लगनलाल चौधरीः मेयरदेखि विधायकसम्मको यात्रा

थारुवान।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उम्मेदवारको रुपमा २०४९ को स्थानीय निकाय निर्वाचनमा लहानको मेयर लड्दा लगनलाल चौधरीको चुनाव चिन्ह थियो– हलो । देशभर राप्रपाको लहर नभएपनि उनले चुनाव जिते ।

पञ्चायतमा लगातार दुई कार्यकाल लहान नगर हाँकिसकेको उनले ०४९ को चुनाव जितेर ह्याट्रिक गरे । जनताको काम गरेर लोकप्रिय नभएका भए उनले पञ्चायत ढलेलगत्तैको चुनाव जित्ने थिएनन् । उनले विकासको सन्दर्भमा आफूलाई एउटा राजनीतिक ‘ब्राण्ड’को रुपमा स्थापित गरे– ‘मेयर साब’को रुपमा ।

चुनावमा २० वर्षपछि लहान नगरपालिकामा लगनलाल चौधरीको पुनः प्रवेश भयो । तर, यसपटक चुनावी परिणाम उनको विपक्षमा आयो । उनी चुनाव उठेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी चिरा परिसकेकाले जनआधार खस्किसकेको थियो । कारण उनी लोकप्रिय हुँदा पनि पार्टीको कमजोर सांगठनिक संरचनाका कारण पराजय बेहोर्नुपर्यो ।

यो पराजयलाई शतिmमा बदल्दै उनी प्रदेश सभा सदस्यमा उठ्ने आँट गरे । जसका लागि उनलाई राप्रपाबाटै पनि टिकट सुरक्षित थियो । तर, उनी पार्टी परिवर्तन गरेर चुनाव उठ्ने निधो गरे । कारण बलियो सांगठनिक संरचना बेगर चुनाव जित्न सम्भव थिएन । आर्थिक रुपमा अन्य उम्मेदवारभन्दा कमजोर उनले मजबुत संगठन भएको पार्टीबाट चुनाव लड्ने सोच बनाए ।

एमालेले उनलाई सिरहा क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यमा टिकट दिने बचन दिँदै पार्टीमा भित्र्यायो । यस क्षेत्रमा एमालेको मजबुत संगठन छँदै थियो, आवश्यकता थियो लोकप्रिय चेहराको । त्यो लोकप्रिय चेहराको रुपमा लगनलाल अगाडि आएपछि यस क्षेत्रमा उनको जित लगभग सुनिश्चितजस्तै भयो । तर, उनी प्रवेश गरेको दल एमालेले मधेसविरोधी आरोप खेपिरहेको थियो । यसबीच मधेस आन्दोलनको उद्गमस्थल लहान समेटिएको सिरहा क्षेत्र नम्बर १ (क) बाट जित निकाल्नु उनका लागि कम्ता गाह्रो थिएन । चुनौती खेप्दै उनले विजयीको माला पहिरिए । उनी नगर क्षेत्र डेउढीको खानदानी व्यक्ति भएपनि व्यवहारमा कहिल्यै त्यसको प्रभाव देखएनन् । लहान र आसपासका जनतामा विकासवादी भिजन भएको नेताको छबि बनाएकाले पनि आफू जितेको उनी बताउँछन् ।

मेयर हुँदा उनले लहानमा उच्च शिक्षाको जग बसाले । कालोपत्रेको रेखा कोरे । बारुण यन्त्र जोडे । नगरमा पानी निकासी नालाको निर्माणजस्ता थुप्रै काम गरे । दीनदुःखीको सहयोगमा जुटिरहे । जेएस मुरारका क्याम्पसका लागि १५ बिघा जग्गा खरिद गरेर उच्च शिक्षाको आधार तयार पारे ।

‘चौथोपटक लहानको मेयर हाँक्ने लालसा थियो, तर मेयरमा परिणाम मेरो विपक्षमा अयो । लगत्तै भएको प्रदेशसभा चुनावको परिणाम भने मेरो पक्षमा आयो । यसले मलाई उत्साही बनाएको छ । जनताको पक्षमा अझै राम्रो काम गर्ने सोँच बनाएको छु,’ उनी भन्छन् ।

Leave a Reply

Your email address will not be published.