थारु अतिथिलाई पहाडी समुदायले पानी खुवाएर, फूल दिएर स्वागत गर्ने

७ भदौ २०७२ को टीकापुर घटनापछि थारु र पहाडीबीच सद्‍भाव विग्रिएको भन्ने समाचार ब्यापक सुन्नमा आएको थियो। पहिचान र अधिकारका लागि आन्दोलनरत थारु समुदाय र अखण्ड सुदूरपश्चिम बनाउने अभियानमा जुटेका पहाडी समुदायबीचको टकरावले साँच्चै सद्‍भाव विग्रिएको अनुमान गर्न सकिन्थ्यो। त्यसकै परिणाम होला थारुको कार्यक्रममा पहाडी समुदायको आक्रमण र पहाडी समुदायको कार्यक्रममा थारु समुदायको हस्तक्षेप भइरहन्थ्यो। पछिल्लो उदाहरण ८ भदौ २०७२ कै घटनालाई हेर्न सकिन्छ। ७ गतेको घटनाको आक्रोशमा प्रहरी प्रशासनकै आडमा कर्फ्यु लगाएकै बेला थारुहरुको घर, पसल र रिसोर्टमा आगजनी गरिएको थियो। त्यसको ठीक ४ वर्षपछि टीकापुरमा यी दुई समुदायबीच सद्‍भाव बनाउने काम गर्दैछ थरुहट थारुवान राष्ट्रिय सम्मेलनले।

सम्मेलन तयारीका लागि आयोजकले टीकापुरको सम्वाद समिति, पत्रकार र बुद्धिजीबीहरुसँग बिहीबार छलफल गरेको छ। छलफलमा सद्‍भाव बनाउनका लागि सम्मेलनमा सहभागी हुने अतिथिहरुलाई पहाडी समुदायले पानी खुवाएर स्वागत गर्ने, एकअर्कालाई फूल आदान प्रदान गर्ने र पहाडी समुदायको घरमा खाना खाएर सद्‍भाव कायम रहेको उदाहरण देखाउने निर्णय भएको छ।

थरुहट नेता लक्ष्मण थारु, थाकस कैलाली संयोजक माधव थारु, थाकस केन्द्रीय सदस्य इन्दु थारुलगायतसँग भएको छलफलमा टीकापुरका गन्यमन्य व्यक्तिहरु सहभागी थिए। उनीहरुले थारु पहाडीबीच सद्‍भाव कायम गर्ने यो सम्मेलन ठूलो अवसर भएको बताए।

थरुहट नेता लक्ष्मण थारुले सम्मेलनमा सहभागी हुने सबैलाई फूल लिएर आउन आग्रह गरेका छन्। थारुहरुलाई स्वागतमा खटिने पहाडी समुदायलाई फूल आदानप्रदान गरेर सद‍भाव बनाउन उनले आग्रह गरेका छन्।

त्यसो त आयोजकले पनि यो थरुहट थारुवान राष्ट्रिय सम्मेलनलाई कुनै जाति वर्ग लक्षित नरहेको बताउँदै आएको छ। थारुहरुले आफ्नो अधिकार र पहिचान प्राप्तीका लागि संविधानका केही धारामा आफ्नो असहमति जनाउँदै आएको छ। त्यस्तै टीकापुरमा घटनालाई राजनीतिक तवरले समाधान गर्नुपर्ने थारुहरुको माग छ। त्यसका लागि बिना सर्त सांसद रेशम चौधरीसहित आजीवन सजाय पाएका टीकापुर घटनाका राजबन्दीहरुलाई रिहाई गर्नुपर्ने माग थारुहरुको छ।

कार्यक्रमको उद्‍घाटन सत्र टीकापुरस्थित सिटी हलको प्रांगनमा हुनेछ। उद्‍घाटन सत्रमा देशभरिबाट हजारौं थारुहरुको उपस्थिति हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published.