बालोदेवी मोदी (थारू) ६७ वर्षकी भइन् । मोरङको ग्रामीण थारू महिलाभन्दा खासै फरक छैन उनको जीवनशैली । घरधन्दासँगै आयआर्जनको काम पनि गर्छिन् । भन्नेहरू उनलाई ‘नेताकी आमा हौ अब काम नगर’ पनि भन्छन् । ‘तर मन कहाँ मान्थ्यो र मलाई काम नगरी बस्दा पट्यार लाग्छ अरू दिन बारीको काम भए पनि हटियाको दिन आलुचप÷प्याजी बेच्न आउँछु’, मोदीले भनिन्, ‘आलुचप बेचेरै हो सकी नसकी त्यो कान्छो छोरो र छोरीलाई पढाएको ।’
अहिले उनका तिनै कान्छो छोरो अमनलाल मोदी (वर्ष ३६) गिरिजाप्रसाद कोइरालाको छत्रछायाबाट ‘राजनीतिमा बे्रक्र’ पाएका पूर्वअर्थमन्त्री महेश आचार्यलाई मोरङ क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट टक्कर दिँदै छन् । बूढीगंगा गाउँपालिका-७ तिलाठी चौकको हाटमा भेट्दा बालोदेवी परम्परागत ‘अचरा खड्गी’ लगाएरै आलुचप बनाउँदै थिइन् । १५ वर्ष भयो यो कर्म थालेको । हातगोडा लागुन्जेल काम नछाड्ने योजना बुनेकी छन् ।
‘हाम्रो टोलवरिपरि पहाडी समुदायको बसोवास थियो । उनीहरूका छोराछोरी सधैं विद्यालय गएको देख्थें, मलाई पनि छोराछोरी पढाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो तर पैसा हुँदैनथ्यो’, विगत सम्झँदै मोदीले भनिन्, ‘ श्रीमान् बितेकाले मलाई छोराछोरी हुर्काउन निकै कठिन भयो, कान्छो अमनलाई त आलुचप बेचेर पढाएँ, माहिली छोरी शान्तिलाई वकिल बनाएँ ।’
एमाओवादीका निवर्तमान सांसद अमनलाल मोदीकी आमा बालोदेवीलाई गाउँमा ‘नेताकी माई छिय अब यी काम छोड्दिय (नेताकी आमा हौ अब यो काम छादिदेऊ)’ भन्दै छिमेकीले दबाब दिन खोज्छन् तर उनलाई आफ्नो कामप्रति ‘कुनै पश्चात्ताप र हीनताबोध छैन बरु गर्व छ ।’
मोदीले प्याजी र आलुचप बिक्री गरेको १५ वर्ष भइसकेको छ । एक पटकमा ७ सय रुपैयाँ कमाइ गर्छिन् ।
पति पवनलाल हटिया घुमेर चामल बिक्री गर्थे । तर, ०४३ सालमा उनको मृत्यु भएपछि व्यवहार धान्न निकै गाह्रो भयो । बनिबुतो र आलुचप बिक्री गरेर छोराछोरीलाई पढाइन् । दुःखमा हुर्किएका अमनलालले डंग्राहाको नारायणी माविमा कक्षा ८ सम्म र त्यसपछि सुनसरी दुहबीको सरस्वती माविबाट विद्यालयस्तरीय पढाइ पूरा गरे । विराटनगरमा महेन्द्र मोरङ क्याम्पस पढ्थे । त्यहीबेला उनी माओवादीमा संगठित भएर भूमिगत भए । अमन पक्राउ परेर अढाई वर्ष जेल बसे । अमन पक्राउ पर्दा बालोदेवीले तीन दिनसम्म अन्न खाइनन् ।
