दुबईमा बर्बाद भएको प्रेमा थारुको सपना

वैदेशिक रोजगार कसैको लागि चाहना हुन सक्छ । तर अधिकांश नेपालीहरु बाध्यताले वैदेशिक रोजगारीमा होम्मिएका छन् । त्यस्तै बाध्यताले बर्दियाकी प्रेमा थारुलाई पनि वैदेशिक रोजगारीको बाटोले डोर्यायो ।

सामान्य लेखपढ गर्नमात्र जान्ने र हातमा कुनै सीप नभएका प्रेमालाई दलालले घरेलु कामदारमा आकर्षक तलबको लोभ देखाए । घरायसी समस्यमा गाँजिएकी उनी ऋण गरेर भए पनि उक्त काममा जाने मनस्थिति बनाइन् ।

सरकारले खाडी मुलुकमा महिलालाई घरेलु कामदारमा जान रोक लगाएको हेक्का प्रेमासँग थिएन । एजेन्टको लहैलहैमा उनी दिल्ली हुँदै युएई पुगे । दिल्लीको बाटो लगेसी प्रेमा झस्किएकी थिइन्, तर दलालको फकाइपछि उनी कन्भिन्स भइन् । तर युएईमा पुगेर उनले देखेका सपना क्षणभरमै टुट्यो ।

घरायसी काममा बोलाइएका उनीमाथि घर मालिकले नोकरको व्यवहारमात्र गरेनन्, उनीमाथि दुर्व्यवहारसमेत गरे । प्रेमा कति दिन भोको पेट बस्नप¥यो । घर मालिकको हरेक किसिमको टर्चर सहन नसकेपछि उनी त्यहाँबाट भागे । बल्लतल्ल उनी युएईको आबुधाबीस्थित नेपाली राजदूतावास पुगे । त्यहाँ पुग्दा उनलाई आफ्नै घर आएजस्तो भयो । जिन्दगीको ठूलो समस्याबाट उम्केर आएको महसुस भयो प्रेमालाई । दूतावास आइपुगेपनि उनी तत्काल नेपाल फर्किने अवस्था भएन । कारण थियो, गैरकानुनी तरिकाले दिल्लीको बाटो हुँदै युएई पुग्नु । प्रेमाजस्तै गैरकानुनी तरिकाले युएई पुगेका धेरै महिला कामदार नेपाल फर्किन सकेका छैनन् ।

एक हप्ताअघि दूतावासमा उनीसँग भेट्दा उनको अनुहारमा त्रास देखिन्थ्यो । उनी निर्धक्कसाथ केही कुरा भन्न सकिरहेका थिएनन् । निकैबेर शिर निहुराएर बसिरहे उनी । १० मिनेटपछि उनले लामो सास फेर्दै भनिन्, ‘थारु समाजलाई म कहिल्यै बिर्सिनेछैन,’ उनी फेरि एकछिन चुप बसिन र भनिन्, ‘म अन्जानमा फसेँ । गैरकानुनी तरिकाले यहाँ आएको रहेछु भन्नेसमेत मलाई थाहा थिएन । विदेश जाउँला, पैसा कमाउला, घरको गर्जो टारौंला सोचेको थिएँ । सबकुछ बर्बाद भयो ।’

प्रेमालाई थारु कल्याणकारिणी सभा युएईले नेपालसम्म फर्काउने वातावरण मिलाएको थियो । अध्यक्ष रुपेश चौधरीको नेतृत्वमा दूतावास पुगेका टोलीले प्रेमालाई बर्दियासम्मकै खर्च हस्तान्तरण गरेको थियो । सभाले त्यहाँस्थित नेपाली कामदारहरुलाई सबैखाले सहयोग गर्दै आएको छ ।

तीन महिनापछि युएईस्थित नेपाली राजदूतावासको सेल्टरमा बसेकी प्रेमालाई हाल काठमाडौंस्थित एउटा संस्थाले सेल्टरमा राखेको छ । उनी पूर्णरुपले फिट भएपछि घर फर्किने सो संस्थाले बताएको छ ।

एक लाखभन्दा बढी महिलाहरु वैदेशिक रोजगारको क्रममा खाडी मुलुक गएको तथ्यांकले बताउँछ । जसमध्ये सबैभन्दा धेरै कुवेतमा रहेका छन् । त्यस्तै युएईस्थित नेपाली राजदूतावासले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१८ मा ३ जना महिलाले आत्महत्या गरेका थिए ।

(नोट : पीडितको आग्रहअनुसार नाम परिवर्तन गरिएको छ)

Leave a Reply

Your email address will not be published.