राष्ट्रपतिले फेरि थपे पुस १४ सम्मको म्याद

काठमाडौं- राष्ट्रपति रामवरण यादवले राजनीतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठन गर्नका लागि यही पुस १४ गते शनिबारका दिनसम्म समय थप गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार राजनीतिक दलहरुले सहमतिका लागि थप भएको समयलाई निरन्तरता दिँदै अझै थप समय माग गरेको हुँदा मागबमोजिम समय थप गरिएको हो।
राष्ट्रपति कार्यालयद्वारा आज प्रकाशित विज्ञप्तिमा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनीतिक दलहरुलाई गत मङ्सिर ८ गते पहिलोपटक आह्वान गरिएको उल्लेख छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा यसअघि राष्ट्रपति यादवले पहिलोपटक मङ्सिर ८ गते शुक्रबारका दिन आह्‍वान गरेकामा राजनीतिक दलहरुको मागबमोजिम यही पुस ७ गते शनिबारका दिनसम्म समय थप गराएका थिए।
राजनीतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठन गर्नका लागि राष्ट्रपति डा यादवले आज छैठौँपटक समय थप गर्नुभएको हो। रासस

Leave a Reply

Your email address will not be published.