चितवनका थारु अगुवाले सम्झिए सन्तकुमारको योगदान, स्मृतिमा स्वास्थ्य शिविरको आयोजना

सन्तकुमार चौधरी/चितवन।
पूर्व स्वास्थ्य सहायक मन्त्री स्वर्गीय सन्तकुमार चौधरीको स्मृतिमा पूर्वी चितवनको बैरहनीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।
स्वर्गीय चौधरीको १३औं दिनको अवसरमा खैरहनी नगरपालिकाको वडा नं. ९ बैरहनीस्थित आधारभूत विद्यालयमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो। शिविरमा २ सय ५० जनाले स्वास्थ्य परीक्षण गराए। केयर पोलिक्लिनीक प्रालि पर्साले आयोजना गरेको स्वास्थ्य शिविरको थारु कल्याणकारिणी सभाकी पूर्व केन्द्रीय सदस्य चन्द्रकुमारी चौधरीले उद्घाटन गरेकी थिइन्।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी चौधरीले स्वर्गीय सन्तकुमार चौधरीको योगदानलाई भुल्न नसकिने बताइन्। उनी स्वर्गीय चौधरीको बुहारीसमेत हुन्। केयर पोलिक्लिनक प्रालिका डा. मानसिंह चौधरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष होमकुमार पुन, आभारभूत विद्यालय व्यवस्थापन समिति बैरहनीका अध्यक्ष परसुराम चौधरी, सोही विद्यालयका प्रधानाध्यापक जीवनकुमार चौधरी, खैरहनी युवा क्लबका अध्यक्ष विक्रम पंजियार, पर्सा साना शहरी खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाका अध्यक्ष शेरमान तामाङ लगायतको उपस्थिति थियो।

शिविरमा पेट छाती, मुटु, मधुमेह तथा थाइराईड विशेषज्ञ डा. गौरीराम महतो, मेडिकल अफिसर सहयोगी डा. सचिन चौधरी, गाइनोलोजिष्ट डा. बन्धना खनाल, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. अरुण सिग्देल लगायतको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए । पूर्व सहायक स्वास्थ्य मन्त्री सन्तकुमार चौधरीको ८० वर्षको उमेरमा निधन भएको थियो ।

थारु कल्याणकारिणी सभाको शोक सभा
यसैबीच चितवनका थारु अगुवाहरुले स्वर्गीय सन्तकुमार चौधरीको निधनले थारु समुदायमा ठूलो क्षति पुगेको बताएका छन्। थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ ले खैरहनी ९ बैरहनी स्थित निवासमा आयोजना गरेको शोकसभामा बोल्ने थारु अगुवाहरुले थारु समुदायमा ठूलो क्षति पुगेको बताए। थारुहरुको अभिभावकैरुपमा रहेका चौधरीको निधनपछि आफूहरु टुहुरो भएको बताउँदै उनको योगदानको प्रशंसा गरेका थिए।

थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ का सभापति चुडामणी चौधरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललितकुमार चौधरी, पूर्व अध्यक्ष जोखा चौधरी, केन्द्रीय सदस्य लक्ष्मी चौधरी, थारु पत्रकार संघका केन्द्रीय सदस्य सन्तकुमार चौधरी लगायतले स्वर्गीय सन्तकुमार चौधरीको योगदानको प्रशंसा गरेका थिए । स्वर्गीय चौधरी थारु कल्याणकारिणी सभा चितवनका दोस्रो सभापतिको रुपमा काम गरेका थिए। पदमपुरको जिपुर संझौटमा जन्मिएका चौधरी प्रधानपञ्च हुँदै सांसद र सरकारी सेवामा काम गरेका थिए।

Leave a Reply

Your email address will not be published.