थारु पत्रकार संघ चितवनको वार्षिक कार्ययोजना निर्माण कार्यशाला सम्पन्न

थारु पत्रकार संघ चितवन शाखाको वार्षिक कार्ययोजना निर्माण कार्यशाला आज रत्ननगरस्थित रेडियो चितवनको बैठक कक्षमा सम्पन्न भएको छ । वार्षिक कार्ययोजनामा पत्रकारिता तालिम तथा निबन्ध लेखन प्रतियोगिता, कथा लेखन तालिम तथा प्रतियोगिता, उदघोषण तालिम तथा वक्तृत्वकला प्रतियोगिता, समय सान्दर्भिक बहस कार्यक्रम, थारु कलासंस्कृति संरक्षण तथा खोजमूलक कार्यक्रम साथै बुलेटिन प्रकाशनमा जोड दिदैं अन्य थुप्रै कार्यक्रम गर्ने योजना तय गरिएको छ ।

कार्यशालाको उदघाटन समारोहमा प्रमुख अतिथिका रुपमा आमन्त्रित थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीले दुई संस्थाबीच हातेमालो गरी सहकार्य गर्ने बताएका छन् । थाकस चितवन पनि योजना तर्जुमाकै संघारमा भएकोले उनले केही कार्यक्रमहरु संयुक्त रुपमा आयोजना गर्नका लागि थारु पत्रकार संघलाई आह्वान गरेका छन् ।

उदघाटन समारोहमा फोनिज चितवनबाट प्रतिनिधित्व गरी केन्द्रीय महाधिवेशनमा निर्वाचित भएका पत्रकार राजु चौधरीलाई सम्मान गरिएको छ । पत्रकार राजु चौधरी थारु पत्रकार संघको प्रदेश नं. ३ का इन्चार्ज एवम् चितवन जिल्ला सल्लाहकार पनि हुन् ।

उदघाटन सत्रमा सल्लाहकारहरु चन्द्राकुमारी चौधरी, दिपेश चौधरी, शरद कुमार चौधरी, राजु चौधरीले मन्तव्य व्यक्त गरेका छन् । कार्यक्रम थारु पत्रकार संघ चितवन शाखाका अध्यक्ष कारी महतोको सभाध्यक्षतामा सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published.