बाढीले डुब्यो रौतहट, गर्भवती महिलासहित एकै परिवारका छ जनाको मृत्यु

चार दिनदेखिको अविरल वर्षाले रौतहट जिल्लाका तीनवटै नगरपालिकासहित ११ गाउँपालिका प्रभावित भएको छ । बाढीका कारण गौर, गरुडा र चन्द्रपुर नगरपालिकासहित सबै गाउँपालिका डुबानमा परेको रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिनुभयो । लालबकैया, बागमती, झाँझ, चाँदी, भकुवा, अरुवालगायतका स्थानीय खोलामा बाढी आउँदा जिल्लाको दुई हजारभन्दा बढी कच्ची घर, गोठ भत्किएर हजारौँ मानिस प्रभावित भएको प्रहरीले जनाएको छ ।

यसैगरी, लालबकैया खोलाको बहाव उच्च विन्दुमा पुगेपछि राजपुरस्थित गण्डक नहरलाई भत्काएको र करुनिया र देवाहीलगायतका स्थानमा तटबन्द भत्किएपछि आसपासका क्षेत्र जलमग्न भएको छ । बाढी प्रभावित स्थानीय बासिन्दाले सार्वजनिक विद्यालयमा आश्रय लिइरहेका छन् । बाढीले जिल्लास्थित विभिन्न स्थानका सडकखण्ड कटान गर्दा र कल्भर्ट भत्काउँदा सवारीसाधन अवरुद्ध हुन पुगेको ट्राफिक कार्यालय चन्दपुरका प्रहरी निरीक्षक राममणि उप्रेतीले जानकारी दिए ।

हिमालयबाँसदेखि कलैया हुँदै वीरगञ्जसम्मको करिब ४५ किमी सडकखण्डमा शनिबारदेखि यातायात अवरुद्ध छ । चार फिटभन्दा बढी पानी जम्दा लगाइएको धानबाली तथा तरकारीबाली डुबेकाले किसान चिन्तित रहेको बहुदीमाई गाउँपालिकका मुक्तिनारायण मिश्रले बताए ।

यसैगरी, सयभन्दा बढी व्यावसायिक माछापोखरीमा पानी पस्दा व्यवसायी प्रभावित भएको सोही गाउँपालिकाका माछा व्यवसायी नितेशनन्दन मिश्रले जानकारी गराए । आज दिउँसोदेखि मौसम सफा हुने क्रममा १२ बजेपछि वर्षा रोकिएर घाम लागेको र जमिनमा पानीको सतह घट्न थालेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी बाढी प्रभावितलाई उद्धार गरिरहेका छन् ।

त्यसैगरी, स्थानीय राजनीतिक पार्टीका प्रतिनिधि तथा समाजसेवी उद्धारमा जुट्नाका साथ राहत सहयोग प्रदान गरिरहेको नेपाली काँग्रेसका जिल्ला अध्यक्ष कृष्ण यादवले जानकारी दिए ।

एकै परिवारको ६ जनाको ज्यान गयो

यसैगरी, रौतहटको परोहा गाउँपालिकाको राजपुर फरहदवामा बाढीले बाटो कटान गरेको स्थानमा आज बिहान सुत्केरी महिला बोकेको जिप दुर्घटना हँुदा एकै परिवारको ६ जनाको मृत्यु भएको छ । प्रसूति गराउन रौतहटको राजपुर फरहदवा स्वास्थ्य संस्थामा लौजाने क्रममा परोहा गाउँपालिका–३ लौकाहा निकासी चन्दन यादवको घरपरिवारका ६ जना सदस्यको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आकस्मिक अवस्थामा रहेका यादवको २८ वर्षीया श्रीमती शर्मिला यादवलाई अस्पतालमा सुरक्षित प्रसूति गराउन उनको आमा सुमित्रा देवी, ५ वर्षीया छोरी छोटुकुमारी, भतिजा सरोज यादव र भाउजू ललिता देवीसहित चढेको भारतीय जिप नै कटान भएको बाटोमा दुर्घटना भएको स्थानीय शेष वकिलले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published.