सिकलसेलका बिरामीसँग अस्पतालको लापरबाही, दुई महिनादेखि परीक्षण ठप्प

डायलासिस मेसिन आएको महिनौसम्म जडान नगरी थन्काएर राखेको भन्दै आलोचना खेपेको सेती अञ्चल अस्पतालमा दुई महिनादेखि सिकलसेल परीक्षण ठप्प भएको छ। सिकलसेल परीक्षणका लागि चाहिने केमिकल नभएपछि अस्पतालमा सिकलसेल परीक्षण गर्न आउने थारु समुदायका व्यक्तिहरु रित्तो फर्कन बाध्य छन्।

दुई महिनादेखि केमिकल सकिएपछि करोडौ खर्च गरेर जडान गरिएको सिकलसेल परीक्षण मेसिन त्यतिकै थन्किएको छ। यसअघि केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले केमिकल पठाउने गरेकोमा दुई महिनादेखि सकिएको केमिकल फेरि मगाउन अस्पतालका कर्मचारीहरुले कसैले पनि पहल गरेका छैनन्।

आइतबार सिकलसेल परीक्षण नभएकोसम्बन्धी थारु नागरीक समाजको अगुवाईमा बसेको बैठकमा अस्पतालका कर्मचारीहरुले एक अर्कालाई दोषारोपण गरेर पन्छिने प्रयास गरे। केमिकल सकिएको दुई महिना भइसक्दा समेत अस्पतालले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई कुनै खबर नगर्दा बिरामीको सिकलसेल परीक्षण ठप्प हुँदा समस्या भएको थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले जानकारी दिए।

लामो समयदेखि केमिकल अभाव भए पनि त्यसलाई मगाउन अस्प्तालले पहल गरेको छैन। अस्पतालको सिकलसेल वार्डले प्रयोगशाला साखा र प्रयोगशाला शाखाले स्टोर र प्रशासनमाथि दोष थोपरिरहेका छन्। तर अस्पतालका कर्मचारीहरुले एकले अर्काेको जिम्मेवारी भन्दै पन्छिन खोजेपछि त्यसको मारमा भने बिरामीहरु परिरहेका छन्।

केमिकल मगाउने जिम्मा प्रयोगसालाको भए पनि आफूले पटकपटक स्टोर र प्रशासनमा केमिकल मगाउन खबर गरेको सिकलसेल वार्डकी प्रमुख यशोदा ढकालले दाबी गरे। तर निमित्त मेडिकल सुपरिटेन्डेन्ट शेरबहादुर कमरले प्रशासनलाई सिकलसेल परीक्षणको केमिकल माग गरेको कुनै खबर नआएको बताए। अस्पतालको स्टोर शाखाले समेत कसैले पनि केमिकल माग नगरेको जनाएको छ।

आइतबार थारु नागरिक समाजको अगुवाइमा धनगढीकी उपप्रमुख सुशीला मिश्रसहित सरोकारवालाको बैठक अस्पतालमा बसेको थियो। बैठकमा सहभागी उपप्रमुख मिश्रले पनि कर्मचारीको लापरबाहीका कारण चेकजाँच ठप्प भएको बताउँदै कार्यशैली सुधारका लागि निर्देशन दिइन्।

आइतबारको छलफलपछि एक हप्ताभित्रै परीक्षणका लागि चाहिने केमिकल मगाउने निर्णय भएको छ। अस्पतालका कर्मचारीले नै जिम्मेवारी बोध नगर्दा समस्या आएको र त्यसको समाधान छिट्टै हुने निमित्त मेसु शेरबहादुर कमरले बताए।

दिनेश एफबाट साभार

Leave a Reply

Your email address will not be published.