हौवा, लौवा, जौवा [समृति]

कृष्णराज सर्वहारी।
चैतको उखरमाउलो गर्मी। काठमाडौंबाट गुडेको गाडीले कोहलपुर चोकमा ओरालिदिएपछि ज्यान गर्मीले पाक्न थाल्यो। जानुपर्ने गन्तव्य बर्दियाको बाँसगढी। कोहलपुर चोकमा निकै बेरको पर्खाइपछि बाँसगढीका लागि लोकल जिप आइपुग्यो।
बाँसगढी बजारस्थित रेडियो गुर्वावा एफएममा छिरेँ। ‘प्रसारण अफ’ समय भएर हो कि कार्यालय सुनसान थियो। केही बेरमा प्राविधिक लक्ष्मणदास पछलडंग्या र स्टेसन म्यानेजर पुष्पा चौधरी आइपुगे। आफू थारू लोककथाको खोजीमा आएको बताएपछि पुष्पाले भनिन्, ‘यहाँबाट दुई किमी पूर्व दक्षिण हाउपुर गाउँमा लौवा थारूले रेडियोमा लोककथा सुनाउँछु भनेर खबर पठाएका थिए तर बेफुर्सदीले हामी जान सकेका छैनौं। तपाईं ठीक समयमा आउनुभएको छ। पहिला त्यतै जाने कि ? ’
पुष्पाको जानकारीले के खोज्छस् कानो आँखोझैं भयो। रेडियो गुर्वावाका कार्यालय सहायक रामकृष्ण चौधरीले साइकलको व्यवस्था गरिदिए र गाउँ घुमाउन आफ्नो भाइलाई पनि साथ लगाइदिए। गर्मीले त्यसै पनि हप्हपी थियो। त्यसमाथि साइकलमा डबल सवारी, मलाई एक मन साइकल हाँक्ने भाइमाथि दया लाग्यो। हौवा थारूले यो बस्ती बसालेकाले उनकै नामबाट गाउँको नाम हाउपुर भएको रहेछ। विद्युत् प्राधिकरणमा काम गर्ने परशु चौधरीको छिमेकी रहेका कथावाचक लौवाको घर खोज्न हामीले पहिले परशुको घर सोध्यौं। बर्का टोलमा पसेका हामी उनको घर दैलेखी टोलमा रहेको थाहा पाएपछि फेरि आएकै बाटो फर्कियौं। परशुको घर पत्ता लाग्यो। त्यही घर छेउमा एक बूढा व्यक्ति लामो डोरी तन्काएर, डोरी चिल्लो, नरम बनाउन घाममा उभिएर बुढ्यौली पाखुरा अँठ्याउँदै थिए। मैले थारू भाषामै सोधेँ, ‘लौवा थारूक् घर इहे हो ? ’
उनले जवाफ दिए, ‘को लौवा ? ’
परशुले हामीलाई कथा सुन्न पठाएको भनेपछि तिनी खिसिक्क हाँसे अनि कथा वाचन गर्ने पात्र आफू नै भएको जनाउँदै उनले भने, ‘मने मोर नाउँ टो लौवा नाही, जौवा हो।’

हामीले उनको नाम गलत भनेकोमा तुरुन्त माफी माग्यो। तिनले आफ्नो नाम जौवा भन्दा न्वारनमा मेरो सहोदर दाइ ऋषिराज चौधरीको नाम पनि जौवा रहेको स्मरण भयो। पाँच दशकपहिले दाइ जन्मिँदा हाम्रो घरमा भोकमरी थियो। खानलाई एक गेडा चामल थिएन। थारू समुदायमा नवजात शिशुलाई चामलमाथि सुताउँछन् तर चामल नहुँदा दाइलाई जौमाथि सुताइयो र न्वारनको नाउँ भयो, जौवा। स्कुल पढ्न थाल्दा उहाँको नाम फेरियो। तर, यी बूढा जौवाको नाउँको कहानी के रहेछ, मैले त्यो भने कोट्याइनँ।

जौवाले धाराप्रवाह ढंगले कथा वाचन थाले। कथा सुन्न गाउँका केटाकेटी, छिमेकी ओइरिए। बूढाले कथा सुनाउन थालेको थाहा पाएपछि जौवाकी श्रीमती पनि कान थाप्न आइपुगिन्। जौवाको कथा भन्ने शैली चाखलाग्दो थियो। सुरुमा उनले ‘धर्मी राजा’ नामक कथा सुनाए। ‘पशुसँग हुर्कने राजकुमार’ अनि अन्तमा बोक्सीसँग सम्बन्धित अर्को कथा। उनले अरू कथा पनि सुनाउँदा हुन्। तर, उनकी श्रीमतीले काममा बियाँलो देखेर छेकिन्, ‘अब पुग्यो होला। अरूसँग पनि लिनुहुन्छ होला नि।’ जौवाले पनि मेरो काम छ भन्दै कथा भन्न आनकानी गरे। त्यसपछि मैले पनि अन्य कुरा गर्नमै कल्याण ठानेँ।

