साहुनीको पसलमा माइलाको व्यापार

चियापसल अर्थात् मजदुरको तिर्खाएको आँतदेखि सत्तामा नभएको पार्टीका नेताजीका मनसम्म शान्त पार्ने चौतारी। जहाँ यसै पनि भिन्न सोच, विचार र उमेर समूहका मान्छे हुन्छन्। त्यो चिया दोकानमा उम्लिरहेको दूध र बैँसले भरिएको साहुनीको जवानीमा ती सबैले आँखा पुर्‍याउँछन्। तर, साुहनी र ग्राहकलाई जोड्ने मुख्य पात्रलाई कसैले ख्यालै गर्दैन। यही अस्तित्वविहीन एउटा मान्छेको कथा हो, ‘माइला डटकम’। 
जेठो बुवापट्टि र कान्छो आमापट्टि भनिन्छ। त्यसैले नेपाली समाजमा माइला हेलाको पात्र हो भन्दा फरक नपर्ला। तर, नाटक ‘माइला डटकम’मा माइलामात्रै एउटा सम्पूर्ण अस्तित्व हो। यही माइलामार्फत उही प्रक्रिया, उही अनुहार र उस्तै परिस्थिति दोहोरिने चियापसलको भौतिक पक्षलाई छायामा पारेर मानवीय पक्षलाई उजागर गर्ने कोसिस गरेका छन्, निर्देशक दयाहाङ राईले।
शान्त स्वभावकी साहुनी (सिर्जना सुब्बा) र सानोतिनो कुरामा पनि उत्साहित हुने असामान्य मान्छे माइला (राजन खतिवडा)। असहाय उसलाई साहुनीले नै सहारा दिएको देखिन्छ। उसको गाँसको ठेगान चाहिँ छ। बैँस ढल्नै लागेकी साहुनी सिंगारपटारमा खुब ध्यान दिन्छे। बैँसमा टेक्दै गरेको माइला चाहिँ साहुनीमा। यी विम्ब पटकपटक दोहोरिन्छन्। साहुनीलाई हेरेर थाल चाट्दा, ऐनामा हेर्दा देखिने उसको ‘एक्सप्रेसन’को विम्बमा यो प्रस्टिन्छ।
असहाय माइलाको कामले साहुनीमा दयाभाव जाग्छ। उसलाई नजिकको व्यवहार गर्दै जान्छे। माइला साहुनीप्रति प्रेम हुर्काउँदै जान्छ। सडकपेटीमा सुत्ने उसलाई चियापसलमै सुत्न दिन्छे, चप्पल चुँडिदा जुत्ता ल्याइदिन्छे। खाना खाँदा सँगै राख्छे। यी र यस्ता कुराले माइला पुलपुलिँदै जान्छ। साहुनीका मायाले फुरुक्कै परेको ऊ एक दिन सटर बन्द गर्दैगर्दा साुहनीलाई चुम्न पुग्छ। कथा सकिन्छ तर दर्शकमा कौतूहल सकिँदैन।
चिया छैन, गिलास हुँदैनन्, बेकरी परिकार देखिँदैनन्। तर, कलाकारको अभिनयले ती वस्तु उपस्थित भएका आभास दिन्छ। सिर्जना सुब्बाले आफ्नो भूमिकालाई न्याय गरेकी छिन्। आफूभन्दा आधा कम उमेरको माइलाका चरित्रमा राजन खतिवडा सुहाएका छन्। यसका लागि उनले गरेको मेहनत प्रस्टै देखिन्छ नाटकमा। वास्तवमा त्यो साहुनीको पसल (माइला डटकम) मा व्यापार चाहिँ माइला अर्थात् राजन खतिवडाको भएको छ। किनभने उनलाई त्यो भूमिकामा हेर्नेहरूको मुखबाट आफैँ फुत्किन्छ, ‘वाह, यस्तो पो कलाकार!’।
सशरीर उपस्थिति नभएका ग्राहकसँग्ाको उनीहरूले गर्ने एकहोरो संवाद पनि रुचाइएको छ। ‘न चिनी भएको’, ‘अलिअलि’ जस्ता शब्दको अर्थ अभिनयमै भेटिन्छ। फिल्म ‘लुट’मा गोफ्लेका रूपमा चम्किएपछि त्यतै व्यस्त दयाहाङको नाटकमा तारिफयोग्य ‘रिइन्ट्री’ देखिएको छ।

Leave a Reply

Your email address will not be published.