पूर्वी नेपालको विकट पहाडी क्षेत्रको एउटा काल्पनिक गाउँको कथा हो ‘मसानटार’ । भुतप्रेत आत्माहरुको आतङ्कले गाउँ नै रित्तिन लागेको अनौठो नियति र त्यसको भोगाइहरु नाटकमा देखाइएको छ । तर यस्तो भुतप्रेत आत्माको आतंकमा गाउँमा नै बस्न रुचाउने एउटा आँटिलो युवक रुपकको कथा नाटकमा बुनिएको छ ।
बुवाआमाको मृत्यु पश्चात रुपक शहरबाट गाउँ फर्किन्छ । उसलाई बुवाको गाउँमा स्कुल खोल्ने सपना पुरा गर्नुछ र साथै बुबा आमाबाट टुहुरी बनेकी बहिनीको पनि हेरचाह गर्नुछ । गाउँमा रुपकलाई यी सबै कुरा केही सजिलो हुदैन । गाउँमा मान्छेहरु केहि भएर कुनै दुर्घटना या मृत्यु भोग्नु पर्यो भने सबैले मसान कै दोष दिन्छन् ।
गाउँलेहरुले नाना थरिका मसान, प्रेतआत्मा र भुतको कथा सुनाएर रुपकको मनमा भुतप्रेतको विउ रोप्न खोज्छन् । तर उ भुत प्रेतमा खासै विस्वास गर्दैन ।
गाउँमा अनेकन कुराहरु चल्छन् कहिले धामी हराएर भुतप्रेतहरु चल्बलाउन थालेको त कहिले गाउँलेले रुपक भीरबाट खस्दा उसले भुत देखेको । यीनै अन्धबिश्वासको मिश्रण हो नाटक मसानघर । एउटा धामीले कसरी गाउँलेको मनमा भुतको भान गराएको छ र कसरी उनीहरको विश्वास माथि कव्जा गर्छ भन्ने कुरा नाटकमा देखाउन खोजिएको छ ।
यो गाउँ विकट हो तर मसानटार होइन । यहाँ सेवा सुविधा नपुगेर गाउँका मान्छेहरु बाहिरीएका हुन । यहाँ भिरबाट खसेर लड्यो भने मसानलाई दोष दिइन्छ । औषधि खान नपाएर झाडा पखाला लागेर मृत्यु भने पनि मसानलाई दोष दिइन्छ । अब हामीलाई हाम्रो विस्वास परिवर्तनको खाँचो छ । विकासको खाँचो छ । यीनै कुराहरुलाई नाटकमा देखाउन खोजिएको छ ।
मसानटार अन्धविस्वास र आधुनिक सोच विचको लडाई भएको बताउँछन् निर्देशक प्रदिप कुमार चौधरी । उनी भन्छन्, ‘यो यथास्थीतीवादी र प्रगतिवादी विचको द्धन्द हो’ । नाटकको पात्र र घटनाहरु विम्बात्मक प्रयोग मात्र भएको निर्देशक चौधरीले बताए । मसानटार मेरो देशको वर्तमान प्रतिविम्ब हो,’ उनले भने ।
किरण श्रेष्ठ, सुदिप खतिवडा, प्रत्रिका धिमीरे, आयान खड्का, कविता धौबडेल, मिलन कार्की, बिक्रम श्रेष्ठ, सागर दाहाल, सन्देश शाक्य, कुन्दन चौधरी र पुष्कर जंग कार्कीको अभिनय रहेको नाटकको लेखन तथा निर्देशन प्रदिप कुमार चौधरीले गरेका हुन ।
नाटक यही मंसीर २४ गतेबाट मण्डला थिएटरमा मञ्चन हुँदैछ ।