थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा

थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। तयारीका लागि आयोजकले टीकापुर आसपासका विभिन्न गाउँका बरघर, भलमन्सा र जनप्रतिनिधिहरुसँग छलफल गरिरहेको छ।

विभिन्न जिल्लाबाट आएका अतिथिहरुलाई बरघर र भलमन्साले आ-आफ्नो गाउँमा राख्ने व्यवस्था मिलाएका छन्। आयोजकका अनुसार अतिथिहरुलाई कम्तीमा पनि २७ वटा गाउँमा राख्ने व्यवस्था मिलाइएको छ।

त्यस्तै जनप्रतिनिधिहरुले सम्मेलन सफल पार्न कुनै किसिमको कमी हुन नदिने आश्वास दिएका छन्। उनीहरुले कहाँबाट कसरी सहयोग गर्न सकिन्छ आफूहरु तयार रहेको कैलाली संयोजक माधव थारुले जानकारी दिए।

उनका अनुसार जनप्रतिनिधि, नागरिक अगुवा, बुद्धिजीबी र सरोकारवाला पक्षहरुसँग छलफल जारी रहेको बताए। ‘सबै पक्षले सम्मेलन सफल पार्न आश्वास दिनुभएको छ। यो सम्मेलन कुनै जाति वर्ग लक्षित वा विरुद्ध नभएकाले टीकापुर आसपासका सबै समुदायले सहयोग गर्ने वाचा गर्नुभएको छ,’ उनले भने।

उनका अनुसार जिल्ला प्रशासन र स्थानीय प्रहरी प्रशासनमा पनि कार्यक्रमबारे लिखित जानकारी दिइसिकएको बताए। ‘हामीले सरोकारवाला सबै पक्षलाई लिखित जानकारी गराइसकेका छौं। उहाँहरुले पनि कार्यक्रम सफल बनाउन आफूहरुको पूर्ण सहयोग रहने बताउनुभएको छ,’ उनले थारुवानसँग भने।

भदौ ७, ८ र ९ गते हुने सम्मेलनमा भाग लिन देशभरिबाट कम्तीमा पचास हजारको सहभागिता रहने बताइएको छ। कार्यक्रमको उद्‍घाटन सत्र टीकापुरस्थति सिटी हलको प्रांगनमा हुनेछ भने बन्दसत्र सिटी हलमा हुनेछ।

Leave a Reply

Your email address will not be published.