‘सुदूरपश्चिम’मात्र किन अगाडि ‘अखण्ड’ पनि थपौं

प्रदेश नं ७  को नाम ‘सुदूरपश्चिम’ राख्न सुझाव समितिका बहुमत सदस्यले निर्णय गरेका छन् । विशेष समितिले लिएको सुझावअनुसार बहुमतले प्रस्ताव गरेको सुदूरपश्चिम नामलाई मंगलबार बसेको संसद् बैठकमा पेश गरिएको छ । समितिको प्रतिवेदनमा प्रदेशको नाम सुदूरपश्चिम रहने निष्कर्ष निकालिएको छ ।

प्रदेश यसअघि पनि सुदूरपश्चिमकै नामले चिनिएको थियो । प्रदेश राजधानी गोदावरी नगरपालिका–४ तेघरीमा आर्मी व्यारेक आसपासमा रहने समितिले सिफारिस गरेको छ । अत्तरिया र गोदावरी क्षेत्रको बीचमा तेघरी पर्छ ।

सोही सम्बन्धमा कैलालीबाट निर्वाचित सांसद नारदमुनि रानाले ७ नम्बर प्रदेशको नाम र राजधानीबारे गरिएको सिफारिस बेठीक भएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै रानाले प्रदेशको राजधानी र नाम दुवै बेठीक सिफारिस गरिएको बताए । राना निर्वाचित क्षेत्र धनगढीमा हाल प्रदेशको अस्थायी राजधानी छ । तर, प्रदेश सभाको समितिले अर्काे निर्वाचन क्षेत्रमा पर्ने गोदावरी नगरपालिकामा स्थायी राजधानी राख्न सिफारिस गरेको छ ।

समितिले प्रदेशको नाम सुदूरपश्चिम राख्न गरेको सिफारिस समेत बेठीक भएको रानाले बताए । बैठकमा बोल्दै उनले समृद्धिको आधार पहुँचमार्ग भएका कारण भारतको गौरीफन्टादेखि चिनियाँ सीमा ताक्लाकोटसम्म द्रुतमार्ग निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

त्यस्तै थारु अगुवा दिलबहादुर चौधरीले  नाम अगाडि ‘अखण्ड’ थपिदिए सुनमा सुगन्ध हुने टिप्पणी गरेका छन्। उनले फेसबुकमा लेखेछन्, ‘राजधानी अत्तरीया लैजाने कुरा नेकपा डबल (लेखक स‌ङ्ग्रौलाले दिएको नाम)को, जनताले तिरेको करको वाहियात खर्च गर्ने योजनामात्र हो। धनगढीमा पहिलेदेखि स‌ंरचना थियो। अस्थायी राजधानी बन्दा त करोडौं खर्च भइसक्यो भने गोदावरी बन्दा कति लाग्ला ?’

उनले न्यायकै कुरा गर्ने हो, जनताले तिरेको करको सही सदुपयोग गर्ने हो र पहाडलाई पर्यटकीय क्षेत्र बनाउने हो भने दिपायल नै राजधानी बनाउनु ठीक रहेको उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published.