दलित युवती र थारू युवकबीच लगनगाँठाे

केही वर्ष पहिलेसम्म दलित र गैरदलित समुदायबीच हुँदै आएको प्रेम विवाह समेत बहिष्कृत हुँदै आएको थियो । तर संबिधान र कानुनले दलितहरुलाई पनि समान अधिकार प्रदान गरेसँगै अब समाजमा निर्धक्कसँगले मागी विवाह पनि सम्पन्न हुन थालेका छन् ।

२२ वैशाखमा झापाको दमकमा एउटा यस्तै उदाहरणीय विवाह सम्पन्न भएको छ । दमक नगरपालिका ३ की दलित समुदायकी २६ वर्षीया बेहुली लिजा सिलवाल (बिश्वकर्मा) सँग चितवन नारायणगढ महानगरपालिकाका ९ का २८ वर्षीय चौधरी समुदायका बेहुला यादव महताेले झ्याँई झ्याईँ बाजा बजाएर हिन्दु बिधि अनुसार मागी विवाह गरेका छन् । बैदेशिक रोजगारीको सिलसिलमा दुबईमा भेट भएका दुवै जनाबीच प्रेम बसेको थियो । बिदेशमा हुँदा बसेको प्रेमलाई उनीहरुले नेपाल फर्केर विवाहमा परिणत गरेका हुन् ।

शनिबार चितवनको नारायणघाटबाट बाजागाजासहित बेहुला पक्षले जन्ती लिएर आएका थिए । बेहुली पक्षले पनि जन्तीको हार्दिक स्वागत गर्दै हिन्दु बिधि अनुसार कन्यादान गरि छोरीलाई बेहुलालाई जिम्मा दिएर पठाएका थिए । नारायणबाट माईक्रो बसमा १५ जना जन्ती र अभिभावकका साथ आएका बेहुला यादवले जग्गेमा ३ फेरी लाउँदै बेहुली लिजालाई सिन्दुर उपहार दिएका थिए ।

नेपालको संबिधान २०७२ को धारा ४० अनुसार समाजमा कसैले कसैलाई जातिय छुवाछुत र बिभेद गर्न पाईँदैन । जातिय बिभेद तथा छुवाछुत कसुर सजाय ऐन २०६४ अनुसार बिभेद र छुवाछुत गरेमा १ महिनादेखि ३ बर्ष कैद, १ हजार देखि पच्चीस हजार रुपैयाँ जरीवाना अथवा दुबै सजाय हुनसक्ने उल्लेख छ । उक्त्त कानुनले पीडितलाई दोषीबाट १ लाख रुपैयाँसम्म क्षतिपूर्ति भराउने व्यवस्था पनि गरेको छ ।

संबिधान र कानुनमा समानता आएपनि अझै नेपाली समाजमा दलित र गैरदलितबीच मागी विवाह सहज रुपमा हुन नसकिरहेको अबस्थामा यादब र लिजाको विवाह उदाहरणी भएको अधिकारकर्मी अमर बराइलीले बताए । उनले भने, – ‘संबिधान र कानुनमा आएको समानतालाई यादव र लिजा अनि उनीहरुको घर परिवारले जस्तै व्यवहारमा कार्यान्वयन गरेर देखाउन आवश्यक छ ।’

-गणेश लम्साल /नयाँ पत्रिका

Leave a Reply

Your email address will not be published.