भानुराम थारु, उमेरले ६२ तर जोश युवाकै

इन्द्रेणी थारु।काठमाडौं।
उनी कहिले जन्मिए, उनका बाबु आइतवारीलाल थारु र आमा कालीदेवी थारुलाई उनको जन्ममिति थाहा भएन । त्यसैले उनले आफ्नो अनुमानित जन्ममिति राखे २०१२ साल असार २ गते । ६२ उमेर पुगेर पनि जनताका हक, अधिकार र मागमुद्दाका बारेमा निरन्तर संघर्षरत रहेका उनी हुन् कैलालीको कैलारी गाउपालिकामा जन्मेका भानुराम थारु ।

त्यसबेला गाउघरमा विद्यालय हुँदैनथ्यो, भए पनि कहीँकतै मात्रै । आफूहरुले कहिल्यै स्कुल नदेखेपनि शिक्षाको महत्व बुझेका उनका आमाबाबुले उनलाई धनगढीमा रहेको भाषा पाठशालामा पढ्न पठाए । उक्त भाषा पाठशाला जहानिया राणा शासनकालमै स्थापना भएको थियो । तत्पश्चात उनी धनगढीमा अवस्थित एक पुरानो विद्यालय त्रिनगर माविमा शिक्षा हासिल गरे र त्यहीँबाट एसएलसी उत्तीर्ण गरे । त्यसपछि भने उच्च शिक्षाका लागि उनी छिमेकी राष्ट्र भारत पढ्नका लागि गए ।

औपचारिक शिक्षा हासिल गरेपछि वि.स. २०२९ सालमा उनी हुलाक कार्यालयमा जागिरे भए । लोकसेवाको परीक्षा पास गर्दै उनी खरिदार र मुखिया भए । जागिर जीवनमा उनले जिल्ला हुलाक, अञ्चल हुलाकमा सेवा गरे । साथै इलाका हुलाक इन्चार्ज पनि भए ।

उनी राजनीतिमा सक्रिय भएर छिरेको भने २०५४ सालमा हो । उनी त्यसबेला नेकपा एमालेको संगठित सदस्य थिए । २०५४ सालमा गाविसको चुनावका बेला पार्टीले उनलाई टिकट दिने कुरा थियो । त्यसका लागि उनले सरकारी जागिर छाडे । तर अन्तत पार्टीले उनलाई टिकट दिएन, उनी स्वतन्त्र उम्मेदवार बने । राजनीतिक जीवनमा प्रवेश गरेपछि गांउँघरका विभिन्न संघसंस्थामा रही उनले आफ्नो समुदायका लागि काम गरे । २०५४ सालदेखि लगातार १२ वर्षसम्म आफ्नो गांउको विद्यालय श्री जनसेवा प्राविको व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरे । २०५७ देखि २०६४ सम्म गाउको वनदेवी सामुदायिक वनको अध्यक्ष रहे । २०६४ मा सामुदायिक वन सुदूरपश्चिमको संस्थापक अध्यक्ष पनि भए । त्यसबेला नेकपा माओवादीले सञ्चालन गरेको शसस्त्र द्धन्द्धले देशभरिनै प्रभाव पारिरहेको थियो । २०५९ सालमा माओवादीले उनलाई भौतिक कारबाही गर्यो । उनी शसस्त्र द्धन्द्धका पीडित पनि हुन् ।

थारु समुदायको हकहितका लागि काम गर्ने ध्येयले उनी थारु कल्याणकारिणी सभाको क्षेत्रीय सदस्य भए २०५५ सालमा । त्यतिमै उनको यात्रा रोकिएन । २०६२ देखि २०६६ सम्म उनी थाकस कैलालीको जिल्ला सभापतिको जिम्मेवारीमा रहे । थाकसको केन्द्रीय सदस्य हुँदै अहिले उनी उक्त संस्थाको केन्द्रीय सल्लाहाकार छन् । नेपाल आदिबासी जनजाति महासंघ कैलालीको जिल्ला उपाध्यक्ष पनि रहे उनी । कुनै बेला क्षेत्रीय जिम्मेवारी सम्हाल्दै जिल्लासम्म पुगेका र संघर्ष गर्दै केन्द्रीय स्तरसम्म पुगेका नेतृत्व हुन् भानुराम थारु । सामाजिक राजनीतिक जीवनका विभिन्न उतारचढावसहित उनी थरुहट आन्दोलनका एक अग्रणी नेता बने । २०६५ सालमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र थरुहट स्वायत्त परिषदका केन्द्रीय सदस्य भए उनी । थरुहट स्वायत्तः परिषदका लागि नेता लक्ष्मण थारुसँग सहकार्य गरेका उनी थरुहट स्वायत्तः परिषदका संस्थापक उपाध्यक्ष पनि हुन् । लक्ष्मण थारुले उक्त परिषद त्याग गरेपछि २०६९ कात्तिक १२ मा परिषदका अध्यक्ष भानुराम थारु भए ।

