राजापुरमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत बर्दियाको राजापुरमा शान्तिका लागि युवा समूहले विभिन्न कार्यक्रम आयोजना गर्‍यो। ‘लैंगिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार’ मूल नाराका साथ निस्किएको र्‍यालीमा सरकारी तथा गैर सरकारी संघसंस्थाले एक्यबद्धता जनाएको थियो। र्‍याली राजापुर बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले सबै प्रकारका हिंसा अन्त्य गर्न नगरपालिका लागिपर्ने बताए। त्यसका लागि सरोकारवाला सबै पक्षको सहयोग हुन जरुरी रहेको उनले बताए। ‘लिंगको आधारमा गरिने हरेक प्रकारका हिंसाहरु अपराध हुन्। सबै समुदाय र वर्गबाट लैंगिक हिंसा अन्त्य गर्न दीगो अभियान सञ्चालन गरौं,’ उनले भने।

त्यस्तै शान्तिका लागि युवा सञ्जालका अध्यक्ष शिवानी चौधरीले १६ दिने अभियानले लैंगिक हिंसा अन्त्य गर्न आंशिक मद्दत गरेपनि त्यो पर्याप्त नरहेको बताइन्। त्यसका लागि सबैजना आफैंबाट परिवर्तनको सुरुवात गर्नुपर्ने उनको धारणा थियो। ‘महिला भएकै कारण उनीहरु हरेकप्रकारका हिंसा सहन बाध्य भएका छन्। उनीहरु घर, अफिस, समुदाय कहीँ पनि सुरक्षित महसुस गर्न सकिरहेका छैनन्। त्यसैले कुनै प्रकारको हिंसा नगर्ने प्रण सुरुमा आफैँबाट गरौं,’ उनले भनिन्।

उनले यस अभियानमा राज्य अझै पनि कमजोर भए भयावह स्थिति सिर्जना हुनसक्ने चेतावनीसमेत दिइन्। ‘दिनप्रति दिन बलात्कारका घटना सार्वजनिक भइरहेका छन्। आफ्नैहरु पनि त्यस्ता घृणित कार्यमा संलग्न भएको समाचारहरु आइरहेका छन्। त्यसैले पहिले हामी आफूलाई सच्याउँ। समाज आफैँ सच्चिन्छ,’ उनले भनिन्।

राजापुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा अधिकारकर्मीहरुले लैंगिक हिंसाविरुद्धको अभियानलाई सशक्तरुपमा लैजाने बताएका थिए।

Leave a Reply

Your email address will not be published.