स्थानीयको पहलमा सन्जीतको उपचार हुँदै, मनकारीहरुबाट सहयोगको आश्वासन

कारी महतो/चितवन
आन्दोलनका घाइते सन्जीत महतोको स्वास्थ्य अवस्थाबारे बुझ्नका लागि विभिन्न व्यक्तित्वहरु भरतपुरको एलाइभ अस्पताल र ट्रमा सेन्टर पुगेर गहिरो चासो र चिन्ता व्यक्त गरेका छन्।

थाकस नवलपरासीका सभापति गणेश महतो, थाकस चितवनका सभापति विश्राम महतो, थाकस चितवनका पूर्व सभापति टीकेन्द्र चौधरी, थाकस युएईका सहकोषाध्यक्ष धर्मराज महतो, थाविसका पूर्व केन्द्रीय उपाध्यक्ष ललितकुमार चौधरी, थाविस चितवन पूर्व कोषाध्यक्ष बबिता चौधरी, थाविस चितवनका पूर्व सदस्य पिताम्बर चौधरीलगायत नवलपरासीका समाजसेवी मुक्ति थनेत, वसन्त महतो लगायत व्यक्तित्वहरु सन्जीतलाई सहयोग गर्ने बताएका छन्।

थाकस चितवनका सभापतिले तत्काल प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई फोन सम्पर्क गरी सन्जीतको स्वास्थ्य अवस्थाबारे जानकारी गराई राहतका लागि सहयोग गर्न अनुरोध गरेका छन्। प्रजिअ भट्टले सन्जीतका लागि सक्दो सहयोग गर्ने बताउँदै थरुहट आन्दोलनका घाइते भएको कागजपत्रहरु जिल्ला प्रशासन कार्यालयमा पेस गर्न सल्लाह दिएका छन्।

आर्थिक सहयोग संकलनका लागि नवलपरासीमा अभियान चलाउने बताएका छन्। थाकस युएईका उपाध्यक्ष धर्मराज महतोले व्यक्तिगत रु २००० सहयोग गर्दै दुबईमा पनि आर्थिक सहयोग अभियान चलाउने बताएका छन्।

सन्जीतलाई गोली लागेको घाउ तिघ्रामा भए पनि अहिले घुँडाभन्दा मुनि खुट्टामा दुई ठाउँमा प्वाल पारी त्यस प्वालबाट रड छिराई डोरीले खुट्टा तन्काउने उपाय गरिएको छ। डाक्टरका अनुसार गोली लागेको ठाउँको हड्डीहरु टुक्रा टुक्रा भएकाले स्टिल रड राखेर प्लाष्टर गरिएको थियो, त्यो रड अझै भित्रै रहेकाले घाउ निको नभएको हो। हाल डा. प्रमोद लामिछानेले सन्जीतको उपचारमा सहयोग गरिरहेका छन्। काठमाडौंको बी एण्ड बी अस्पतालमा २०६५ सालमा पनि सन्जीतको उपचारमा डा. प्रमोद लामिछाने सहयोग गरेका थिए। तर आर्थिक अभावको कारणले काठमाडौंसम्म आउजाउ गर्न नसकेपछि सन्जीतको उपाचार परिवारले गर्न सकेका थिएन।

Leave a Reply

Your email address will not be published.