने कुरालाई नबिर्सौं ।

लोकतन्त्रमा दल, ब्यबस्थापिका, कार्यपालिका, न्यायपालिका र स्वतन्त्र नागरिकको भूमिका महत्वपूर्ण हुन्छ । नागरिक कमजोर भयो भने स्वेच्छाचारिता, निरङकुशता बढ्छ र लोकतन्त्र खतरामा पर्दछ । स्वतन्त्र नागरिकले मात्रै चुनावको माध्यमबाट नराम्रो काम गर्ने दललाई हराउन र राम्रो काम गर्ने दललाई जिताउन सक्छ, दलहरुलाई लगाम लगाउन सक्छ । दलीय ह्वीप भन्दा माथि उठ्न नसक्ने नागरिकले लोकतन्त्रको रक्षा गर्न सक्तैनन् । संघ संस्थाका प्रतिनीधि, पत्रकार, सञ्चारकर्मी, शिक्षक, वकिल जस्ता पेशाकर्मीहरु दलीय ह्वीप र बन्धन भन्दा माथि उठ्न सक्नु पर्दछ र स्वतन्त्र नागरिकको रुपमा उभिन सक्नु पर्छ ।

सम्मेलनको पूर्बसन्ध्यामा सांसदबाट सम्मेलनको बिरोध हुनु, थारामुमो र नेलोथास.ंबाट बिरोध हुनु भनेको अप्रत्यक्ष रुपमा ती दलका कार्यकर्ताहरुलाई सम्मेलनमा नजान दलीय ह्वीप जारी गरेको हो, उनीहरुमा दलीय दासता थुपारेको हो भन्दा अत्युक्ति नहोला । नागरिक स्वतन्त्रता, अभिब्यक्ति स्वतन्त्रता रहेन भने सानो भन्दा सानो कुरामा पनि ह्वीप जारी हुन्छ र लोकतन्त्र कमजोर भएर जान्छ भन्ने कुरालाई बिर्सनु हुँदैन ।

सांसद ईन्द्रजीत र थारामुमो, नेलोथासले टीकापुर सम्मेलनलाई उद्देश्यबिहिनको संज्ञा दिए । कतिपयले टीकापुरमा हुने सम्मेलनले अबका दिनमा आन्दोलन गर्ने सबै बाटा अबरुद्ध भए भन्ने बुझे । मेरो बुझाई अलि फरक छ । वास्तवमा टीकापुरलाई सम्मेलनको आवश्यकता छ । सम्मेलनले कमै भएपनि थारु र पहाडी समुदायमा आपसी विश्वासको बाताबरण बनाउनमा मद्दत गर्नेछ । त्यसले थारुहरुको आन्दोलन कुनै समुदायबिरुद्ध थिएन, पछि हुने आन्दोलन पनि पहाडी समुदायको बिरुद्धमा हुँदैन, आन्दोलन भनेको राज्यसँग माग राख्ने कुरा हो भन्ने कुरालाई प्रष्ट पार्न मद्दत गर्नेछ र टीकापुर बजारको अनुहार चम्किलो पार्न सहयोग गर्नेछ भन्ने मेरो बुझाई रहेको छ । आन्दोलन हुँदा कुनै एक समुदाय, अर्को समुदायसँग माग राख्दैन, राज्यसँग माग राख्दछ भन्ने कुरा बुझिसकेपछि आन्दोलन गर्ने बाटो अवरुद्ध हुन्छ भन्ने मलाई लाग्दैन ।
सम्मेलनले रेशम चौधरीलाई छुटाउन सहयोग हुँदैन, उनी कूटनीतिक पहलले मात्र छुट्न सक्छन्, त्यसकारण पनि सम्मेलनको औचित्य छैन भन्ने पनि कतिपयको बुझाई छ । तर सम्मेलनले कुटनीतिक पहल गर्न कसैलाई बाधा, अवरोध गर्छ भन्ने मलाई लाग्दैन । दुई तिहाईको सरकार छ, जे पनि गर्न सक्दछ । चाह्यो भने रेशमलाई तुरुन्त छोड्न सक्छ । समस्या सम्मेलनले हुँदैन, समस्या सम्मेलनमा हाम्रो समर्थन छैन भनी स्टेटस लेख्न, प्रेस बिज्ञप्ति जारी गर्न सक्ने हातहरु, रेशममाथि अन्याय भएको छ, सरकारले तुरुन्त रिहा गर्नुपर्दछ भनी स्टेटस लेख्न र प्रेस बिज्ञप्ति जारी गर्न नसकेर हुन्छ र भएको छ ।

