शहीद जोखन रत्गैँया चौधरी स्मृति प्रतिष्ठान घोषणा

शहीद जोखन रत्गैँयाको १६ औं स्मृति दिवसमा ‘शहीद जोखन रत्गैँया चौधरी स्मृति प्रतिष्ठान’ घोषणा भएको छ। थारु राष्ट्रिय मुक्तिमोर्चा नेपालले मंगलबार १६औं स्मृति दिवसमा सो प्रतिष्ठान घोषणा गरेको हो।

स्मृति दिवसको अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. ७ का मुख्य मन्त्री त्रिलोचन भट्टले जनयुद्धको क्रममा रगतको बलिदानी दिने महान शहीदको योगदानले देश नयाँ संरचनामा अगाडि बढेको बताए। उनले नेपालमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना हुनु शहीदहरुको संघर्ष रहेको बताए।

मन्त्री भट्टले प्रदेश नं. ७ मा थारु बाहुल क्षेत्र रहेको कैलाली जिल्लाको सम्बृद्धि विकासको लागि थारु समुदायलाई राज्यको मूलधारमा ल्याउन जरुरी रहेको बताए। उनले शहीद परिवारको व्यवस्थापनसँगै थारु समुदायको समस्यालाई सम्बोधन गरेमात्र शहीद जोखन चौधरीले दिएको योगदानको कदर हुने बताए।

शहीदहरुको त्याग र तपस्याले आफूहरु पदमा पुगेको बताउँदै सरकार, पार्टी पंक्ति र जनप्रतिनिधिहरुले शहीद परिवारहरुलाई व्यवस्थापन गर्न योजना बनाएर अगाडि बढ्नुपर्ने बताए।

कार्यक्रममा भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्री विनिता चौधरीले तीनै तहको सरकारले शहीदहरुको बलिदानीको कदर गर्नुपर्ने बताउँदै उहाँहरुको योगदानले आफू सरकारमा आएको बताइन्। उनले शहीदको विचल्लीप्रति पार्टी पंक्ति सरकार सबै बेवास्ता गर्दै हिँडेको बताउँदै अबको दिनमा उहाँहरुको व्यवस्थापन गर्न आफू प्रतिबद्ध रहेको बताइन्। उनले शहीदहरुको बलिदानीलाई हरेक पाइलामा सम्मान गरिनुपर्ने बताइन् ।

त्यसैगरी सामाजिक तथा विकासमन्त्री दिर्घ सोडारीले शहीद जोखन रत्गैँयाले उठाएको माग मुद्दाको आन्दोलन पूरा भएको बताए। उनले हिजोको विचारलाई व्यवस्थित गर्दै सबै जातजाति, भाषा, कला संस्कृतिको सम्मान गरे शहीदहरुको सपना पूरा हुने बताए।

उनले कैलाली जिल्लामा राज्य पक्षबाट होस् या विद्रोही पक्षबाट दुवै पक्षका मुख्य-मुख्य थारु नेताले शहादत प्राप्त गरेको बताए। उनले थारु नेता विनोद चौधरी, जगत रत्गैँया, मंगल चौधरीलगायतलाई सम्झदै प्रदेश नं. ७ मा थारु डेक्सको व्यवस्था गर्न सके उहाँहरुको रगतको सम्मान भएको महसुस गर्न सकिने बताए ।

कार्यक्रममा जाेखन रत्गैँयाका आमा सुखली देबी डगौरा, प्रदेश ७ का सांसद, जनप्रतिनिधि, थारु अगुवाहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published.