प्रदेश नम्बर-२ को निर्वाचन कार्यतालिका सार्वजनिक, २१ गते उम्मेदवारी दर्ता

निर्वाचन आयोगले तेस्रो चरणको प्रदेश नम्बर–२ अन्तर्गतका ८ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

आयोगको बुधबारको बैठकले ती ८ जिल्लाका १२७ स्थानीय तहमा असोज २ गते बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान गर्ने निर्वाचन कार्यक्रम स्वीकृत गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

मन्त्रिपरिषद्को असार १ गतेको बैठकले प्रदेश नम्बर–२ को स्थानीय तहको निर्वाचन असोज २ गते गर्ने निर्णय गरेको थियो । प्रदेश नम्बर–२ अन्तर्गत् गाउँपालिका/नगरपालिकाको संख्या १२७ रहेको छ ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आगामी भदौ २१ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको प्रवक्ता शर्माले बताए । निर्वाचन कार्यक्रमअनुसार भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

आयोगले निर्वाचन सन्चालन गर्ने सम्बन्धमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्तिलगायत आवश्यक तयारीका कार्य भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.