पूर्वमा बाँकेको खैरी खोला तथा पश्चिम कर्णाली चिसापानी पुलसम्म मात्र जौवाको ६७ वर्षे घुमाइ रहेछ अझसम्म। उनी देशौरी लवज बोल्दा रहेछन् जसलाई बाँके, बर्दियाको पुरानो थारू बासिन्दा मानिन्छ। दाङबाट गएका डंगौरा थारूलाई त्यहाँ पछिबाट आएको मानिन्छ। तर, अचम्म उनले आफूहरू दाङबाटै बसाइँ सरेर आएको जानकारी दिए। छिमेकीहरू देशौरी हुँदा डंगौरा भाषा सट्टा देशौरीमै रमाउन थालेको उनले जनाए। त्यसो त बोलीमा मात्रै होइन, डंगौरा र देशौरी थारूहरूको पहिरनसमेत फरक छ। जौवालाई धन्यवाद दिँदै मैले कुनै दिन मिझ्नीको व्यवस्थासहित रात बस्न तपाईंको घरमा आऊँला र भएभरको कथा सुनौंला भनेँ। उनले मीठो हाँसोमा साथ दिए, ‘ओहो मिझ्नी (बिजुली पानी)को कुरा गरेर, मेरो मनकै कुरा छिन्नु भो। ल ल हजुरलाई जुन दिन पनि मेरो घरमा स्वागत छ।’

महेन्द्र राजमार्गको उत्तरतिर साइकल सोझ्याए सहकर्मी भाइले। लक्ष्मणपुर गाउँ छिचोल्दै हामी मदहा गाउँ आइपुगेका थियौं। मदहा गाउँमा अवस्थित पञ्चायत रजत जयन्ती प्राविको साइनबोर्डले ध्यानाकर्षण गर्यों। पञ्चायती व्यवस्थाको पतनपछि धेरै कुरा फेरिए तर यो विद्यालयको नाम किन नफेरिएको होला ? यस्तै सोच्दै विद्यालयको नामले एक मन हाँसो पनि उठ्यो।

गाउँको चोकमा एक हूल युवा थिए। हामीले तिनीहरूसँग बरघर (गाउँको अगुवा)को घर सोध्यौं तर बरघरको घर बताउनुसट्टा तिनीहरूले हाम्रो घर र आउनु उद्देश्य पो केरकार शैलीमा सोध्न थाले। धेरै मद (रक्सी) पिउनेलाई थारू भाषामा मदहा भनिन्छ। मदहा गाउँका ती युवकहरूको व्यवहार साँच्चिकै मदहाझैं थियो। त्यही बेला आकाशबाट अचानक पानी यति जोडले दर्कियो कि छेउको घुम्ती पसलमा हामी ओत लाग्न बाध्य भयौं। पानी दर्किएर युवा पनि तितरबितर भए, मन भित्रीबाहिरी दुवै तहले शीतल भयौं।

हामी ओत लाग्न पुगेको पसले अधबैंसे थिए। मैले मदहा गाउँको कहानी सोध्दा पसले विपतराम चौधरीले रोचक प्रसंग निकाले। निकै समयपहिले गाउँमा एक चोर पसेको थियो। गाउँलेले थाहा पाएपछि लखेट्न थाले। चोर पक्राउ पनि पर्योे र पक्राउ परेको ठाउँमा नै उसलाई के गर्ने भनेर बैठक बस्यो। गाउँभरिका गरढुरिया (घरमूली) बैठकमा अनिवार्य जानुपर्ने भयो। गाउँकी एक महिलाको श्रीमान बाहिर गएकाले बैठकमा जानुपर्ने भएछ। तिनी मद (रक्सी) बनाउने तरखरमा थिइन्। समयमा रक्सी नपारे कच्चा सामग्री बिग्रिने अवस्थामा थियो। त्यसैले उनले जुक्ति लगाइन्, बैठकस्थलमै मद (रक्सी) बनाउने र बैठकमा भाग पनि लिने। त्यसै बेलादेखि यो गाउँको नाम मदहा पर्न गयो रे।

