‘एक्सन अफ जेल’ लिएर आउँदै लक्ष्मण थारु

लखन चौधरी/कैलाली।

जेलको चार दिवारमा बन्द भएपछि अधिकांश गुमनाम हुन्छन् । सजाय भुक्तानको अन्तिम दिन गन्ती गरेर बस्छन् । तर कोहि यस्ता हुन्छन्, जसको लागि त्यहि चार दिवार उर्वर पाठशाला बन्दो रहेछ । भौतिक शरीर कैद भएपनि संसारको चित्रण गर्न थाल्छन् । र, शब्दमा उतार्न सुरु गर्छन् ।

उनै मध्येका एक हुन् थरुहट आन्दोलनका मसिहा, लक्ष्मण थारु । जो २८ महिनादेखि कैलाली कारागारमा पुर्पक्षको लागि थुनामा छन् । कारागार बसाईको चार महिनाको अवधीमै ‘युद्ध, सेक्स र जेल’ नामक पुस्तक लेखेका उनी फेरी अर्को पुस्तक ‘एक्सन अफ जेल’ लेखेका छन् । एक वर्षको लेखाईपछि उनको यो पुस्तक पुसको अन्तिम साता बजारमा आउने भएको छ ।

एक सय ६० पृष्ठ रहेको पुस्तकमा उनले जेलभित्रको वस्तुस्थिति, कैदीबन्दीहरुको लवाईखवाई, टीकापुर घटना र थरुहट आन्दोलनको नालीबेली, देशको राजनीतिक अवस्थालाई चित्रण गरेका छन् ।
त्यस्तै उनी हालै सम्पन्न आमनिर्वाचनमा प्रतिनिधि सभा सदस्यको लागि कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका थिए । छ हजार सात सय ४७ मतसहित सम्मानजनक हार बेहोरेका उनी जेलभित्रबाटै चुनाव लड्दाको अवस्थालाई पनि चित्रण गरेका छन् ।

उनी भन्छन्–‘उक्त घटना घटेको बेला म जिल्ला वाहिरै रहेपनि म लगायतलाई दुई वर्षसम्म पुर्पक्षकै लागि थुनामा राखिएको छ । मेरो शरीर कैद गरिएको छ । तर मेरो विचार दुनियाँको कुनै तागतले कैद गर्न सक्दैन । त्यहि तागत नै मेरो पुस्तक हो ।’

मुक्तिक डगर डटकम प्रालिको प्रकाशनमा रहेको पुस्तकको सम्पादन जिउगर साहित्यिक समाज कैलाली अध्यक्ष एंव साहित्यकार जीत चौधरी ‘ट्रासन’को रहेको छ । जेलभित्र रहने सबै अपराधी मात्रै हुन्छन् भन्ने आम बुझाईलाई पुस्तकमार्फत लेखकले चिर्न खोजेको उनको भनाई छ । निर्अपराधी, निमुखा पनि जेलभित्र हुन्छन् । कैदीबन्दीहरुको पनि मानवअधिकार हुन्छ, त्यहि अनुसार व्यवहार गरिनु पर्छ भन्ने पुस्तकको मूल सारभाव रहेको जीत ट्रासन बताउँछन् ।

अध्ययन र लेखनमा औधी रुची राख्ने थारुको दैनिक तीन घण्टा अध्ययन र एक घण्टा लेखान कार्य दैनिकी हो । बाँकी समय सुभेच्छुकहरु संग भेटघाट, कैदीबन्दीबीच छलफल, बहसमा बित्ने गरेको उनी बताउँछन् । बजारमा आउने तयारीमा रहेको पुस्तकको समिक्षा तथा पाठकको प्रतिक्रियाको आधारमा अर्को पुस्तकको तयारीमा जुट्ने उनको योजना छ ।

वि.स. २०३२ सालमा धनगढी उपमहानगरपालिका–१९ (साविक फूलवारी गाविस–१ फूलवारीमा जन्मेका थारु २०४७ सालदेखि राजनीतिक गतिविधिमा सक्रिय भए । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्दमा उनी बिग्रेट कमिसार (राजनीतिक आयुक्त) र थारुवान मुक्तिमोर्चाका महासचिव रहेका थिए । विस्तृत शान्ति समझौतापछि विद्रोह गरी थरुहट तराई पार्टी नेपालको स्थापना गरेका उनी मधेसी जनाधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए । जेल बसाईकै क्रममा फोरम लोकतान्त्रिकबाट राजिनामा दिएका थारु सम्पन्न आम निर्वाचनमा भने राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए ।

वि.स. २०७२ साल भदौ ७ गते सात प्रहरी र एक नाबालकको ज्यान जाने गरी घटेको टीकापुर घटनाको अभियोगमा उनलाई भदौ २३ गते भैरहवाबाट गिरफ्तार गरी कर्तव्य ज्यानलगायत मुद्धामा पुर्पपक्षको लागि कारागार चलान गरियो ।

Leave a Reply

Your email address will not be published.