नेपालको ऐतिहासिक जीत, यूएईलाई हराउँदै जित्यो एकदिवसीय सिरिज

कप्तान पारस खड्काको अलराउण्ड प्रदर्शनमा नेपालले युएईविरूद्धको एकदिवसीय सिरिज जितेको छ। घरेलु टिम युएईलाई तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित गर्दै नेपाली क्रिकेट टिमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो सिरिज जित हात पारेको छ।

युएईमा जारि सिरिज अन्तर्गत पहिलो खेल ३ विकेटले हारे पनि दोस्रो खेलमा १४५ रनको जित दर्ता गर्दै सिरिज बराबरी गरेको थियो। सिरिज जितको लागि निर्णायक बनेको तेस्रो खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको हो।

युएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्‍यो। योसँगै नेपालले युएईविरूद्धको सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो।

ओडीआई मान्यता पाएको एक वर्ष नपुग्दै नेपालले पहिलो सिरीज जितेको हो। यसअघिको पहिलो सिरिजमा नेदरल्याण्डसँग १-१ को बराबरी खेलेको थियो।
नेपालको जितमा कप्तान पारस खड्का नायक सावित भए। नेपालका लागि पहिलो एक दिवसीय सतक बनाएका खड्काले १०९ बल खेल्दै ११५ रन बनाएका थिए।

पारसले ऐतिहासिक उपलब्धि हाँसिल गर्ने क्रममा १३ चौका र १ छक्का प्रहार गरेका थिए। यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन बनाउँदा सुन्दीप जोराले १९ रन जोडे। एक दिवसीयमा डेब्यू गरेका जोराले २० बल खेल्दै १ छक्का र १ चौका प्रहार गरेका थिए।

यस्तै रोहित कुमार पौडेलले १६ रन बनाउँदा बिनोद भण्डारीले ९ रन जोडे। दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भएका थिए। आरिफ शेखले २१ रन बनाउँदा सोमपाल कामीले २६ रन बनाएर नटआउट रहे।

Leave a Reply

Your email address will not be published.