दायाँ गालामा निकैै ठूलो डल्लो बोकेका एक बूढा व्यक्ति थिए पसलमा, जो आफ्नो गालाको डल्लो गम्छाले लुकाउने घरिघरि असफल प्रयास गर्थे। तिनले पसलेसँग कैलालीको भजनीमा भगवान् निस्केकोबारे कुरा गर्न थालेछन्। पसले आफू पनि ती कथित थारू युवा जो ६-७ महिनादेखि भगवान्को रूपमा पुजिँदै छन्, को दर्शन गरेर आएका रहेछन्। सुर्ती किन्न आउने एक युवकले भोलि आफूहरूको टोली बस रिजर्व गरेर भगवान् हेर्न जाने बतायो। पसलेले भने, ‘मैले त देखिनँ तर धेरैले भनेको सुनेँ, त्यो भगवान्को घर वरिपरि भएको रूखको प्रत्येक पातमा शिव पार्वती देखिन्छन् रे।’ मलाई ती कथित भगवान्को कथा सुन्नुभन्दा पनि लोककथा सुन्नु थियो। पसलेले जानकारी दिए, ‘तपाईंहरू आएकै बाटो फर्किनुस्, पहिलो मोडमा नयाँ कुटी बनेको छ, त्यहाँ एक साधु बस्छन्। तिनले हजुरहरूको इच्छा पूरा गर्नेछन्।’

पानी परेर दाइँ गरेको गहुँ ठाँटबाँट लगाएर आएका साधु भिजेको मुसाझंै डल्लो परेर बसेका थिए। निकै बेरको आग्रहपछि तिनले कथा सुनाउन थाले। तर, तिनले सुदामा र कृष्ण मीत भएको कथा तथा अर्को अकबर र वीरबलको खिचडीको कथा सुनाए, जो धेरै पत्रपत्रिकामा मैले पहिल्यै पढिसकेको, सुनिसकेको कथा थियो। थारू लोककथा सुन्न आतुर मलाई ती कथाप्रति चासो थिएन, तैपनि धैर्य गरेर सुनेँ।

सहकर्मी भाइले गाउँका एक अन्धा युवकसँग पनि कथाको भण्डार भएको जानकारी दिएपछि साइकलको हेन्डिल त्यतै मोडियो। २३ वर्षे यी युवा कक्षा २ मा पढ्दापढ्दै आँखा पाकेर बिग्रिएपछि दृष्टिविहीन भएका रहेछन्। त्यसपछि दुःखैदुःखको भुमरीमा परेका यी युवाको नाम भने सुखराम चौधरी रहेछ। यिनले रेडियो गुर्वावामा प्रत्येक बुधबार साँझ थारू भाषामा फुलरिया कार्यक्रम अर्को सहकर्मीका साथ चलाउँदा रहेछन्, जसमा लोककथा नियमित वाचन गरिँदो रहेछ। उनले भने, ‘अझैसम्म सानोमा बाबाले सुनाएका कथा सम्झिएर पस्किरहेको छु। अब त बा कथा सुनाउनुस् भन्दा पनि लाज लाग्छ।’

हामीले कथा सुनाउन भन्दा उनी त साँच्चिकै तरुनीझैं धेरै बेरसम्म लजाए। ‘सर त्यति टाढा काठमाडौंबाट आउनुभएको छ, भन्दे न त एउटा कथा’, सुखरामका बाबा रतानुले भने। पछि उनले बाल मनोविज्ञानसम्बन्धी एउटा लामै कथा सुनाए। उनको कथा सुन्दासुन्दै झमक्कै साँझ पर्योक। र, हामी बास बस्ने गन्तव्यमा लाग्यौं। कुनै कथावाचकको घर रात बस्ने साइत जुराउन सकिएन, होइन भने धेरै लोककथा बटुलिँदो हो। त्यसपछि बर्दियाका धेरै गाउँमा साता दिन चक्कर लगाउँदा पनि जौवा थारू, सुखराम चौधरीजस्तो कथा वाचक फेला परेनन्। कथाको खोजीले अझ गहिराइ पाउने थियो होला तर द्वन्द्वपीडित समितिको अनिश्चितकालीन बर्दिया बन्दको घोषणाले यात्रा थाती राख्नुपर्योि।
२०६५ सालमा गरिएको यो यात्राबाट फर्किंदा म घोरिएँ। लोककथा संकलन गर्ने क्रममा सुनेभोगेका प्रसंग दस्तावेजीकरण गरिए यी पनि कुनै दिन लोककथाझैं महत्व बोक्ने हुन सक्छन् कि ?

Leave a Reply

Your email address will not be published.