नेपालको राजनैतिक उतारचढावका कारण थरुहट तराई पार्टी नेपालका अध्यक्ष रहेका भानुराम थारुले विजय गच्छदारको मधेसी जनअधिकार फोरम नेपालसँग पार्टी एकीकरण गरे । तर ६ महिना नपुग्दै विजय गच्छदारले नेपाली कांग्रेससँग पार्टी एकता गरेपछि असन्तुष्ट पक्षहरु भने नेपाल लोकतान्त्रिक फोरममै रहे । उक्त पार्टीको संयोजकको जिम्मेवारी अहिले भानुरामलेनै सम्हालिरहेका छन् ।

थरुहट आन्दोलनमा भानुरामको भूमिका निकै महत्वपूर्ण रह्यो । उनी थाकसको कैलाली सभापति रहँदा थाकसकै ब्यानरमा कैलालीमा थारु आन्दोलन उठेको थियो । जसको नेतृत्व भानुरामले गरेका थिए । २०६४ सालको थरुहट आन्दोलनको सुरुवात हुँदा उनी उक्त आन्दोलनको इन्चार्ज भए । आन्दोलनपश्चात सरकारले आह्वान गरेको वार्तामा कैलालीको नेतृत्व गर्दै उनी वार्तामा समेत सहभागी भएका थिए । २०६९ को थरुहट आन्दोलनमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो । प्रचण्डको नेतृत्वको ३० दलीय मोर्चामा उनी सहभागी रहे र तराईका विभिन्न स्थानहरुमा गई सभाहरु सम्बोधन गरेका थिए । त्यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनमा उनी सहभागी थिए । गठबन्धनले सञ्चालन गरेको ३९ दिने रिले अनसन सफल पार्नमा उनी कटिबद्ध रहे ।

राजनीतिक जीवनभर देश र जनताका लागि दरो आवाज उठाउने नेता हुन् भनुराम थारु । अझ थरुहट प्रदेशका लागि एउटा शसक्त आवाजनै बने उनी । थारुका मागमुद्दा र पहिचानका लागि कहिल्यै झुक्न नजानेका उनले दोस्रो संविधान सभाको चुनावमा भने हारको सामना गर्नुपर्यो । २०७४ मंसिरमा हुन गइरहेको चुनावमा उनले कैलालीको क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । उनले नेपाल लोकतान्त्रिक फोरमकै नमस्ते छाप लिएर चुनावी मैदानमा उत्रिएका छन् । उनले राजनीतिक खेलाडी भनिएका नेपाली कांग्रेसका रामजनम चौधरी र बाम गठबन्धन एवं माओवादी नेता तथा पूर्वमन्त्री गौरीशंकर चौधरीको सामना गर्दैछन् । कैलालीका थारुका दुई अब्बल नेता भनिएका रामजनम र गौरीशंकरलाई कतिको टक्कर दिन्छन् भन्ने सबालमा उनी भन्छन्, ‘यस पटकको माहोल राम्रो छ । त्यस क्षेत्रका जनताले पहिचानको मुद्दालाई जोगाइराख्नका लागि भए पनि मलाई भोट दिन्छन् ।’ पहिचानसहितको संघीयता र थारुहरुका अधिकारकै कुरा उनका प्रमुख अजेण्डा छन् । उनले निर्दोष थारुहरुलाई जेलमुक्त बनाइ न्याय दिलाउने कुरा पनि उनका अजेण्डा भित्र पर्छन् ।

आउँदो चुनावका लागि व्यापक खटाई छ उनको । उमेरले ६२ पुगेका भानुराममा कुनै पनि मानेमा एक वयस्क युवकको भन्दा कम इस्टामिना छैन । जीवनभर जनताका सेवा गरेका भानुराममा पुनः एकपटक चुनाव जितेरै पनि सेवा गर्न मन छ । त्यसका लागि उनी कटिबद्ध भएर लागिपरेका छन् ।

Leave a Reply

Your email address will not be published.