अब एकपटक ‘बाँसको टाटीले बेरेको घरमा जन्मिएर राजनीतिमा होमिएको छोरो मन्त्री बनेको हेर्ने रहर छ’, मोदी भन्छिन्, ‘मलाई यो छोरोले यस्तो सानो काम नगर भनेर कहिल्यै निरुत्साहित गरेको छैन बरु कामलाई माया गर्न हौस्याएको छ ।’अहिले छोरी पूर्णकला र सीता सामाजिक कार्यकर्ता छन् । मान्ति टेलर्स व्यवसायी र विष्णु जागिरे छन् ।
अमनलाल मोदी दोस्रो संविधानसभा सदस्य निर्वाचन ०७० मा माओवादी केन्द्रबाट सांसद बनेका थिए । संसद्को सुशासन समितिका सदस्य पनि भए । उनले पार्टीको भूमिगत आन्दोलन, जेलजीवन र थारू राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सदस्य भएर काम गरे ।
नेताका रूपमा उनको परिचय जे भए पनि गाउँमा भने उनी ‘बालोदेवीके छोट्का बेटा अर्थात् बालोदेवीको कान्छो छोरा’ भनेर आमाकै परिचयबाट चिनिएका छन् । उनी भन्छन्, ‘मलाई अहिले पनि बालोदेवीके बेटा भनेर बोलाइन्छ । मलाई आमाले दुःख गरेर पढाएको र राजनीतिमा मैले भोगेको हन्डर सारा गाउँलेले बिर्सिएका छैनन् । मलाई स्नातकसम्म पढ्न सक्नु आमाकै मिहिनेत हो, नत्र त्यतिबेला थारूको बच्चाले कहाँ बिए पढ्थे ? ’
०५६ मा मोदीको हजुरआमाले गाउँकै एकजनाबाट १५ हजार रुपैयाँ सापटी लिएकी थिइन् । त्यो बापत जग्गा बन्धकी राखिएको थियो । हजुरआमा बितिन् । पछि आमा बालोदेवीले जग्गा उकास्न खोजिन् तर महाजनले पैसा फिर्ता गर्दा पनि जग्गा दिएनन् ।
क्रान्तिकारी स्वभावका र लक्का जवान मोदीलाई ‘गरिबका लागि आन्दोलन गर्ने सनक चढ्यो’ अनि होमिए माओवादी पार्टीतिर । राजनीतिक जिम्मेवारीमै रहेका मोदी पक्राउ परे । अनि ०६२ मा माओवादी शान्ति प्रक्रियामा आउने क्रम सुरु भएपछि छुटे ।
मोदी सम्झन्छन्, ‘मेरो राजनीतिको युटर्न त्यही १५ हजार रुपैयाँ र बन्धकी राखिएको जग्गा थियो ।’ बालोदेवी सपनामा पनि छोरोले जितेर अबिर जात्रा गरेको देख्छिन् । भन्छिन्, ‘आफ्नै समुदायका मानिसले भोट दिए भने त जित्छ पनि होला ।’
मोदी आफ्नो निर्वाचन क्षेत्र थारू बहुल क्षेत्र भएकाले आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् । ‘मैले बाम गठबन्धनको विराटनगर महानगरका वडामा वाम गठबन्धनलाई जोगाउँदै त्यहाँबाट ४ हजार मत ल्याए भने जित्छु,’ मोदीले भने, ‘यो प्रतिस्पर्धा दुई वर्गबीचको पनि हो भन्ने मेरो बुझाइ छ।’
मोरङ-४ मा दुई गाउँपालिका ग्रमथान, कटहरी, बेलबारी नगरपालिकाका वडा नम्बर ५, ६ र ७, विराटनगर महानगरपालिकाका १, २, ३, ८, १० र १९ वडा समेटिएको छ ।स्थानीय तह चुनावमा कांग्रेसले १७ हजार ७ सय ११, एमालेले १६ हजार ६ सय ४४ र एमाओवादीले ५ हजार ४ सय ६१ मत प्राप्त गरेका थिए ।
कुमार लुइँटेल/मोरङ/अन्नपूर्ण