सिकलसेल प्रभावित डेलिगेशन टोली काठमाडौंमा

Sickle Cell

लक्की चौधरी, काठमाडौं- थारु बहुल क्षेत्रमा महामारीकोरुपमा देखिएको सिकलसेल एनिमियाको रोकथाम तथा विरामीको निःशुल्क उपचारको व्यवस्थाको मागगर्दै कैलालीबाट थारुहरुको एक डेलिगेशन टोली काठमाडौं आएको छ। थारु कल्याणकारिणी सभा कैलालीका उपाध्यक्ष लाहुराम चौधरीको संयोजकत्वमा आएको टोलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थमन्त्री तथा स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने बताएको छ। सिकलसेलको समस्याले तराईका सैयौं थारुहरुको ज्यान गइसके पनि सरकारले उपचारको व्यवस्था नगरेको बताउँदै थारु अगुवाहरुले सरकारको ध्यानाकर्षण गराउन काठमाडौं आएको बताएका छन्।

जिल्लाबाट पटक–पटक प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउँदासमेत सुनुवाई नभएको भन्दै डेलिगेशन टोलीले काठमाडौंमा आएर ध्यानाकर्षण गराउनलागेको बताएका छन्। काठमाडौंमा रहँदा डेलिगेशन टोलीले प्रमुख राजनीतिक दलका नेताहरुलाई समेत ज्ञापनपत्र बुझाउने बताएको छ।

चिकित्सकहरुको अध्ययनअनुसार अहिलेसम्म पश्चिम नेपालका थारु समुदायमा मात्रै सो रोगको संक्रमण देखिएको छ। तराई क्षेत्रमा मलेरिया महामारीकोरुपमा रहँदा सो क्षेत्रमा आदिबासी थारुमात्रै बसोबास गरेकाकारण थारुमा सो रोगको संक्रमण देखिएको चिकित्सकको अध्ययनले पुष्टि गरेको छ।

सिकलसेल एनिमियाको रोगको पहिचान, रोगीको परीक्षण तथा नियन्त्रणकालागि सरकारले उचित कदम चाल्नुपर्ने भनाई थारु समुदायको छ। सिकलसेल एनिमियाका बारेमा डेलिगेशन टोलीले शुक्रबार काठमाडौंमा पत्रकारसम्मेलन गरी जानकारी गराएको छ। थारु बहुल जिल्लामा सिकलसेलबाट थारुहरु अधिकांश प्रभावित भए पनि त्यसको परीक्षण गर्ने मेशिनसमेत व्यवस्था नहुँदा रोग परीक्षणमा कठिनाई भएको चिकित्सकहरुको भनाइ छ। थारु बहुल हरेक जिल्ला वा अञ्चल अस्पतालमा रोग परीक्षण गर्ने मेशिनको व्यवस्था गर्नुपर्ने डेलिगेशन टोलीको माग छ।

पत्रकार सम्मेलनमा थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष मानबहादुर चौधरीले रोगको सही पहिचान र नियन्त्रणका लागि सरकारले विज्ञ टोली गठन गरी अध्यययनको व्यवस्था गरिनुपर्ने बताए। रोगबाट प्रभावितहरुको निःशुल्क उपचारको व्यवस्था सरकारले गर्नुपर्ने उनले माग गरे।

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता तथा सभासद् गोपाल दहितले थारुलाई मात्र लाग्ने रोग सिकलसेलको रोकथामकालागि सरकारले समयमा पहल नगरे थारुको वंश नास हुने आशंका व्यक्त गरे। सिकलसेल एनिमिया लाखौं थारुमा संक्रमित भइसक्दासमेत सरकार गम्भीर नहुनु दुःखद् भएको उनले बताए। रोगको रोकथाम तथा उचित उपचारको व्यवस्थाकालागि सरकारको ध्यानाकर्षण गराउँदासमेत सरकारले वेवास्ता गरेको उनले आरोप लगाए।

उपत्यकामा रहेका थारु संघ संस्थाहरुले संयुक्तरुपमा शुक्रबार विज्ञप्ती प्रकाशन गरी सिकलसेल रोकथामका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। रोगको पहिचान, उपचार र निदानका लागि सरकारले यसै आर्थिकवर्षदेखि उचित बजेटको व्यवस्था गर्नुपर्ने माग विज्ञप्तीमा गरिएको छ। पश्चिम नेपालको नवलपरासी, कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत र दाङ् जिल्लामा यो रोगको संक्रमण देखिएको छ।

प्रेस विज्ञप्ती हेर्नुस्:

press release_skless

Leave a Reply

Your email address will not be published.