११ वर्षीया उमा चौधरी बेपत्ता, प्रहरीले उजुरी लिन मानेन

लखन चौधरी/कैलाली।

कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी १ बालिका १ हप्तादेखि बेपत्ता छिन् । विद्युत महसुस बुझाउन जेठ २९ गते घरबाट साथीसँग निस्केकी ११ वर्षीया उमा चौधरी हालसम्म सम्पर्कमा आएकी छैनन् ।

उनकी भाउजु हिरादेवी चौधरीका अनुसार आफू श्रीमानको उपचारको लागि घर बाहिर गएको अवस्थामा उमा कैलाली कञ्चनपुरको सीमावर्ति डोकेबजारका स्थानीय रमेश बुढाकी छोरी तुलसी बुढासँग महसुल बुझाउन नेपाल विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र गएकी थिइन् । महसुल बुझाइसकेपछि तुलसीको अनुरोधमा उनी तुलसीको घर डोकेबजार गएको तुलसीलाई उदृत गर्दै हिरादेवी चौधरीले बताइन् ।

बेलुका तुलसीले आफू घरमै बस्ने भनेपछि तुलसीका बुवा रमेश बुढाले उमालाई उनको घर छोड्न भनी लगेको र हालसम्म सम्पर्क नरहेको उनकी भाउजु हिरादेवीले जानकारी दिइन् । उनको खोज कार्य तथा कानूनी प्रक्रियामै समय बितिरहेको बताउँदै हिरा देवीले हालसम्म उनको अवस्थावारे जानकारी पाउन नसकेको दुखेसो सुनाइन् । खोजी कार्य गरिदिन आज जिल्ला प्रहरी कार्यालय कैलालीमा बालिकाका आफन्तहरू उजुरी दिन पुगेका थिए । तर, प्रहरीले उजुरी दर्ता गर्न नमानेको पीडित परिवारले बताएका छन् ।

यसैबीच, प्रहरीले तुलसी बुढाका बुवा रमेशलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । उनलाई हिजो नै प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

आफूहरूको अनुसन्धान कार्य जारी रहेको बताउँदै प्रहरी उपरीक्षक घिमिरेले घटनाको प्रकृति अनुसार मुद्दा चलाइने बताए । बेपत्ता रहेकी उमा धनगढी उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत छिन् ।

Leave a Reply

Your email address will not be published.