कोरियामा मृत्यु भएका परिवारलाई थाकस कोरियाद्वारा आर्थिक सहयोग

कारी महतो।चितवन।
इपिएस प्रणालीमार्फत वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका नेपाली थारु युवाहरु एकआपसमा संगठित भएको छोटो अवधिमा निकै प्रशंसनीय कामहरु गर्दै आइरहेका छन् । केही समय अगाडि कोरियाको आफ्नै निवासमा मृत्यु भएका कैलालीका २८ वर्षीय प्रमोद चौधरी र कोरियाकै सडक दुर्घटनामा मृत्यु भएका पर्सा जिल्ला निवासी ओम प्रकाश चौधरीका परिवारलाई थारु कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरिया शाखाले आर्थिक सहयोग गरेको कुरा शाखाका अध्यक्ष शिव चौधरीले बताए ।

अध्यक्ष चौधरीका अनुसार तीन वर्ष अगाडी कोरिया गएका प्रमोद चौधरीको आकस्मिक मृत्यु भएपछि उनको श्रीमती सरीता चौधरीलाई थाकस दक्षिण कोरियाले ने.रू. १ लाख ८० हजार ८३८ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । त्यस्तै मृतक ओम प्रकाश चौधरीका छोरा विश्व प्रताप चौधरीलाई ने.रू. १ लाख ९६ हजार ९५ रुपैयाँ सहयोग हस्तान्त्रण गरेका छन् । उक्त सहयोग रकम हाल नेपालमा रहेका थाकस दक्षिण कोरियाका निवर्तमान अध्यक्ष पुष्प चौधरी मार्फत हस्तान्त्रण गरिएको हो । त्यस अभियनलाई सफल बनाउनका लागि लिलाकान्त महतोको संयोजकत्वमा सहयोग समिति गठन गरिएको थियो ।

यसअघि दक्षिण कोरियामा थाइराइडका विरामी भएका चितवन बछौलीका जीतबहादुर महतोलाई ने.रु १ लाख ४० हजार, बाढी पीडितका लागि न्युज २४ का कार्यक्रम संचालक रवि लामिछाने मार्फत ने.रु १ लाख ५ हजार ५०० रुपैयाँ, चितवनका घाइते सन्जीत महतो राहत कोषलाई १ लाख ५ सय, शुद्धोदन गाउँपालिका वडा नं. २ गोपालपुर रूपन्देही मुटु रोगी रिमा थारूलाई ने.रू १ लाख १५१ र वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया गएका चितवनका मिर्गौला पिडित हरेराम महतोलाई ने.रु ८० हजार आर्थिक सहयोग गरेका थिए ।

केही दिन अगाडि उदयपुर जिल्ला वेलका नगरपालिकामा पिकनिकबाट फर्किने क्रममा ट्याकटर दुर्घटनामा ३ जनाको मृत्यु भयको थियो र ८ जनाको अबस्था गम्भीर भएको थियो । ती घाइतेहरुलाई थाकस दक्षिण कोरियाले आर्थिक सहयोग गर्ने भनेर सभाका बरिष्ठ उपाध्यक्ष शिव संकर महतो थारूले जानकारी दिएका छन् ।

दक्षिण कोरियामा कुनै पनि संस्था वा संगठनलाई कोरिया सरकारले मान्यता दिने गरेको छैन । तथापि गैरआवासिय नेपालीहरु एक आपसमा संगठित भई मानवीय सहयोग गर्दै आएका छन् । थाकस दक्षिण कोरियाले आफ्ना सदस्यहरुको कुनै भवितव्य परी विरामी वा मृत्यु भएकाहरुलाई सभाको कोषबाट तीन लाख कोरियन वोन सहयोग गर्ने र थप रकमका लागि ऐच्छिक सहयोग संकलन गर्ने गरेको कुरा अध्यक्ष शिव चौधरीले बताए । उनीहरुले कोष वृद्धिका लागि सदस्यहरुबाट मासिक रुपमा लेबी उठाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published.