कैलाली ५ मा शेरबहादुर पत्‍नी आरजु भर्सेस नारदमुनि राना थारु

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव लडेको प्रदेश नम्बर ७ को महत्वपूर्ण मानिएको निर्वाचन क्षेत्र कैलाली ५ मा यस पटकको चुनावमा कस्ले बाजी मार्ला भनेर यहाँ चिया पसलदेखि सर्वत्र चर्चा, परिचर्चा सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा यस क्षेत्रबाट चुनाव लड्ने भएपछि थप चर्चा पाएको छ।

नेपाली कांग्रेस संसदीय समितिले सोमबार कैलाली ५ बाट आरजु देउवालाई उम्मेदवार बनाउने निर्णय गरेपछि मंगलबार बिहानै उनी धनगढी आइपुगेकी छन । गेटा बिमानस्थलमा उनको स्वागत गर्न कांग्रेसका कार्यकर्ताको उल्लेख्य सहभागिता थियो । मंगलबारदेखि नै उनले कार्यकर्ता र शुभेच्छुकसँग भेटघाट तीव्र पारेकी छन् । ‘म पहिलादेखि यो क्षेत्रमा भिजेको हुनाले यहाँ चुनाव लड्ने निर्णय गरेकी हुँ’ आरजु देउवाले भनिन् । यसअघि उनी नेपाली कांग्रेसवाट समानुपातिक कोटामा सासंद बनेकी थिइन्।

राणासँग वाम गठबन्धनवाट एमालेले पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नारदमुनि राना थारु प्रतिस्पर्धामा छन् । राना २०५४ सालमा धनगढी नगरपालिकामा उपमेयरमा चुनाव जितेका थिए । २०६४ सालमा समानुपातिक कोटावाट सासंद बनेका थिए । उनी खेलकुद गतिबिधिमा पनि संलग्न र सयौं परिवारलाई शुद्ध खानेपानी उपलब्ध गराउने शिवनगर खानेपानी आयोजनका पूर्वअध्यक्ष हुन् ।

नेपाली कांग्रेसले पाएको भन्दा वाम गठबन्धनले पाएको मत बढी छ । धनगढी उपमहानगरपालिकामा कैलारी गाउँपालिकाका २ वडा थप गरेर क्षेत्र नम्बर ५ बनाएको छ । कैलाली क्षेत्र नम्बर ५ का करिव ३० हजार राना थारु समुदायका मतदाता छन । यो क्षेत्रमा ९२ हजार मतदाता रहेका छन ।

रानाथारु समुदायका मत रानाले प्रभावित गर्न सके नतिजा उनको पोल्टामा जान सक्ने स्थानीय सञ्जय चौधरी बताउँछन् । अत्यन्त गरिबी र पछौटेपनका कारण मुक्त कमैया शिविरमा रहेका थारु, राना, सकुमबासीलगायतमा आर्थिक प्रभावले पनि काम गर्ने भएकाले राना थारुका मत पाउन रानालाई सहज हुन नसक्ने विश्लेषण पनि उनको छ । कांग्रेसको प्रभाव क्षेत्र, आरजुको व्यक्तित्वलगायतका कारण आरजुले चुनाव जित्ने कांग्रेस समर्थकको आंकलन छ । नतिजाको जसको पोल्टामा गए पनि कडा प्रतिस्पर्धा हुने कुरा सबैले स्वीकाछन् ।

नागरिक दैनिकबाट

 

Leave a Reply

Your email address will not be published.