सम्मेलन आयोजक समितिले प्रहरी, प्रशासन, टीकापुरका स्थानिय जनतासँग पटक पटक सम्पर्क, समन्वय गरी कार्यक्रम तय गरिसकेपछि कार्यक्रमको बिरोध हुनु राम्रो कुरा हो जस्तो लाग्दैन । बिरोधकै कारण सम्मेलनमा नागरिक उपस्थिति भएन भने के सन्देश जान्छ ? आयोजक समितिले शान्तिपूर्ण रुपमा कार्यक्रम गर्ने भनी सम्झौता गरिसकेको अवस्थामा टीकापुर वरिपरीकै गाउँका नागरिक त्यहाँ उपस्थित भएनन् भने मेरो बिचारमा ३ खाले सन्देश जान्छ । पहिलो उनीहरु बिगतमा जस्तै प्रहरी दमन हुन सक्छ भन्ने डरले टीकापुर नगएका हुन् भन्ने, दोश्रो उनीहरुमा अझै रिस छ, आक्रोश छ, मेलमिलाप गर्न चाहँदैनन् भन्ने, तेस्रो उनीहरु दलमा प्रतिबद्ध छन्, तसर्थ कुनै दलले आयोजना नगरेको सम्मेलनमा उनीहरु जाँदैनन्, पार्टीको ह्वीप उनीहरु उल्लंघन गर्न सक्तैनन भन्ने ।

त्यसैले टुङ्ग्याउनीमा के भनौं भने सम्मेलन आयोजक समितिले सम्मेलनको तयारी गरिसकेको अवस्थामा सम्मेलनप्रति हाम्रो समर्थन छैन भन्नु वा सम्मेलनमा नजानु भन्नु गलत कुरा हो । नागरिक स्वतन्त्रता, अभिब्यक्तिको स्वतन्त्रताबिना लोकतन्त्र मजबुत हुँदैन । लोकतन्त्रमा स्वतन्त्र नागरिकले मात्र आवधिक चुनावमार्फत राम्रो दल र अगुवाहरुको छनौट गरी उनीहरुलाई लगाम लगाउन सक्छन् । त्यसैले हामी स्वतन्त्र नागरिकको रुपमा स्थापित हुन कोशिश गरौं, स्वतन्त्र रुपमा रहेका नागरिकहरु (संघ संस्थाका प्रतिनीधि, पत्रकार, शिक्षक, वकिल आदि) यो सम्मेलनलाई सहमति अनुसार सफल बनाउन प्रयत्न गरौं । आ आफ्नो तर्फबाट स्वतन्त्र रुपले यसको अनुगमन गरौं । सम्मेलन शान्तिपूर्ण रुपमा सम्पन्न हुनु भनेको आन्दोलनका सबै बाटाहरु अबरुद्ध हुन्छन् भन्ने बुझाई नराखौं । शान्तिपूर्ण सम्मेलनले कुटनीतिक पहल गर्न रोक लगाउँछ भन्ने बुझाई पनि नराखौं । सम्मेलनको बिरुद्धमा जसरी आवाज निकालिरहेका छौं, प्रेस बिज्ञप्तिहरु जारी गरिरहेका छौं, रेशम चौधरीको रिहाईका लागि पनि आवाज निकाल्ने, प्रेस बिज्ञप्ति जारी गर्ने प्रयत्न गरौं, कुटनीतिक पहल जारी राखौं । सम्मेलनले थारुहरुले गरेका आन्दोलन पहाडी समुदायको बिरुद्धमा थिएन, पछि हुने आन्दोलन पनि उनीहरुको बिरुद्धमा हुँदैन, थारु कुनै जातजातिको बिरुद्धमा आन्दोलन कहल्यिै गरेनन्, उनीहरुको पनि देशप्रति अगाढ माया छ भन्ने सन्देश दिन सफल होस्, आपसी बिश्वासको बाताबरण तयार गरोस्, टीकापुर बजारलाई पुनर्जीवन देओस् भन्ने कामना गरौं ।

Leave a Reply

Your email address will not be published.