मंसिर दोस्रो साता एकैपटक निर्वाचन गराउन तीन दल सहमत

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको प्रमुख तीन दलको बैठकले आगामी मंसिरभित्रै प्रदेश र केन्द्रीय ससंसदको निर्वाचन एकै मितिमा गर्नेमा निष्कर्ष निकालेको छ । निर्वाचन आयोगले एकैपटक निर्वाचन गर्न कानुनी र प्राविधिक जटिलता देखाइरहेका बेला प्रधानमन्त्री देउवाले बालुवाटारमा बोलाएको बैठकमा कांग्रेस, एमाले र माओवादी केन्द्र एकैपटक प्रदेश र केन्द्रीय संसदको निर्वाचन गर्न तयार भएका हुन् ।

तीन दल यसमा सहमत भएपछि प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा समेत यो विषयले प्रवेश पाएको एक नेताले कान्तिपुरलाई बताए । तीन दलको बैठकमा आवश्यक कानुनी र प्रावधिक जटिलता फुकाउनेबारे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरी व्यवस्थापन गर्न प्रधानमन्त्री देउवालाई जिम्मेवारी दिइएको छ ।

तीन दलको बैठक अघि प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका थिए । निर्वाचन आयोगका पदाधिकारीहरुले भने एकैमितिमा निर्वाचन गराउन प्राविधिक र कानुनी जटिलता देखाएका थिए । उनीहरुले मंसिरभित्रै दुवै चरणको निर्वाचनका लागि भदौ १ गते भित्रै मिति तोक्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए ।

यसैबीच सर्वदलीय बैठकमा संविधान संशोधन, चुनाव, बाढी, पहिरो र अन्य समसामयिक विषयमा भइरहेको छ । बैठक हुँदै गर्दा बाहिरिएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका अनुसार बैठकमा दुइवटै चुनाव मंसिरमा गर्नेबारे भोलि निर्वाचन आयोगसँग छलफल गर्ने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published.