शिक्षामन्त्रीलाई मुक्त कमलरीको ज्ञापन, एक कमलरीको उद्धार

kamalari-1

काठमाडौं– शिक्षामन्त्री चित्रलेखा यादवले मुक्त कमलरीको मागलाई तत्काल सम्बोधन गर्ने बताएकी छन्। सिंहदरबारस्थित कार्यालयमा सोमबार मुक्त कमलरीहरूको ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले शिक्षा मन्त्रालयअन्तर्गतका माग तत्काल पूरा गर्ने प्रतिबद्धता जनाइन्।  ‘मेरो मन्त्रालयअन्तर्गत शिक्षा निर्देशिका संशोधन गरी छात्रवृत्ति वृद्धि गर्ने र मुक्त कमलरीलाई परिचयपत्र वितरण गर्ने काम चाँडै पूरा गर्ने प्रतिबद्धता जनाउँछु,’ उनले भनिन्।
मुक्त कमलरीको माग पूरा गर्ने राज्यको दायित्व रहेको भन्दै उनले अन्य मागका बारेमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने बताइन्। कमलरी राख्नु गैरकानुनी रहेकाले बाँकी कमलरीको तत्काल उद्धार हुनुपर्ने उनको भनाइ थियो।

दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट आएका मुक्त कमलरीले आइतबार पत्रकार सम्मेलन गरी सरकारसँग जेठ २४ गते भएको दसबुँदे सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी दिएका थिए। त्यतिबेला सरकारले कमलरी शिक्षा निर्देशिका संशोधन गर्ने, कमलरीको उद्धार गर्नेलगायतका मागमा सहमति जनाएको थियो।

एक कमलरीको उद्धार
kamalari-2

मुक्त कमलरीको टोलीले राजधानीको ढुंगेअड्डास्थित हीराकाजीको घरमा रहेकी १४ वर्षीया गीता चौधरीलाई उद्धार गरेको छ।

बाँकेको चिटिहिरियाकी गीता सात वर्षदेखि हीराकाजीको घरमा बस्दै आएकी थिइन्। उनी नेपालगन्ज हुँदै ‘मालिक’सँगै काठमाडौं आएकी हुन्। kamalari-3

हीराकाजीले छोरीजस्तै राखेको दाबी गरे पनि गीतालाई स्कुलमा भर्ना गरेका थिएनन्। उनले सरकारले कमलरीमुक्त घोषण गरेको आफूलाई जानकारी नभएको समेत बताए।

गीताले अब घरमै गएर पढ्ने बताकी छन्। ‘कमलरी बस्ने बाध्यता थियो र बसियो,’ उनले भनिन्, ‘अब सरकारले नै पढ्ने व्यवस्था गर्छ भने म गाउँ गएर स्कुल भर्ना हुन्छु।’

Leave a Reply

Your email address will not be published.