मिस एन्ड मिस्टर थारूका सपना

कृष्णराज सर्वहारी।काठमाडौं।

मीनभवनको एक होस्टेलमा बस्दै आएकी यकिना चौधरी मिस थारू प्रतियोगिताको अडिसनमा छानिएपछि निकै खुसी छिन् । बीबीएस चौथो वर्षमा पढिरहेकी उनी अभिभावकलाई यसबारे जानकारी दिएकी छैनन् । कैलाली टीकापुरकी उनी भन्छिन्, ‘अडिसनमा छानिएपछि अब भने बाबाआमालाई खबर गर्नै पर्ला ।’
अडिसनमा छानिएपछि तालिमलगायत खर्चको लागि आयोजकलाई १० हजार बुझाउनुपर्ने हुन्छ । त्यसैले यकिना पैसाको लागि पनि अभिभावकलाई भन्ने सुरसार गर्दैछिन् । आफ्नो खुसीमा अभिभावकहरू खुसी नै हुने उनको बुझाइ छ । ल्याबोरेटरी स्कुल, कीर्तिपुरमा प्लस टु पढ्दै आएकी पार्वती चौधरी पनि मिस थारूको अडिसनमा छानिएकी छिन् । कैलाली, धनगढीकी उनी नेपाली कांग्रेसका सभासद् बुद्धिसागर चौधरीकी भतिजी हुन् । भन्छिन्, ‘नेताहरूले देशको नेतृत्व गर्छन् । तर त्यसले समग्र क्षेत्रलाई समेट्दैन । युवा वर्गलाई समेट्न हामीले पनि नेतृत्व क्षमता अगाडि बढाउनुपर्ने हुन्छ । त्यही सिकाइको लागि भए पनि मिस थारूको अडिसनमा भाग लिएकी हुँ ।’
उता यकिनाको तर्क केही फरक छ । भन्छिन्, ‘म पश्चिमको केटी, पूर्वी क्षेत्रमा आफ्नै थारू समुदायसँग घुलमिल भएकी छैन । त्यसैले जानेको कुरा बताउने र नजानेका कुरा सिक्ने उद्देश्यले मिस थारूको अडिसनमा भाग लिएकी हुँ ।’
बीबीएस चौथो वर्षमा अध्ययनरत उदयपुर, गाईघाटकी सविता चौधरी जिल्लामा हुने थारू सांस्कृतिक कार्यक्रममा आक्कलझुक्कल भाग लिएकी छिन् । तर पढाइको सिलसिलामा काठमाडौंमै बढी केन्द्रित भएपछि थारू समुदायबारे आफूलाई धेरै कुरा थाहा नभएको उनको भनाइ छ । भन्छिन्, ‘मिस थारूको अडिसनमा छानिएपछि गर्व महसुस भएको छ । फाइनलसम्म छानिन निकै मेहनत गर्नेछु । मूल कुरा आफ्नो समुदायबारे धेरैभन्दा धेरै जानकारी राख्न प्रयास गर्नेछु ।’

थारू भेषभूषाको प्रवर्द्धन

शुभम चौधरी आईएस्सीको अध्ययनसँगै फेसन डिजाइनको कोर्स पनि गर्दैछन् । प्रायः थारू कार्यक्रममा कम्मर मर्काइरहने उनी नृत्यमा सौखिन छन् । शुभमका अनुसार उनी थारू भेषभूषालाई आधुनिक डिजाइनमा प्रवद्र्धन गरेर अघि बढ्न चाहन्छन् । त्यसका लागि मिस एन्ड मिस्टर थारू प्रतियोगिता एउटा गतिलो फोरम भएको उनलाई लागेको छ । काठमाडौं नयाँ बानेश्वरस्थित मसाला कटेजमा २५ कात्तिकमा भएको अडिसनमा सहभागी ५५ मध्ये कुनै सहभागी आफ्नो परम्परागत पोसाकमा थिएनन् । शुभम भन्छन्, ‘परम्परागत पोसाकले आधुनिक युवायुवतीलाई तानेको छैन । त्यसैले फ्युजन चाहिन्छ । अडिसनमा छानिएकाहरूको उनीहरूको पोसाक रुचि नजिकबाट बुझ्ने मौका पाइनेछ । यसलाई मलाई अघि बढ्ने बाटो देखाउने छ ।’

