पक्राउ परेकी गाउँपालिका उपप्रमुख उषा चौधरी रिहा

स्थानीयलाई प्रहरी कार्यालय तोडफोड र आगजनीका लागि उक्साएको आरोपमा पक्राउ परेकी पर्सास्थित जिराभवानी गाउँपालिकाकी उपप्रमुख उषा चौधरी रिहा भएकी छन् । प्रहरीले चौधरीलाई सोमबार बिहान पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय पर्सामा सार्वजनिक अपराध मुद्धा दर्ता गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार अबेर साँझ चौधरीलाई रिहा गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले अनुसन्धानको दायराभित्र रहने गरी उपप्रमुख चौधरीलाई रिहा गरिएको जानकारी दिए । उनले निर्णयको बारेमा थप कुरा खुलाउन चाहेनन् ।

स्रोतका अनुसार प्रशासनले उपप्रमुख चौधरीलाई हाजिरी जमानीमा छोडेको छ । उनी जननिर्वाचित प्रतिनीधि भएको कारण हिरासतमा नराख्ने तर मुद्धा चलाउने निर्णयमा प्रशासन पुगेपछि उनलाई हाजिरी जमानीमा छोडिएको हो । हाजिरी जमानीमा छुटेका व्यक्ति अनुसन्धान गर्ने निकायले बोलाएको समय प्रशासनमा उपस्थित हुनुपर्छ । चौधरीसँगै पक्राउ परेका अन्य ६ जनालाई भने प्रशासनले हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

स्थानीयलाई उक्साएर रातभर प्रहरी कार्यालयमा तनाव सृजना गरेकी उपप्रमुख चौधरीलाई प्रहरीले छिमेकी शुभ नारायण पटेलको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो ।
-सुरेश बिडारी/वीरगञ्ज

Leave a Reply

Your email address will not be published.