प्लस टु पढिरहेकी रौतहट चन्द्रनिगाहपुरकी युनिशा चौधरी नृत्य भन्नेबित्तिकै हुरुक्क हुन्छिन् । उनले विद्यालय तहको नृत्य प्रतियोगितामा थुप्रै पुरस्कार पनि जितेकी छिन् । भन्छिन्, ‘नृत्यमात्रै जानेर हुँदैन । सबै पक्षको जानकार हुनुपर्छ, त्यसको लागि आत्मविश्वास चाहिन्छ । त्यसैले मिस थारू प्रतियोगिता रोजेकी हुँ ।’ अडिसनमा सहभागी अधिकांशले आत्मविश्वास बढाउन आफू प्रतियोगितामा आएको बताएका थिए ।
नवलपरासीकी प्रमिला चौधरीलाई जितिया पर्वमा हुने झम्टा नृत्यमा सहभागी भएको अनुभव छ । यस्ता नृत्य चाडबाडमा मात्रै सीमित नराखी व्यावसायिक प्रवद्र्धनका लागि बाहै्रमास देखाउन सकिने उनको भनाइ छ । यसले भेषभूषाको पनि प्रवद्र्धन हुन्छ । अडिसनका जजले तपाईंको रोल मोडल को हो भन्दा उनले महात्मा गान्धी भनेकी थिइन् । तर मोडल र आदर्श व्यक्तित्वमा फरक छ नि भन्ने प्रतिप्रश्नमा प्रमिलाले भनिन्, ‘विचार सुन्दर हुनुपर्छ, त्यसलाई अनुहारले फरक पार्दैन । गान्धीको मुहार राम्रो नभए पनि उनी सुन्दर विचारले भरिपूर्ण थिए । उनी मेरा लागि मोडल र आदर्श व्यक्तित्व दुवै हुन् ।’ यस्तो जवाफपछि उनी अडिसनमा छानिइन् ।

पहिचानका खातिर

बीएसडब्लू पढिरहेका सप्तरीका सिजोन चौधरीलाई मिस्टर नेपाललगायत अन्य प्रतियोगिता पनि थियो, तपाईं मिस्टर थारू प्रतियोगितामा नै किन आउनुभयो भन्ने प्रश्नमा भन्छन्, ‘पहिचानको लागि मलाई यही प्रतियोगिता ठीक लाग्यो ।’ थारू एउटा जाति भए पनि स्थानअनुसार विविध संस्कृति भएकाले ती संस्कृतिबारे बृहत् रूपमा जान्न यही प्रतियोगिता ठीक लागेको उनको भनाइ छ ।
उता पोखराका बीआईटी पढिरहेका कञ्चनपुरका आदर्श चौधरी परीक्षा दिएर खाली समयको सदुपयोग गर्न मिस्टर थारू प्रतियोगितामा आएको बताउँछन् । टाइटल जितेमा के गर्ने ? भन्ने सोच त उनले बनाएका छ्रैनन् । तर रोल मोडल भएपछि थारू समुदायलाई हेप्ने प्रवृत्तिबारे बुझाउन ठाउँठाउँमा कार्यक्रम गर्ने बताए । उता युनिशा चौधरी पनि मिस थारूमा छानिए थारूहरूलाई गरिने भेदभावबारे बुझाउन देश दौडाहा गर्ने बताउँछिन् । अहिले नै किन यो अभियानमा न होमिने त ? भन्ने प्रश्नमा उनको सटिक उत्तर छ, ‘अहिले त म केवल विद्यार्थी हुँ । मेरो कुनै पहिचान छैन । मिस थारू छानिए भने एउटै बेग्लै पहिचान बन्छ । तव न मेरो कुरा अरुले पनि ध्यान दिएर सुन्नेछन् ।’

मेडिकल फिल्डमा करियर बनाइरहेको सप्तरीकी रोशनीकुमारी चौधरी मूल करियरसँगै सौखको रूपमा मोडल हुन चाहेको बताउँछिन् । उनले मिस थारू प्रतियोगिता जिते मिस नेपाललगायत अन्य प्रतियोगितामा जान ढोका खुल्ने हुँदा प्रारम्भिक चरणको लागि यसमा भाग लिएको जिकिर गर्छिन् । उनले प्रतियोगिता जिते समुदायमा शैक्षिक जागरणको लागि लाग्ने बताइन् ।
उता बारा, कोल्हवीका सागर चौधरी मिस्टर थारूमा छानिए विदेशमा पढ्न जान प्लस प्वाइन्ट हुन सक्ने ठानेर फर्म भरेको बताए । मिस र मिस्टर थारू प्रतियोगितामा भिड्ने सहभागीहरूको आआफ्नो सपना र रहरहरू छन् । तर बन्द सत्रमा कठिन शारीरिक अभ्यास र अन्य प्रशिक्षणपछि निश्चय पनि तिनीहरू खारिएर आउनेछन् र आफ्नो समाजप्रति उत्तरदायी हुनेछन् । थारू अनलाइन मिडिया र नेक्स्ट इभेन्ट इन्टरनेसनलले आयोजना गर्न लागेको कार्यक्रम निर्देशक सुरेश चौधरीले भने ।
काठमाडौंसँगै कैलाली, नवलपरासी, चितवन र सुनसरीमा मिस एन्ड मिस्टर थारूको अडिसन लिइसकिएको छ । अडिसन राउन्डबाट ३० जना युवा र ३० जना युवती छनोट गरिनेछ । र, चाँडै तालिम सुरु गरी बन्द प्रशिक्षणपछि फाइनल प्रतियोगिता गरिनेछ । उता भौरा र टुटल जिन्गी थारू चलचित्रका निर्माता नन्दुराज चौधरी यस प्रतियोगितामा छानिनेहरू चलचित्रको कलाकारको लागि पनि उपर्युक्त हुन सक्ने बताउँछन् । उनको गुनासो छ, ‘अहिले त थारू चलचित्र बनाउन उम्दा कलाकारको अभाव नै छ ।’

Leave a Reply

Your email address will not be published.